शिवविहार र वीरेन्द्रनगर विजयी

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ फागुन ।
वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय महाविद्यालय)ले वीरेन्द्रनगरमा जारी एन्फा जिल्ला लिगमा लगातार दोस्रो जीत हात पारेको छ । मंगलवार सम्पन्न आफ्नो दोस्रो खेलमा वीरेन्द्रनगरले न्यू स्टार स्पोर्टस् क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायमै राखेको हो ।
वीरेन्द्रनगरलाई विजयी बनाउने क्रममा पवन शाहीले ४६ र ७४ औं मिनेटमा गोल गरेका थिए भने रमेश श्रेष्ठले ६४ औं मिनेटमा गोल गरे । न्यू स्टारले भने कुनै गोल गर्न सकेन । यो जीतसँगै वीरेन्द्रनगरले लिगमा ६ अङ्क बटुल्न सफल भएको छ । उसले लिगको उद्घाटन खेलमा न्यू जेनेरेशन युवा क्लबलाई १०–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । 
यस्तै मंगलवार नै सम्पन्न अर्को खेलमा जीवनज्योति युवा क्लबलाई शिवविहार युवा क्लबले  २–१ ले पराजित गरेको छ । खेलको ३३ औं मिनेटमा प्रलाद नेपालीले गोल गर्दै जीवनज्योतिलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको शिवविहारले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जीत निकाल्यो । उसका लागि ६५ औं मिनेटमा नारायण थापा र ७४ औं मिनेटमा सुरज केसीले गोल गर्दै टिमलाई जीत दिलाए । 
प्रतियोगिता अन्तर्गत आज (बुधवार) हुने पहिलो खेलमा साथी खोर्के युवा (स्काइ क्लब) र आरसी–३२ तथा दोस्रो खेलमा न्यू जेनेरेशन युवा क्लब र कालिमाटी युवा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्काइ क्लबले आफ्नो पहिलो खेलमा सिद्धपाइलालाई पराजित गरी ३ अङ्क जोडिसकेको छ भने आरसी–३२ ले लिगमा आफ्नो पहिलो खेल खेल्दै छ । त्यस्तै न्यू जेनेरेशन र कालिमाटी दुवैले आफ्नो पहिलो खेल गुमाएकाले लिगमा अङ्कविहीन छन् । 
प्रकाशित मितिः   १९ फाल्गुन २०७२, बुधबार ०६:३८