कालिकोट विमानस्थल निर्माण अन्तिम चरणमा

३१ वर्ष बित्दासम्म पनि निर्माण कार्य पूरा हुन नसकेको कालिकोट विमानस्थल आगामी माघदेखि सञ्चालनमा आउने भएको छ ।

विसं २०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल १२ वर्षे शसस्त्र द्वन्द तथा राजनैतिक दलका स्थानीय नेतावीचको खिचातानीका कारण ३१ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको स्थानीय बताउँछन् ।

कालिकोट जिल्लाको कोटबरा गाविसको सुनथराली गाउँमा बन्दै गरेको यो विमानस्थलमा माघ महिनामा टेस्ट ल्यान्डिङ गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । त्यसलगत्तै यसमा उडान पनि थालिने छ ।

अहिले कालिकोट विमानस्थलमा धमाधम काम भइरहेको छ । झञ्डै ८० प्रतिशत निर्माण सकिएको कालिकोट बिमानस्थल आयोजनाका अधिकारीहरु बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक सञ्जय गौतमका अनुसार अहिले यो आयोजनाका अधिकांश कामहरु सकिन लागेका छन् ।

गौतमले भने ‘२८ वर्ष सम्म पनि निर्माण नसकिने नेपालको एयरपोर्ट कुन हो भनेर यसपालि लोकसेवाले नै प्रश्न सोध्यो । तर, अब यस्तो प्रश्न आउँदैन किनकी यसको निर्माण सम्पन्न हुने तयारीमा छ ।’ नागरिक उड्डयन प्राधिकरणले यसको निर्माणको जिम्मा लिएको भने अहिले २८ वर्ष पुगेको छ ।

तत्कालीन जिल्ला पञ्चायतले ०४२ सालमा यसको निर्माण गर्ने भनेर बजेट छुट्टाए पनि निर्माणकै काम भने प्राधिकरणले जिम्मा लिएपछि मात्रै सुरु भएको थियो ।

कालिकोट विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठका अनुसार ६ सय ९० मिटर लामो यो बिमानस्थलमा ४ सय मिटरभन्दा बढीको काम सम्पन्न भइसकेको छ ।

नयाँ समस्याहरु तत्काल सिर्जना नभए यसको काम माघ महिनामा पूर्णरुपमा सम्पन्न हुने उनको भनाइ छ ।

लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजना अहिले बल्ल निर्माण सम्पन्न गर्ने तयारीमा छ ।

सशस्त्र द्वन्द्वका समयमा ठेकेदारहरु यसको निर्माणको जिम्मा लिन डराएका थिए । कुनै पनि निर्माण कम्पनी इच्छुक नदेखिएपछि यसको निर्माण प्रक्रिया लामो समय अलपत्र भएर बस्यो ।

अनलाइनखबरबाट

प्रकाशित मितिः   १४ पुष २०७३, बिहीबार १२:०१