उत्साहजनक मतदान

सुर्खेत: स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता भएको छ । मतदाताहरूले शुक्रवार बिहानैदेखि मतदान स्थलमा लाइन लागेर उत्साहित रूपमा भोट हालेका हुन् ।

प्रतिकूल मौसमका कारण पनि मतदानमा मतदाताको उल्लेखनीय सहभागिता रहेको सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् । मतदान बिहान सात बजेबाट सुरु भएको थियो । बेलुकी पाँच बजेभित्र लाइनमा बसेका मतदाताले भोट हालेका थिए । मौसममा बदली हुँदा कतिपय ठाउँमा भने मतदान कार्य प्रभावित बनेको थियो । वर्षा र हुुरी बतासले दिउँसो केही समय मतदान कार्य रोकिएको हो । ती ठाउँमा पुनः मतदान सुरु गरिएको थियो ।

निर्वाचनका क्रममा कर्णालीका कतिपय जिल्लाका मतदान स्थलमा छिटफुट झडपका घटना पनि भएका छन् । राजनीतिक दलका कार्यकर्ताहरूको विवादका कारण ती स्थानमा केही बेर मतदान स्थगित भएको थियो । प्रहरीका अनुसार त्यस्ता ठाउँहरूमा केही समय मतदान कार्य स्थगित भएपनि विवाद समाधान गरेर पुनः सुरु गरिएको थियो । समग्रमा कर्णाली प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अपवादबाहेक भयरहित, निस्पक्ष र व्यवस्थित रूपमा मतदान भएको प्रहरीको भनाइ छ ।

कर्णालीका ७९ स्थानीय तहका वडा र पालिकाका विभिन्न पदका लागि १३ हजार ६५ जना उम्मेदवार छन् । त्यसमध्ये आगामी पाँच वर्षे कार्यकालका लागि तीन हजार सात सय ४८ प्रतिनिधि चुनिने छन् । प्रदेशभर १० लाख एक हजार दुई सय ८२ मतदाता रहेकोमा त्यसको झन्डै ६५ प्रतिशत मतदानमा सहभागी भएको जनाइएको छ ।

स्थानीय तहको दोस्रो कार्यकालका लागि नेतृत्व चुन्न भएको मतदानमा सुर्खेतमा पनि ६५ प्रतिशभन्दा माथि मत खसेको बताइएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सुर्खेतमा साँझ ७ः३० बजेसम्म ६५ प्रतिशत मत खसेको विवरण संकलन भएको जनाए । ‘हामी अझै विवरण संकलनमै छौँ,’ उनले भने, ‘यो प्रारम्भिक तथ्याङ्क हो । यसमा केही प्रतिशत बढ्न सक्ने आकलन गरिएको छ ।’ नौ वटा स्थानीय तह रहेको सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जना मतदाता छन् । मौसम खराबीका कारण यो पटक केही प्रतिशत कम मत खसेको अनुमान गरिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशभर ७० प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएसँगै शुक्रवार साँझ नै मतपेटिका संकलन सुरु गरिएको थियो । मतदान स्थलबाट पालिकाहरूका केन्द्रमा रहेका मतदान अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिएको प्रदेश निर्वाचन अधिकारी चालिसेले जनाए । उनका अनुसार मत गणना र परिणाम घोषणा सम्बन्धित पालिकाहरूमै हुँदैछ । केही पालिकाको मतगणना शुक्रवारबाटै सुरु हुने जनाइएको छ । शुक्रवार भएको मतदानबाट निर्वाचित हुनेहरू आगामी पाँच वर्ष स्थानीय सरकारको प्रतिनिधिका रूपमा काम गर्नेछन् । स्थानीय सरकारका जनप्रतिनिधिको एक कार्यकाल भोगिसकेका मतदाता अब आउने नयाँ नेतृत्व विगतको भन्दा उत्तरदायी हुनुपर्ने बताउँछन् ।

शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा ४४ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । कर्णाली प्रदेशका हुम्ला र दैलेखमा पनि हवाइ फायर गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार १४ जिल्लाका २८ स्थलको ४४ मतदान केन्द्रमा मतदान प्रक्रिया रद्ध भएको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ । अर्को मिति तय गरेर त्यहाँ मतदान हुनेछ ।

 

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार ११:३६