पालिका प्रमुखले लिए सपथ

सुर्खेत: सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरूलाई आइतवार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले सपथ ग्रहण गराएका हुन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले सपथ लिएका छन् । त्यस्तै, चिङ्गाड गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी, सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐनबहादुर चन्द, बराहताल गाउँपालिकाको अध्यक्षमा भीम भण्डारी र चौकुने गाउँपालिकाको अध्यक्षमा खड्क विकले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सपथ लिनुपर्ने व्यवस्था छ । पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत र उपप्रमुख तथा वडाका जनप्रतिनिधिलाई सम्बन्धीत पालिका प्रमुखले सपथ गराउने प्रावधान छ । सपथ लिँदै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरूप काम गर्ने बाचा गरेका छन् । सपथ ग्रहण कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र सरोकालावाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सुर्खेतका नौ स्थानीय तहमध्ये नेकपा (एमाले) र नेपाली कांग्रेसले चार÷चार तथा नेकपा (माओवादी केन्द्र) ले एउटा पालिका जितेको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७९, सोमबार २०:०१