आरसी–३२ लाई डेढ लाख जरिवाना

सुर्खेत: शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी–३२ फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक लाख ५० हजार जरिवाना गरेको छ । एन्फाको अनुशासन कमिटीले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै एक लाख ५० हजार जरिवाना गरेको हो ।

लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी–३२ का खेलाडी अनिश श्रेष्ठलाई दुई वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई १–१ वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरूलाई एन्फाले आयोजना गरेको वा स्वीकृत गरेको प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।
यस्तै एन्फाले टिम अफिसियल सन्जीव कार्की र टिम म्यानेजरलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ भने अफिसियल रविन चन्दलाई फुटबल प्रतियोगितामा सहभागी हुनबाट एक वर्षको प्रतिबन्ध लगाइएको छ । एकेडेमीका सञ्चालक रविन सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्षसमेत हुन् ।

लिग अन्तर्गत गत आइतवार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी–३२ का खेलाडी र अफिसियलले खेलपछि भीआईपी एरियामा गएर म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा गरेको एन्फाले जनाएको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७९, बुधबार ०५:०१