सडक पक्की बनाउने कार्य सुरु

सदरमुकाम मान्म बजारको प्रवेशद्धारको रुपमा रहेको जिरो प्वाइन्टदेखि जिल्ला बिकास समितिको कार्यालयसम्मको सडकमा आरसीसी गर्ने कार्य मंगलबारदेखि शुरु भएको छ । जिल्ला बिकास समितिको कार्यालय कालीकोटको समन्वयमा सहरी बिकास तथा भवन डिभिजन कार्यालय जुम्लाको कार्यक्रम अन्तर्गत करिब १ सय ५० मिटर बाटोमा आरसीसी गर्ने कार्य सुरु भएको स्थानीय बिकास अधिकारी प्रदीपराज अधिकारीले बताए ।

२० प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागितामा हुने उक्त योजनाको कूल लागत ४५ लाख ६० हजार स्थानीय बिकास अधिकारीले जानकारी दिनुभयो । यसैबीच, जिल्ला बिकास समितिको कार्यालय कालीकोटले चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गतका ५० योजना सम्झौता सम्पन्न गरेको छ । अघिल्ला बर्षहरुमा फागुनमा परिषद् सम्पन्न भए पछि योजना सम्झौताका काम शुरु हुने परिपाटी अन्त्य गर्र्दै पुसबाट नै योजना सम्झैता गर्न थालेपछि उपभोक्ताहरु हौसिएका छन् ।

चालु आर्थिक बर्षको योजना अन्तर्गत राक्सीघार झुलुङ्गे पुल रुप्सा र नाम्चा दोभान झुलुङ्गे पुलको निर्माण कार्य सकिएको हो । चालु आर्थिक बर्षमा जिल्लामा १८ वटा झुलुङ्गे पुल निर्माणको कार्यक्रम रहेकोमा ४ वटा झुलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको र ८ वटामा सम्झौता सम्पन्न भई काम सञ्चालन हुने अवस्थामा रहेको स्थानीय बिकास अधिकारी प्रदीपरादज अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः   १२ पुष २०७३, मंगलवार १९:१८