चिङ्गाडमा गठबन्धनबाट बाहिरियो माओवादी

सुर्खेत: स्थानीय तहको चुनावका लागि सत्तारुढ दलले गरेको चुनावी गठबन्धन चिङ्गाड गाउँपालिकामा तोडिएको छ । नेकपा ‐माओवादी केन्द्र) चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको भन्दै चुनावी तालमेल नहुने बताएको हो । नेकपा ‐माओवादी केन्द्र) चिङ्गाड गाउँ कमिटीका अध्यक्ष समरबहादुर कामी र सचिव महेश जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस अघि बढेको आरोप लगाएका छन् । उनीहरूले विज्ञप्तीमार्फत पालिकास्तरमा कांग्रेसलाई मतदान नगर्न समेत सार्वजनिक अपिल गरेका छन् । नेकपा ‐माओवादी केन्द्र)ले सहमतिअनुसार इमान्दारिता देखाए पनि गठबन्धनको मर्मविपरीत कांग्रेस एकलौटी हिँडेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सहमति कार्यान्वय सन्दर्भमा चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित तीन वटा वडा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने, अन्य तीन वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचनमा जाने प्रदेशस्तरमा गरिएको सहमति लाई नेकपा (माओवादी केन्द्र) को तर्फबाट इमान्दारीका साथ पालना भयो । उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउँदछौँ ।’ यो पालिकामा नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्ष पदमा जितबहादुर रानाको उम्मेदवारी दर्ता गरेपनि पालिकाका ६ वडामध्ये ३, ५ र ६ नम्बर वडा माओवादीले उम्मेदवारी दिने र कांग्रेसले ती वडामा फिर्ता लिने सहमति भएको थियो ।

प्रकाशित मितिः   २१ बैशाख २०७९, बुधबार ०५:०१