देउडा गीत र देउडा भाषिकाको इतिहास
नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो, देउडा । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिएको पाइन्छ । देउडा भाषीका खासगरी सुदूरपश्चिमाञ्चलका ग्रामीण जिल्लाहरू बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, र जाजरकोट जिल्लाहरूमा मुख्यरूपमा रुसपमा रहेको छ । देउडा गीत पश्चिमेली भाषामा गाइने गरिएको छ ।
देउडा गीतको सुरुवात खस भाषिकाको सभ्यतासँगै सुरु भएको अनुमान छ । कतिपय ठाउँमा पहिलेका दिन र अझै अहिलेका दिनहरूमा देउडा गीत गाउन देउडा भाषिका बोल्न लाज मान्ने चलन पनि प्रचलित रूपमा भेटिन्छ । त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल जवाफ चल्ने गर्छ । यति मात्र होइन देउडा गीतबाट नै कतिपयका घरवार बसेका अर्थात् देउडा गीत गाउन जाँदा गाउने र सवाल जवाफ गर्ने ठाउँमा केटा र केटीको एक आपसमा माया प्रेम चलेर विवाह भएको कुरा पनि बुढापाकाबाट सुन्नमा पनि आउँछन् ।
देउडा गीत एक प्रकारको भाषीका हो । यसलाई आफ्नो आफ्नो लयमा पनि ढालेर गाउन सकिन्छ । प्रायः देउडा गीतहरू खस भाषिकामा आधारित नै भएर गाइएका हुन्छन् । खास गरेर खस भाषीको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिए पनि अहिले मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा बसोबास गर्ने मानिसहरूले आफ्नो आफ्नो जिल्लाबाट उत्पत्ति भएको हो भनेर दाबी गरिरहेका छन् । पश्चिम नेपालका अधिकांश जिल्ला तथा ठाउँहरू बैतडी, डोटी, दैलेख, दुल्लू, जाजरकोट,सिजा, सिमिकोट लगायतका थुप्रै ठाउँहरूमा देउडा भाषिकाकोे प्रयोग भएको पाइन्छ । देउडा गीत पनि यिनै ठाउँ र जिल्लाहरूबाट प्रचलित भएको थियो । अहिले पनि मध्य तथा सुदूरपश्चिमाञ्चल अन्तर्गत पर्ने विभिन्न जिल्ला तथा गाउँठाउँहरूमा यो देउडा गीत अझै लोकप्रिय बन्दै गएको छ ।
देउडा गीत र देउडा भाषिकाको हिसाबले धेरै प्रकारको हुन्छ देउडा । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गायको पाइन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । देउडा गीतका ताल र प्रकार यस्ता रहेका छन् ।
ठाडी भाकाः
ठाडीभाका लामो स्वर गरेर दुई वा एक जनाले गाइन्छ तर प्रायः जसो एक व्यक्तिले गाउने गरिन्छ । यो ग्रामीण क्षेत्रका भीर, पाखा, गोठालो, घाँस दाउरा काट्न जाँदा सबै भन्दा बढी गाइने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ । यसमा गायकले शांत र एकान्त ठाउँमा बसेर आफ्ना मनका पिर, व्यथा, हाँसो, खुशीहरूलाई गीतमार्फत् गाउने गर्छन् । ठाडी दैलेख जिल्लाका दुल्लू क्षेत्रमो ठाडी भाका निकै प्रचलित छ त्यस ठाउँमा गाउने यो भाकालाई पनि दुलाल भाका पनि भन्ने गरिन्छ । यसमा गायक एकल युगल हुन्छन् कहिले कसो दुई जना मिलेर पनि गाएको भेटिन्छ ।
हुड्के नाचः
हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाउदै नाच्ने पनि गरिन्छ । हुड्क्यौली अथवा हुड्के नाचमा पुराना कथा काहानीहरू समावेश गरेर गाएको पाइन्छ । यो सामूहिकरूप सबै जना मिलेर गाउने नाच्ने गरिन्छ । यसमा गायकहरू दुई समूहमा बाँडिएका हुन्छन् । एक समूहमा नाच्ने हुन्छन् नाच्नेहरूलाई हुड्के भन्ने गरिन्छ । अर्को समूहमा सँगसँगै बजाउने र गाउनेहरू हुन्छन् । यो खासगरी बैतडी र दार्चुला कालिकोट जिल्लाका साथै दैलेखको पश्चिमक्षेत्र अछामको पश्चिम भू–भागमा विवाह गर्दा वा कुनै उत्सवहरूमा बढी गाउने र नाच्ने गरिएको पाइन्छ । यो नाच भारतको उत्तराखण्डका केही ठाउँहरूमा पनि प्रयोग भएको पाइन्छ ।
धमारी :
देउडा समूह अन्तर्गत पर्ने एक अर्को प्रकारको भाका हो । यसमा गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन् देउडा खेल खेल्दा जसरी खेलिन्छ र गाइन्छ त्यसरी नै यो खेलिन्छ । धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ । यसलाई मुख्य रूपले बैतडी दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग भएको पाइन्छ । खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्ने प्रचलन छ ।
देउडा खेलः
देउडाबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा पनि खेल खेल्ने मान्छेहरू गोलो घेरा बनाइ पैतलिका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । यसमा प्रायः एक समूह युवा र अर्को समूहमा युवती रहेका हुन्छन् । युवायुवाबीच र युवतीयुवतीबीच युवा र युवतीबीच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । गोलाकार शैलीमा समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल देउडा हो ।
बैतडी तथा सुदूरपश्चिममा चाड पर्वको बेला खेलिन्छ । बालकदेखि बृद्धबृद्धासम्म देउडा खेल्न व्यस्त देखिन्छन् । यो सुर्खेत जिल्लाको सरमुकाम वीरेन्द्रनरको खुलामञ्चमा प्रत्यक महिनाको १ गते र १५ गते खेलिन्छ । सुदूरपश्चिमको महान् पर्व गौरा पर्वमा देउडा खेल धेरै खेल्ने गरिन्छ ।
केही देउडा गीतहरूः
डोटी राम्रा डडेलधुरा अछाम राम्रा साँफे,
मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफे ।
दुल्लूदेइ दैलेखसम्म जाँथी हान्यो खम्म,
खाँक फाल तिर्सना झाल घाम लागन्तीसम्म ।
म पारी गै’जाने थिएँ नित्र गंगा नित्र,
मै जसो दुस्खारी कौ’नाइ चौध अञ्चलभित्र ।
भैसाथी जाँदैन भन्दो बामनको बर्म,
दुख्ख पाउनु प्रदेशै धाउनु के बिग्री होइ कम ।
जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो,
हाड मास माटीका भर हँस काँ जाँदो हो ।
यसरी मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्दैछ । पहिले बनपाखाहरूमा गुञ्जने ठाडी न्याउले भाकाहरू आजभोलि हराउँदै गएका छन् । आजभोलि पप, हिन्द लगायत अन्य थुप्रै गीत संगीतमा पछिल्लो पुस्ता रमाउँदै गएको छ ।
रातीको समयमा लाग्ने मेलामा खेलिने न्याउली खेलहरूको संख्या ह्वात्तै घटेको पाइन्छ । विभिन्न गीत संगीतका लागि क्लब, संघ–संस्था खुले ता पनि ठाडी भाका, न्याउले खेल लगायतका देउडा संस्कृतिलाई जगेर्ना गर्ने तथा यसलाई विकास गर्दै सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न तपाईं हामी सबै एक जुटका साथ लागेर आफ्नो संस्कृतिलाई बचाउन आवश्यक देखिन्छ ।
(कालिकास्थान, अछाम । हाल वीरेन्द्रनगर, सुर्खेत)
साझा बिसौनी ।