चन्दननाथमा बागीले मारे बाजी

जुम्ला : पाँच वर्षअघि पालिका प्रमुखमा महिला उम्मेदवार विजयी भएर चर्चा पाएको जुम्लाको चन्दननाथ नगरपालिकामा यसपटक भने बागी उम्मेदवारले बाजी मारेपछि चर्चाको विषय बनेको छ ।

बुधवार सम्पन्न मतगणनाको नतिजाअनुसार नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका छन् । उनले दुई हजार चार सय तीन मत पाए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत पाएका छन् ।
अनि ‘बागी’ बने राजु
नेपाली कांग्रेसका नेता राजुसिंह नगर प्रमुखका दावेदार थिए । तर मनोनयनको अन्तिम समयमा पार्टीले अर्का नेता पदमबहादुर शाहीलाई उम्मेदवार बनायो । त्यसो त राजुको टिकट अन्तिम समयमा आएर फुत्किएको यो पहिलो पटक थिएन । २०७४ को निर्वाचनमा समेत अन्तिम समयमा नै उनी टिकट पाउनबाट बञ्चित भएका थिए ।

लगातार दोस्रो पटक पार्टीले उम्मेदवार नबनाएपछि कठायतले ‘आफू नेताको बँधूवा मजदुर’ नभएको भन्दै विद्रोही उम्मेदवारीको घोषणा गरे । मनोनयन दर्ता गराए । लामो समयदेखि सक्रिय पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका कठायतले चुनाव जित्ने रणनीतिका साथ नेकपा (एकीकृत समाजवादी)सँग तालमेल समेत गरे । उनको रणनीति सफल पनि भयो । आफ्नो व्यक्तिगत प्रभाव र एकीकृत समाजवादीको सहयोगको बलमा उनी जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा विजयी हुन पुगे ।

चन्दननाथ नेपाली कांग्रेसको प्रभाव क्षेत्र हो । कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान नगर प्रमुख कान्तिका सेजुवाल, सविधानसभा सदस्य एवम् कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठसमेतको गृहपालिकामा कांग्रेसकै आधिकारिक उम्मेदवारलाई पराजित गरेर बागी उम्मेदवार कठायतले बाजी मारे ।

पालिकाको उपप्रमुखमा भने कांग्रेसकी रामदेवी खड्का विजयी भइन् । उनले २ हजार ८ सय ८ मत पाइन् । नगरपालिकाका १० वटा वडामध्ये पाँच वटामा कांग्रेस, तीन वटामा माओवादी र एउटामा एकीकृत समाजवादीले जित हात पारेका छन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार ११:२४