कर्णालीका वडामा पनि माओवादीकै अग्रता

सुर्खेत : कर्णाली प्रदेशका वडामा नेकपा(माओवादी केन्द्र)ले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएकामध्ये चार वटा वडामा माओवादी विजयी भएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । पाँच सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनले २८१ मत आएको छ । उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् ।

हुम्लाको दुई वटा वडा माओवादीले जितेको छ । ताँजाकोट गाउँपालिका वडा नं. १ र ५ को मतगणना सम्पन्न भएको हो । दुवै वडामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भए । वडा नं. १ को अध्यक्षमा मनलाल रिठाल विजयी भएका छन् । चार सय ५७ मत खसेकोमा उनले दुई सय २३ मत पाए । वडा नं. ५ मा तीन सय ८० मत खसेको माओवादीका मंगल नेपालीले तीन सय सात मत पाएर विजयी भए ।

नेपाली कांग्रेसले अहिलेसम्म दुई वटा वडा जितेको छ । दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस विजयी भएको हो । वडाअध्यक्षमा कांग्रेसका रुपेशकुमार थापा विजयी भए । उनले चार सय मत पाए ।

त्यसैगरी जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर कठायतले तीन सय १४ मत पाएर निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका लोकबहादुर कठायतले दुई सय ४३ र नेकपा एमालेका विरमान सार्कीले ८६ मत पाएका छन् ।

नेकपा(एमाले)ले पनि दुई वटा वडा जितेको छ । दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा सर्वराज सार्कीले ६ सय ९२ मत ल्याएर विजयी भए । कांग्रेसका सूर्यराम सावदले ६ सय ३६, माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएका छन् ।

यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–९ मा पनि एमालेको प्यानलनै विजयी भएको छ । गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले तीन सय ७७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेद्वार कर्णबहादुर मताराले दुई सय ६२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार ११:४९