नयाँ वर्षको सन्देश
हरेक वर्ष जस्तै आजदेखि नेपाली नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्ष सुरु हुने र यसलाई नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । विभिन्न आरोह र अवरोहकाबीच हामीले २०७२ लाई बिदा गरिसकेका छौं । हामीबाट बिदा भएको २०७२ साल सुर्खेतका लागि उपलब्धीको रूपमा रहन पुग्यो । वर्षको सुरुवातमा नै धेरै अपेक्षा र आशा गरिएको थियो । नेपालीले नयाँ संविधान पाउने आशा बितेको वर्षमा गरेका थिए । वर्षको पहिलो दिन सबैले संविधान बनोस् भन्ने कामना गरेका थिए । त्यही कामना अनुसार नै वितेको वर्ष असोज ३ गते देशले नयाँ संविधान पाएको छ । सुर्खेती जनताले गुमेको भूगोल प्राप्त गरेका छन् । सुदूरपश्चिममा गाँभिन पुगेको भूगोल आन्दोलनपछि फिर्ता भयो । छैठौं प्रदेश घोषणा भएको छ । जसका कारण यस क्षेत्रका जनतामा उत्साह पैदा भएको छ । विकास निर्माण सुस्त हुनुले केही निराशा भए पनि नयाँ संविधान जारी भएका कारण २०७२ समग्रमा उत्साह र उपल्ब्धीको वर्ष बनेको छ ।
अघिल्लो वर्षजस्तै यसपाली पनि नेपालीहरूले नयाँ वर्षको स्वागत गरिरहेका छन् । सबैले एक अर्कालाई प्रगतिको शुभकामना दिने क्रम पनि चलिरहेको छ । सबैको चाहना अहिले पनि घोषणा भएको नयाँ संविधान कार्यान्वयन होस् भन्ने नै छ । आजको दिनमा सबैको कामना एउटै रहेको छ, त्यो भनेको संविधान कार्यान्वयन होस् । विवादमा रहेको सीमाङ्कन र नामाकरणको समस्या समाधान होस् । दलहरूबीचको सहमति र सहकार्यको वातावरण बन्दै जाओस् । भूकम्प र बाढीपीडितहरूको पुनस्र्थापना समयमा नै होस् भन्ने सबैको चाहना छ । तर दलहरूका आ–आफ्नै अडान हेर्दा कतै संविधान कार्यान्वयन नहुने त होइन भन्ने जनतामा त्रासको अवस्था कायमै रहेको छ । यद्यपि जनचाहना अनुसार दलहरूले आफ्ना वाचा नभुल्ने हो भने संविधान कार्यान्वयन हुनेमा कुनै आशङ्का छैन । त्यसकारण पनि दलहरूले आजदेखि सुरु भएको नयाँ वर्षभित्रै जनतालाई नयाँ संविधान कार्यान्वयन गराउने र स्थानीय तथा प्रादेशिक निर्वाचन गराउने विश्वास दिलाउनेतर्फ आजको दिनमा विशेष प्रण गर्न जरुरी छ । संविधान कार्यान्वयन भएमा देशमा स्थायी शान्ति स्थापना हुनुका साथै विकास निर्माणका कार्यले पनि गति लिनेछन् । हालसम्म उपलब्ध भएका गणतन्त्र, सङ्घीयता, समावेशीता र धर्मनिरपेक्षता लगायतका मुद्दाहरू संस्थागत गर्न बल पुग्नेछ । देशमा शान्ति स्थापना भएपछि युवाहरू विदेशिने क्रम रोकिनेछ । नागरिकहरू सुरक्षित रूपमा आफ्नो पेसा व्यवसाय गर्न पाउनेछन् । विकास निर्माण प्रक्रियाले गति लिनेछ ।
जुन उत्साहका साथ नयाँ वर्ष सुरु भएको छ । त्यही उत्साहलाई आत्मसात् गर्दै अब देशले नयाँ सन्देश दिन जरुरी छ । यो वर्षभित्रमा नै आर्थिक विकासका नयाँ योजनाहरू आउन सक्नु पर्दछ । सबैले आ–आफ्नो जिम्मेवारी र दायित्व अनुसार भूमिका निर्वाह गर्ने हो भने असम्भव केही पनि छैन । बितेको वर्ष भूकम्प र नाकाबन्दीका कारण केही निराशाजनक भए पनि नयाँ वर्षले संविधान कार्यान्वयनसँगै जनतामा उत्साह पैदा गरोस् । दलहरूबीच सहमतिको वातवारण सिर्जना होस् । बन्द हड्तालको संस्कृति सधैंका लागि अन्त्य होस् । भ्रष्टाचारविरुद्ध दरिलो शक्ति निर्माण हुन सकोस् । महिला तथा बालबालिकाहरू आफन्तबाटै असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य होस् । सुर्खेत लगायत देशका विभिन्न स्थानमा रहेका बाढीपीडितहरूको पुनस्र्थापनाको काम यो वर्षमा नै टुङ्गियोस् । प्रत्येक नागरिकमा सामूहिक भावनाको विकास हुन सकोस् । नयाँ वर्ष २०७३ को शुभकामना ।
साझा बिसौनी संवाददाता ।