अझै पाएनन् विद्यार्थीले किताब
सुर्खेत: भर्नासँगै विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पु¥याउने सरकारको नारा औपचारिकतामै सीमित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता भइसक्दा पनि विद्यार्थीले पुस्तक पाएका छैनन् । कर्णाली प्रदेशका अधिकांश सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक नपुगेको हो । सरकारले जेठ १ देखि शैक्षिक सत्र सुरु गरेपनि सरकारी विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भएका छैनन् । जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा पठनपाठन नै प्रभावित भएको सरोकारवालाले बताएका छन् ।
किताब नहुँदा कक्षा सञ्चालनमा समस्या भइरहेको शिक्षकहरू बताउँछन् । अहिले किताब विना नै पाठ्यक्रमका आधारमा पढाउन बाध्य भएको उनीहरूको गुनासो छ । दैलेखको दुल्लू नगरपालिका–१० स्थित पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज खड्काले समयमा पाठ्यपुस्तक आइनपुग्दा शिक्षकलाई र विद्यार्थी दुवै मर्कामा परेको बताए । उनी भन्छन्, ‘हामीलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न निकै कठिनाइ भइरहेको छ । किताब नै नभएपछि सिकाइ उपलब्धी पनि राम्रो हुने कुरै भएन ।’ विद्यार्थी भर्ना भएर कक्षा सञ्चालन सुरु गरेको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको ठेगान नहुँदा शैक्षिक गतिविधि प्रभावित बनेको खड्का बताउँछन् ।
सबैजसो सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु गरेपनि पाठ्यपुस्तक नहुँदा यतिबेला पठनपाठनमा असहज भएको छ । दुर्गम क्षेत्रका मात्र नभइ प्रदेश राजधानी वीरेन्द्रनगरकै विद्यार्थीले पनि किताब पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाले पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयको खातामा रकम पठाएको छ । विद्यालयहरूले बजारमा किताब नपाउँदा खरिद गर्न नसकिएको जनाएका छन् । पुस्तक व्यवसायीहरूका अनुसार सुर्खेतमा नै पर्याप्त पाठ्यपुस्तक आएको छैन । ‘विद्यालयहरूको मागका आधारमा हामीले किताब मगाइरहेका छौँ,’ वीरेन्द्रनरस्थित अल्फा पुस्तक पसलका सञ्चालक दिलबहादुर थापा भन्छन्, ‘छपाइमा ढिलाइ हुँदा माग गरेबमोजिम किताब आउन सकेको छैन ।’ जनक शिक्षा सामग्रीको लापरबाहीले विद्यार्थीले पुस्तक पाउन नसकेको थापाले बताए । पुस्तक व्यवसायी संघ सुर्खेतका अध्यक्षसमेत रहेका उनले यो वर्ष देशैभर पाठ्युस्तक अभाव भइरहेको जनाए । हरेक वर्ष कुनै न कुनै बहाना बनाएर पुस्तक छपाइमा हेलचक्य्राइँ हुने गरेको उनको भनाइ छ ।
कर्णालीका सबै सामुदायिक विद्यालयले किताब अभाव झेलिरहेका छन् । विद्यालयहरूले किताब ढुवानीका लागि पुस्तक व्यवसायीहरूलाई जिम्मा दिएका छन् । तर, कहिले किताब आउने भन्ने टुँगो छैन । कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको हातमा पुस्तक नपरेको शिक्षकहरूले बताएका छन् । उनीहरूका अनुसार चार, सात र नौ कक्षाको पाठ्यक्रमसमेत नयाँ भएका कारण यसपटक कुनै विषयका पुस्तक बिनै अध्ययन गर्नुपर्ने बाध्यता देखिएको छ । यो वर्ष पाठ्यपुस्तकको छपाइ र ढुवानीमा लापरबाही गरिँदा बालबालिकाको पढाइमा ठूलो असरपर्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । पाठ्यपुस्तक उपलब्ध नभएपछि अहिले पाठ्यक्रमका आधारमा शिक्षकले बोर्डमा लेखेअनुसार विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।
यसै शैक्षिक सत्रसम्म माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरिसक्ने सरकारको योजना छ । सोहीअनुरूप यो वर्षदेखि कक्षा चार, सात र नौमा नयाँ पाठ्यक्रम लागू भएको छ । नयाँ पाठ्यक्रम लागू हुने भएपछि सोही आधारमा पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । तर, यसतर्फ जनक शिक्षा सामाग्री संवेदनशील नबन्दा अझै ३५ लाख पाठ्यपुस्तक छपाइ हुन नसकेको जनाइएको छ । जनक शिक्षा सामग्रीका अनुसार कक्षा चार देखि १० सम्म एक करोड ९८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ । पछिल्लो विवरणअनुसार एक करोड ६३ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ । कक्षा चार देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएको छ । अहिले केही विद्यालयमा कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक पनि अभाव देखिएको छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गर्न आनाकानी गर्दै आएको बुझिएको छ ।
हिमाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तकको झनै अभाव छ । डोल्पाको से–फोक्सुण्डो गाउँपालिकामा १२ वटा सामुुदायिक विद्यालय छन् । तीमध्ये कुनैमा पनि नयाँ शैक्षिक सत्रका किताब पुगेका छैनन् । पाठ्यपुस्तक विना विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानु गुरुङ्गले बताए । उनका अनुसार उक्त पालिकाबाट सदरमुकाम पुग्नै झन्डै पाँच दिन लाग्छ । भौगोलिक विकटताका कारण यसैपनि त्यहाँ पाठ्यपुस्तक पुग्न समय लाग्ने गरेको छ । भौतिक पूर्वाधार र शिक्षकको अभावसँगै त्यस क्षेत्रका विद्यालयले बर्सेनि पाठ्यपुस्तकको समस्या झेल्दै आएका छन् । ‘यस ठाउँमा समयमै कहिल्यै पाठ्यपुस्तक आउँदैन,’ उनले भने, ‘हरेक शैक्षिक सत्रमा पठनपाठनमा यस्तो समस्या दोहोरिरहन्छ ।’ सामुदायिक मात्र नभइ निजी विद्यालयहरूमा पनि सबै विषयका पाठ्यपुस्तक उपलब्ध हुन सकेका छैनन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) सुर्खेतका बरिष्ठ उपाध्यक्ष कुसुम भट्टराईले कतिपय विषयका पाठ्यपुस्तक विद्यार्थीले पाउन नसकेको बताइन् । उनका अनुसार जनक शिक्षाबाट प्रकाशन हुने केही विषयका किताब आइनपुगेका हुन् ।
प्रकाशित मितिः १४ जेष्ठ २०७९, शनिबार ०५:०५
रजनी याेगी ।