मान्छे हराएको सूचना

एकजना व्यक्तिको मदिरा सेवन गरेर मदिरा सेवन नगरेको व्यक्तिसँग झगडा भयो । उसले कहिल्यै प्रयोग नगरेका छाडा शब्दहरूको प्रयोग गरेर गालि, गलौज र हातपात ग¥यो । मान्छेहरू जम्मा भए र भोलि मदिराले छोडिसकेपछि कुरा गर्ने निर्णयमा सबै आ–आफ्नो घर गए । रात अबेर भइसकेको थियो । सबै सुते । बिहानै सबै मान्छे मदिरा सेवन गरेर झगडा गर्ने मान्छेको आगनमा उपस्थित भएका थिए । मदिरा सेवन गरेको व्यक्ति अलिकति आश्चर्यमिश्रित भावमा आगनको डिलमा आएर बस्यो ।

राम्ररी बस्न नपाउँदै पीडित व्यक्ति राति भएको सम्पूर्ण वृतान्त सुनाउन सुरु गर्छ । अन्तिममा भिड साझा निष्कर्षमा पुग्छ । राति मदिरा सेवन गरेर गालि गलौज गरेको व्यक्तिले माफी माग्नु पर्ने । आगनको डिलबाट उठेर उसले यसरी माफी माग्छ । ‘मलाई माफ गरिदिनुस् । हिजो रातिको मान्छे म होइन । मभित्रको सैतान हो । तपाईंलाई के गालि गरे मलाई नै थाहा छैन । मैले तपाईंलाई गालि गरे गरे जस्तो लागिरहेको छ । तर, मलाई केही पनि थाहा छैन । कृपया मलाई पागल सम्झेर माफ गरिदिनुस् ।’

मदिराले लठ्ठ पारेको बेहोसी त थाहा पाउन सकिन्छ । तर, आखै अगाडीबाट गएको मान्छे थाहा नपाउनु यो कस्तो बेहोसी ? सरले भर्खर पढाएको कुरा सोध्दा आउँदैन, यो कस्तो बेहोसी ? दिनानुदिन अनावश्यक चिजमा हाम्रो कुलत बस्दै गएको छ, यो थाहा नहुनु कस्तो बेहोसी ? के हामीलाई मदिरा सेवन नगरेर पनि मदिरा लागिरहेको छ ? के हामी होसमा छौं ?

आफ्नो जीन्दगीमा जे गरिहेका छौं । जागेर गरिरहेका छौं ?

आफू हुनु र नहुनु बिचको अन्तर कसरी थाहा पाउने ? मेरो शरिर जहाँ छ । जुन ठाउँमा म जान्छु, उभिन्छु, श्वासप्रश्वास गर्छु । म त्यहीँ छु, हुन्छु ? यदि म त्यहाँ हुदिँन भने कहाँ जान्छु ? कुन ठाउँ हुन्छु ? मैले खोज्नुपर्छ ।

यो दुनियाँमा यस्ता धेरै मान्छे छन् । जो अचेत अवस्थामा बाचिरहेका छन् । जो छन त यहीँ छन् । आखै अगाडी देखिन्छन् । तर, यहाँ छैनन्, हँुदैनन् । उनीहरूको शरिर कुनै बस्तु जसरी यहाँ छ । मुर्ती जस्तै देख्न सकिन्छ । बोल्छ, श्वासप्रश्वास गरिरहेको छ । ऊ शरिर यहीँ छोडेर कतै कल्पना, परिकल्पनामा अजिब, अच्चमित दृश्यसँग एकाकर भएको छ । ऊ एक प्रकारले काल्पनिक रोमाञ्चमा छ । जुन यहाँ छैन । फगत कल्पनामा मात्र छ । सिर्फ उसको कल्पनामा ।

विज्ञान विषयका पिता भनेर चिनिने वैज्ञानिक अल्बर्ट आइन्स्टाईनले भनेका छन् ‘ज्ञानभन्दा कल्पना कयौं गुणा शक्तिशाली हुन्छ ।’ ज्ञान सिमित हुन्छ, कल्पनामा संसारलाई बाध्न सकिन्छ रे, त्यहीँ भएर वैज्ञानिक अल्बर्ट आइन्स्टाईनले यस्तो भनेको हुनुपर्छ ।

यो भनाइ मानव जीवनको महŒवपूर्ण भनाइ हो । हरेक व्यक्ति भोलि राम्रो हुने आशामा आजलाई जीउँछन् । भोलि उठ्ने आशामा आज सुत्छन् । भोलि पूरा हुने आशामा कल्पना गर्छन् कुनै काल्पनिक संसार र त्यसको परिपूर्तिका लागि रातदिन नभनी लागि पर्छन् । प्रत्येक व्यक्तिको मन, मस्तिष्कमा एउटा काल्पनिक दुनियाँ हुनसक्छ । नत्र मान्छे किन दौडन्थ्यो यति ठूलो भिडमा ? जहाँ दैनिक दौडिरहन्छन् । विभिन्न सुख, दुःखलाई अङ्गाल्दै अगाडी बढीरहन्छन् । कसैलाई कसैको मतलब छैन । वर्षौंदेखि एकटक हेरिरहेको छु । मान्छे दौडिरहेका छन् । मात्र काल्पनिक दृश्यतर्फ भागिरहेका छन् ।

वैज्ञानिक अल्बर्ट आइन्स्टाईनको भनाइ अझ सजिलो हुने गरि बुझ्न लेखक यो उदाहरण प्रस्तुत गर्दछ । जतिबेला अर्का महानतम वैज्ञानिक थोमस एल्वा एडिसन हावा विना बत्ति बाल्न कोसिस गर्दै थिए । त्यतिबेला उनका सहकर्मी वैज्ञानिकले उनलाई पागल भनेछन् । अरु मान्छेले पागल भन्नु नयाँ कुरा भएन । आजका दिनमा हामी जुन बल्बको सहायताबाट उल्यालो संसार हेरिरहेका छौ“ । तिनै महान वैज्ञानिकको देन रहेछ ।

उनलाई पागल भनेको समयमा यो बल्बको चित्र कसैको कल्पनामा कसैको सपनामा थियो भने एकजना थोमस एल्वा एडिसनको संसारमा थियो । उनैलाई आज हामी प्रेरणाको स्रोतको रूपमा लिन्छौ“ । हजारौं प्रयासपछि सफल भएको बल्ब बल्ने प्रयासलाई निरन्तर अभ्यासको पाठ भनेर ग्रहण गर्छाै । कल्पनाको सकरात्मक पक्ष यो हो ।

कल्पनाको दोस्रो आवरण । कुनै चिया पसल, रेष्टुरेन्ट, ट्रेकिङ, पार्किङ, जगिङ कुनै पनि ठाउ जाऊ । मान्छेलाई आफ्ना मान्छेसँग संवाद गरेको विरलै भेट्न सकिन्छ । कुरा गरेपनि एकदम कम हुन्छ । आफ्नो वरिपरिको वातावरण हेर्नमा कुनै चासो छैन । रेष्टुरेन्टको नास्ता, चिया पसलको चियाको चुस्कीभन्दा धेरै उसको ध्यान कुनै अन्य ठाउँमा बढी हुन्छ ।

मोबाइल फोनलाई दोष दिन सकिन्छ । दोष दिएर के गर्नू ? सुधार्नु आफूलाई छ । आफ्ना बानीलाई छ । दोषारोपण समस्याको समाधान होइन । गल्तिलाई स्वीकारेर गल्ति नदोराउनु समस्याको समाधान हुनसक्छ । मोबाइल फोन हाम्रो जीवनयापनलाई सहज बनाउनको लागि हो । यसको सदुपयोग हुनुपर्ने हो ।

मोबाइल फोनको प्रयोग धेरै हुनुको अर्काे कारण मोबाइल फोनभित्र भएका विभिन्न एप्लिकेशनहरूले रिलिज गर्ने डोपामिन हर्माेन हो । जसको सम्बन्ध तत्काल केही क्षणका लागि दिने आनन्दसँग जोडिएको छ ।

पछिल्लो समयका विभिन्न अध्ययन अनुसन्धान, तथ्यतथ्याङ्कले यसको व्यापक दुरूपयोग भएको देखाएका छन् । दुरूपयोगका कारण मानसिक रोग, आत्महत्या, डर, चिन्ता, तनाव बढेको छ । जसका कारण मान्छेहरू आफूलाई भुलाउनको लागि मोबाइल फोनको प्रयोग झन अत्यधिक मात्रामा गरिरहेका छन् ।

उनीहरू एक्लै केही नगरि शान्त बस्न सक्दैनन् । केही नगरी शान्त बस्न खोजे भने उनीहरूभित्र बेचैनी उत्पन्न हुन्छ । जुन मानसिक रोगको लक्षण हो । मानसिक रोगलाई बढाईचढाई ठूलो रोगका रूपमा परिचित गराउन जरुरी छैन । यो एक अन्य रोग जस्तै रोग हो । यसका विभिन्न स्टेजहरू हुन्छन् । यसले ठूलो रूपमा लिनुभन्दा अगाडी नै कुनै समस्या भए साइक्याट्रिस्ट कहाँ परामर्श लिन जानु ठीक हुन्छ ।

मोबाइल फोनलाई कोकिनसँग तुलना गरिन्छ । यदि तपाईले मोबाइलको वर्षाैंदेखि धेरै प्रयोग गर्दै आउनु भएको छ । र, कुनै समस्या छ भने मानसिक रोगसम्बन्धीको डाक्टर सँग भेटघाटका लागि पुग्नुस् । प्रिय मान्छे, जीवन अमूल्य छ । यसलाई चाहे जसरी बाच्नु छ । अस्तव्यस्त र अचेत भएर किन बाच्नु ? पूर्ण चेतका साथ व्यवस्थित र व्यापक भएर बाचौं ।

कुनै विद्यालयको एउटा कक्षा कोठाभित्र विद्यार्थीहरूलाई शिक्षकले पढाइरहनु भएको छ । पढाउँदा–पढाउँदै बिचैमा कुनै राम नाम गरेको विद्यार्थीलाई उठाएर मैले भर्खर के पढाए भन भनेर सोध्नुहुन्छ । ऊ टाउको कन्याउनै अन्कनाउँछ । उसकै अगाडिको बेञ्चमा बसेकी सितालाई सोध्नुहुन्छ । सिता नरोकिएर सरले पढाउन सुरु गरेदेखि पढाउन नरोकुञ्जेल सम्मको सबै भन्न भ्याउछिन् ।

राम र सिता दुवै कक्षाका औसत विद्यार्थीभित्र पदछन् । रामले हल्ला गरकै कारण सर बिचमा रोकिएर रामलाई भन्नको लागि उठाउनु भएको हो । यो घटनामा रामको ध्यान हल्ला तिर थियो भने सिताको ध्यान पढाई रहेको विषयवस्तु तिर थियो । यसको मतलब कोही ट्यालेन्ट र कमजोर भन्ने नहुने रहेछन् । जसले जे मा ध्यान दिईरहेको छ । उसलाई त्यही आउदो रहेछ । अब आत्ममूल्याङ्कन गरौं । हाम्रो ध्यान कुन विषयमा छ ?

जहाँ ध्यान हुन्छ । मान्छे त्यहीँ हुन्छ । जहाँ शरिर हुन्छ । त्यहाँ सिर्फ वस्तुगत शरिर मात्र हुन्छ ।

-आदर्शविक्रम सिंह

प्रकाशित मितिः   ७ जेष्ठ २०७९, शनिबार ०९:४२