एउटा नयाँ साहस
जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरूको संख्या बढ्दै गइरहेको छ । सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न पहल तथा प्रयासहरू जारी रहँदा समेत बालविवाहमा कुनै कमी आउन सकेको छैन । कतिपय अवस्थामा बालबालिकाहरूले भागेर उमेर नपुग्दै विवाह गरिरहेका छन् । तर, अर्को डर लाग्दो परिस्थति भनेको अभिभावकहरूले समेत जानीजानी बाल विवाह गराउने गरेका छन् । आर्थिक सम्पन्नता र सामाजिक प्रतिष्ठालाई जोडेर अपराध नै भए पनि बालविवाहलाई समाजमा नै लुकाउने संस्कार अहिले पनि विद्यमान छ । बालविवाहलाई न्यूनीकरण गर्नुपर्छ भन्ने अभियान चलेको भए पनि त्यो कम हुनुको साटो थप बढ्दै गएको पाइएको छ । यस्तो अवस्थामा सुर्खेतको ग्रामीण क्षेत्रका बालबालिका र किशोरकिशोरीहरूले भने नयाँ साहस र आँट गरेका छन् । उनीहरूले जिल्लालाई मात्र होइन, देशलाई नै नयाँ सन्देश दिने प्रयास गरेका छन् । पश्चिम सुर्खेतका बालबालिकाहरूले अहिले बालविवाहको विरोधमा नयाँ अभियानको सुरुवात गरेका छन् । गाउँमा उमेर नपुग्दै विवाह गर्नेक्रम बढेपछि स्थानीय बालबालिकाहरू मिलेर त्यसलाई रोक्न नयाँ उपाय निकालेका हुन् । उनीहरूले बालविवाहलाई निरुत्साहित गर्नका लागि सामूहिक रूपमा नै आफूहरूले अब उमेर नपुग्दासम्म विवाह नै नगर्ने सामूहिक घोषणा गरेका छन् । वास्तवमा यो बालविवाह विरुद्धको नयाँ सुत्र र हतियार हो । यसलाई अब जिल्लाका अन्य स्थानमा समेत सिको गर्न जरुरी छ ।
आधुनिक सञ्चारका साधनको पहुँच र अभिभावकहरूले समेत वास्ता नगर्दा पछिल्लो समय बालविवाह गर्नेक्रम बढ्दै गएको छ । बालविवाह विरुद्ध अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरूले समेत बालविवाहलाई ठूलो चुनौतीको रूपमा लिएका बेला गाउँका बालबालिकाहरूले नै त्यस विरुद्ध लड्ने कसम खानु आफैमा सकारात्मक हो । उनीहरूले उमेर नपुगेसम्म आफूहरूले विवाह नै नगर्ने र गाउँमा कसैले उमेर नपुग्दै विवाह गरेमा त्यसलाई रोक्ने उद्घोष नै गरेका छन् । कलिलैमा विवाह गर्दा मानसिक तथा शारीरिक समस्याहरू भोग्नुपर्ने र घरबार पनि दिगो नहुने समस्याहरू देखा परेपछि उनीहरू बालविवाह विरुद्ध कडा रूपमा उभिएका हुन् । केही वर्षअघि जिल्लामा गैरसरकारी संस्थाहरूको सक्रियतामा बालविवाह विरोधी अभियान सञ्चालन भएको थियो । तर, दाताहरूले बजेट दिन छोडेको भन्दै ती संस्थाहरू पछाडि हटेपछि अहिले सो अभियान हराएको छ । अभियान अलपत्र परेसँगै बालविवाह गर्नेक्रममा समेत वृद्धि भएको देखिन्छ । यस्तो अवस्थामा बालविवाह रोक्न बालबालिकाहरू नै अग्रसर हुनुले पनि केही उत्साह पैदा भएको छ । यो कार्यले अभियन्ताहरूलाई समेत हौसला थपेको हुनुपर्छ । बालविवाह जटिल समस्या बन्दै गएकोमा चिन्ता व्यक्त भइरहेका बेला बालविवाह गर्न सक्ने बालबालिकाहरू नै त्यसको विरोधमा लाग्नु नयाँ साहस र नमुना काम हो । वास्तवमा जिल्लाको ग्रामीण क्षेत्रमा बालबालिका र किशोरकिशोरीहरूले जे कसम खाएका छन्, त्यो अभियानका लागि बलियो आधार बन्नसक्छ । उमेर पुगेपछि मात्र विवाह गर्ने सार्वजनिक कसम र प्रतिबद्धताले अब बालविवाहको विरोधमा थप बल पुग्नसक्छ । बालबालिकाको यो साहस र उद्घोषलाई अब सबैले सम्मान गर्न आवश्यक छ । त्यतिमात्र होइन, अब सरोकारवालाहरूले यसलाई साथ दिन जरुरी छ । उमेर पुगेपछि मात्र विवाह गर्ने कसम खाएका तिनै बालबालिकाहरूलाई नै अभियानको नेतृत्वकर्ताको रूपमा परिचान गर्न सक्नु पर्दछ । यसले बालविवाह गर्न उक्साउने र समाजमा नै त्यसलाई लुकाउने दुबै प्रवृत्तिलाई कमजोर बनाउने छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । बालविवाह नगर्ने कसम खाएका ती बालबालिकाहरूलाई सम्मान गर्दै अन्य क्षेत्रमा समेत त्यो अभियानलाई लैजान जरुरी छ ।
प्रकाशित मितिः २० फाल्गुन २०७२, बिहीबार १०:२५
साझा बिसौनी संवाददाता ।