बालविवाह विरोधी नयाँ अभियान, कलिलैमा विवाह नगर्ने उद्घोष

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ फागुन ।
जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरूको संख्या बढ्दै गइरहेका बेला पश्चिम सुर्खेतका किशोर–किशोरीहरूले भने त्यसको विरोधमा नयाँ अभियानको सुरुवात गरेका छन् । गाउँमा उमेर नपुग्दै विवाह गर्नेक्रम बढेपछि स्थानीय किशोर तथा किशोरीहरू मिलेर त्यसलाई रोक्न नयाँ उपाय निकालेका हुन् । उनीहरूले बालविवाहलाई निरुत्साहित गर्नका लागि सामूहिक रूपमा नै आफूहरूले उमेर नपुग्दासम्म विवाह नै नगर्ने घोषणा गरेका छन् । 
 आधुनिक सञ्चारका साधनको पहुँच र अभिभावकहरूले समेत वास्ता नगर्दा जिल्लामा पछिल्लो समय बालविवाह गर्नेक्रम बढ्दै गएको छ । बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरूले समेत बालविवाहलाई ठूलो चुनौतीको रूपमा लिएका बेला गाउँका किशोर किशोरीहरूले भने त्यसविरुद्ध लड्ने कसम नै खाएका छन् । उनीहरूले उमेर नपुगेसम्म आफूहरूले विवाह नै नगर्ने र गाउँमा कसैले उमेर नपुग्दै विवाह गरेमा त्यसलाई रोक्ने सामूहिक कसम खाएका हुन् । कलिलैमा विवाह गर्दा मानसिक तथा शारीरिक समस्याहरू भोग्नुपर्ने र घरबार पनि दिगो नहुने समस्याहरू देखा परेपछि उनीहरूले बालविवाहविरुद्ध अभियान थालेका हुन् ।
केही वर्षअघि जिल्लामा गैरसरकारी संस्थाहरूको सक्रियतामा बालविवाह विरोधी अभियान सञ्चालन भएको थियो । तर, दाताहरूले बजेट दिन छोडेको भन्दै ती संस्थाहरू पछाडि हटेपछि अहिले सो अभियान हराएको छ । अभियान अलपत्र परेसँगै बालविवाह गर्नेक्रम बढेको छ । बालविवाह नरोकिएपछि किशोर तथा किशोरीहरू नै बालविवाह रोक्ने अभियानमा जुटेका हुन् । बालविवाह जटिल समस्या बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसअघि आफैले बालविवाह गरेका कारण हाल दुःख पाएका कतिपय किशोरीहरूसमेत अभियानमा सामेल भएका छन् । उनीहरूले अहिले यसको विरुद्धमा गाउँमा सामूहिक अभियान समेत सञ्चालन गरिरहेका छन् । जिल्लाको पश्चिममा रहेको बाबियाचौरमा स्थानीय किशोर तथा किशोरीहरूले अब आफूहरूले कम्तीमा २० वर्ष नपुग्दासम्म आफूहरूले विवाह नगर्ने कसम खाएका छन् । उनीहरूले सामूहिक रूपमा कसम खाँदै पढाइ पूरा गरेर आत्मनिर्भर भए पछि मात्र विवाह गर्ने उद्घोष गरे । बालविवाह गर्दा त्यो सम्बन्ध दिगो नहुने, पढाइ बीचमै छोड्नुपर्ने, बालिकाहरू उमेर नपुग्दै आमा बन्नुपर्ने र परिवारमा समेत कलह उत्पन्न हुने हुँदा आफूहरू यसको विपक्षमा उभिएको उनीहरू बताउँछन् । 
स्थानीय चेतना किशोरी संवाद केन्द्रमा आवद्ध किशोरी देवी रावल भन्छिन्, ‘गाउँमा उमेर नपुग्दै विवाह गर्नेहरू बढेका छन्, धेरै बालिकाहरू विद्यालय उमेरमा नै बुहारी बन्न बाध्य भए । यसले उनीहरूको पढाइ बीचमै रोकिएको छ, अर्कोतर्फ परिपक्व नभएर विवाह गर्दा धेरैको घरबार पनि टिकेको छैन ।’ बालविवाह कानुनी अपराध भएकाले पनि आफूहरू यसलाई रोक्न अग्रसर भएको उनको भनाइ छ । साथै उनले आफूहरूले उमेर पुगेपछि मात्र विवाह गर्ने र गाउँमा अरुलाई पनि यस बारेमा सचेत गराउने गरेको जानकारी दिइन् । अहिले त्यहाँका किशोरीहरू सामूहिक रूपमा नै बालविवाहको विरोधमा चेतना फैलाउने काममा व्यस्त छन् । जिल्लाको पश्चिम तातापानी निवासी किशोरी अन्जना सावद भन्छिन्, ‘मेरो गाउँमा मात्र एक वर्षको समयमा १० वटा बालविवाह भए, उनीहरूको पढाइ बीचमै रोकियो । यो सानो गाउँमा त त्यति धेरै बालविवाह भए, अब जिल्लाको अवस्था कस्तो होला ?’ प्रेम गरेर हतारमा बालविवाह गर्ने र फुर्सदमा पछुताउने गरेको भन्दै उनले बालविवाहलाई रोक्न सकेमा समाज विकासमा समेत मद्दत पुग्ने बताइन् । उनले 
थपिन्, ‘विवाहलाई आर्थिक सम्पन्नतासँग जोडिन्छ, परिवार सम्पन्न भएमा बालविवाह गर्न अभिभावकले नै बाध्य बनाउँछन् । परिवारको अवस्था कमजोर भएपछि मात्र बालविवाह भयो भनेर उजुरीको कुरा गर्छन् ।’ 
गाउँमा बालविवाहको संख्या बढ्दै गएको निश्कर्ष निकाल्दै किशोरहरूले पनि उमेर पुगेपछि मात्र विवाह गर्ने अठोट गरेका छन् । बाबियाचौरमा रहेको नवकिरण किशोर संवाद केन्द्रमा आवद्ध भएका किशोरहरूले सामूहिक रूपमा नै उमेर पुगेपछि मात्र विवाह गर्ने कसम 
खाए । अभियान सञ्चालन गर्दा केही समस्याहरू समेत आएको बताउँदै स्थानीय किशोर प्रेम सुनारले भने, ‘राम्रो कामका लागि हामी निराश भएका छैनौं, कुनै पनि हालतमा बालविवाह रोक्नै पर्छ । 
अब हामीलाई प्रहरी र अभिभावकले पनि साथ दिनुप¥यो, सामूहिक प्रयास भएमा अभियान सफल हुन्छ ।’ अहिले गाउँमा रहेका किशोरकिशोरीहरूले संवाद केन्द्र चलाएर बालबालिकालाई बालविवाह विरोधी अभियानको बारेमा जानकारी दिने गरेका छन् । बालविवाह न्यूनीकरण गर्न र यसलाई रोक्नका लागि विभिन्न चेतनामूलक अभियानहरू सञ्चालन भए पनि बालविवाहमा कमी आउन सकेको छैन । 
प्रकाशित मितिः   १९ फाल्गुन २०७२, बुधबार ०६:४४