सुर्खेतमा मतदाता नामावली संकलन हुँदै

सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलनको काम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले यही पुस १७ गतेदेखि माघ १७ गतेसम्म मतदाता नामावली संकलन गर्न लागेको हो ।

सुर्खेतको सबै गाविस तथा नगरपालिकामा पुस १७ गतेदेखि माघ १७ गतेसम्म नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निवार्चन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी सुनिता थापाले जानकारी दिइन् । नामावली संकलनपछि उक्त नामावली उपर १६ दिने दाबी विरोधको कार्यक्रम समेत सञ्चालन गरिने निर्वाचन अधिकारी थापाको भनाइ रहेको छ ।

थापाका अनुसार २०७३ असोज मसान्तसम्मको तथ्यांक अनुसार महिला ९२ हजार आठ सय ६६ जना, पुरुष ८६ हजार पाँच सय ४७ र तेस्रो लिङ्गी एक जना गरी जम्मा एक लाख ७९ हजार चार सय १४ जनाको फोटोसहितको मतदाता नामावली संकलन भइसकेको छ । कार्यालयका अनुसार जिल्लामा झण्डै ६४ हजार नागरिकहरूको मतदाता नामावली संकलन गर्न बाँकी छ । जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले भनिन्, ‘यो संख्यामध्ये सबैभन्दा धेरै मतदाता परिचयपत्र नबनाउने वीरेन्द्रनगरका नागरिक बढी रहेका छन् ।’

थापाका अनुसार १८ वर्ष पूरा भएकाहरूले फोटोसहितको मतदाता नामावली दर्ता गराउन सक्नेछन् । ग्रामीण क्षेत्रभन्दा सहज रूपमा सहरी क्षेत्रमा जानकारी हुने भए पनि वीरेन्द्रनगर नगरपालिकामा बस्नेहरूले नै मतदाता परिचयपत्र बनाउन छुटेको अधिकृत थापाको भनाइ छ । उनले यो पटकको अभियानले छुटेकालाई समेट्न प्रचार–प्रसारमा व्यापकता दिएको उल्लेख गरिन् ।

जिल्लास्थित राजनीतिक दलहरूले भने विकट गाविसहरूमा नामावली संकलन गर्दा धेरै जना सर्वसाधारणहरू छुट्ने भएकाले छुट्टा–छुट्टै ठाँउमा संकलन केन्द्र तोक्न कार्यालयलाई सुझाव दिएका थिए ।

प्रकाशित मितिः   १४ पुष २०७३, बिहीबार ११:४३