सहमति मिचेर उम्मेदवारी

सुर्खेत: सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले गरेको तालमेलको सहमति विपरित कर्णालीका एक दर्जनबढी पालिकामा उम्मेदवारी दर्ता भएको छ । प्रदेश संयन्त्रले प्रदेशका आठ जिल्लामा तालमेलको सहमतिसहित पालिका भागबन्डा गरेको थियो । सहमति भएका पालिकामा साझा उम्मेदवार बनाउन निर्देशनसमेत दिइएको थियो । तर केही पालिकामा त्यसको उल्लघंन भएको छ ।

सहमतिअनुसार दैलेखको महाबु गाउँपालिकाको नेतृत्व नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाउने सहमति थियो । तर उक्त सहमति कार्यान्वयन भएन । गठबन्धनभित्रका मुख्य तीन वटै दलले महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा अलग–अलग उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मण गुरूङ र उपाध्यक्षमा मञ्जु पाण्डे, समाजवादीबाट अध्यक्षमा जंगबहादुर शाही र उपाध्यक्षमा पूण्यप्रभा दसौंदी, माओवादीबाट अध्यक्षमा अमृता सुनार र उपाध्यक्षमा जंगबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

यस्तै कालीकोटको तिलागुफा नगरपालिकामा पनि सहमति भाँडिएको छ । प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएपनि नेपाली कांग्रेसले तिलागुफाका सबै पदमा आफ्नो उम्मेदवारी दिइसकेको छ । शंकरप्रसाद उपाध्यायले प्रमुखमा र बसनाकुमारी शाहीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । प्रमुख र उपप्रमुखसहित ११ वटा वडा अध्यक्ष र वडा सदस्यको समेत कांग्रेसले उम्मेदवारी दिएको छ । त्यसैगरी एकीकृत समाजवादीले प्रमुख पदमा भाग पाएको जाजरकोटको भेरी नगरपालिकामा पनि गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

प्रदेश संयन्त्रबाट सहमति हुन नसकेका सुर्खेत र रूकुम–पश्चिममा पनि दलहरूले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यद्यपि उम्मेदवारी फिर्ता लिने दिनसम्म पनि तालमेल मिलाउन प्रयास गरिने नेताहरूले जनाएका छन् । सहमित हुन ढिलाइ हुँदा समस्या भएको नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

प्रकाशित मितिः   १४ बैशाख २०७९, बुधबार ०५:०१