सुशासन कायम नभएको विपक्षी दलको आरोप
सुर्खेत: कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन मंगलवारबाट सुरु भएको छ । बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले चालु आर्थिक वर्षको बजेटको सदूपयोग गर्न नसकेको आरोप लगाएको छ । नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् । चालु आर्थिक वर्षको बजेट सदूपयोग नभएको भन्दै उनले सरकारको नेतृत्व गर्नेहरूले एकपटक महालेखा परीक्षक र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पढ्नु पर्ने बताए । ‘हामी कहाँ छौँ, सरकार सञ्चालन गरिहेका साथीहरूलाई एकचोटि यी दुईवटा प्रतिवेदन पढ्न अनुरोध गर्छु,’ नेता कँडेलले भने । महालेखा परीक्षक र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले कर्णालीको हरिविजोगको चित्रण गरेको उनले जनाए । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीकै चरणमा रहेका बेला केही मन्त्रीहरूले अहिले नै यति र उत्ति बजेट पारिदिन्छौँ भन्दै आश्वास बाँडिरहेको उनको आरोप छ । त्यसरी निर्माण गरिने बजेट जनमैत्री हुन नसक्नेतर्फ उनले सरकारलाई सचेत गराए । ‘विकास गर्नेभन्दा पनि यहाँ विकास खाने कुरामा बढी ध्यान दिएको देखिन्छ’, उनले भने, ‘कर्णालीको विकासका निम्ति यो नै चुनौतीको विषय बनेको छ ।’ आगामी बजेट, नीति तथा कार्यक्रम बनाउँदा विगतका कमजोरी सुधार गरेर सरकार अघि बढे आफूहरूको पनि साथ र समर्थन रहने विपक्षी दलका नेता कँडेले बताए ।
संसद् वैठकमा दलको तर्फबाट धारणा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य सोशीला शाहीले सरकार मनपरी चल्न नहुने बताइन् । ‘सरकारलाई गुण र दोषका आधारमा समर्थन गरिने छ,’ उनले भनिन्, ‘केही सांसद्हरूलाई जानकारी नै नदिइ योजना छनोट गरिए हाम्रो पार्टीको समर्थन रहने छैन ।’ प्रदेश सरकारले आगामी बजेटमार्फत कर्णाली राजमार्गको सुधारमा पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । बजेट अधिवेशनको पहिलो दिन दलको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ र माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णा शाहले पनि धारणा राखेका थिए ।
प्रकाशित मितिः ११ जेष्ठ २०७९, बुधबार ०५:०१
साझा बिसौनी ।