वैशाख २७ गते वीरेन्द्रनगरमा एमालेको जनसभा

सुर्खेतः नेकपा (एमाले) ले वैशाख २७ गते वीरेन्द्रनगरको पिपलचौतारामा नगरस्तरीय चुनावी जनसभा गर्ने भएको छ । मंगलवार एमाले प्रदेश इञ्चार्ज यामलाल कँंडेलको प्रमुख आतिथ्यतामा बसेको वीरेन्द्रनगर नगर कमिटी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले वीरेन्द्रनगरमा २० गते अघि नै विभिन्न स्थानमा चुनावी कोणसभाहरु गर्ने भएको छ । पिपिराचोक, शिवालयचोक, यरीचोक र टेम्पोपार्कचोकमा कोणसभा हुने भएका हुन् । जसअनुसार पिपिराचोकमा १६ गते ४ बजे कोणसभा हुनेछ । उक्त कोणसभाको वडा नं. १०, ११ र १२ वडाका कमिटीहरुले व्यवस्थापन तथा समन्वय गर्नेछन् ।

त्यसैगरी, यरीचोकमा एमालेले १७ गते कोणसभाको आयोजना गर्ने जनाएको छ । त्यो सभाको वडा नंं. ३,४,६, र ९ का वडा कमिटीले व्यवस्थापन गर्ने भएका छन् । इत्रामस्थित शिवालयचोकमा १८ गते कोणसभाको आयोजना गरिरएको छ । सो सभाको व्यवस्थापन र समन्वय वडा नं.५,७ र ८ गते गर्ने बताइएको छ । एमालेले वीरेन्द्रनगरमा अन्तिम कोणसभा १९ गते बाङ्गेसिमलस्थित टेम्पोपार्कमा गर्दैछ । टेम्पोपार्कमा हुने सभाको व्यवस्थापन गर्ने जिम्मा वडा नं. १ र २ लाई दिइएको छ भने आवश्यक सहयोग र समन्वय ३ र ४ नं. वडा कमिटीले गर्नेछन् । चुनावी जनसभा र कोणसभाहरुमा वीरेन्द्रनगर उपत्यकामा रहेका प्रदेश, जिल्ला र नगर कमिटीका नेताहरु उपस्थित हुने जनाइएको छ । कोणसभाको समन्वय जिल्लाबाट वडामा तोकिएका इञ्चार्जहरुले गर्ने बताइएको छ । यीबाहेक आवश्यकताअनुसार वडा कमिटीहरुले पनि चुनावी कोणसभाका कार्यक्रम गर्न सक्ने एमालेले जनाएको छ ।

त्यस्तै, वीरेन्द्रनगरमा एमालेले उम्मेदवारसहित घरदैलो गर्ने कार्यतालिका बनाएको छ । जसअन्तर्गत १६ गते वडा नं. ११, १७ गते वडा नं. १०, १८ गते वडा नं. ७ र ८ मा घरदैलो गरिनेछ । यस्तै, १९ गते वडा नं.३, २० गते वडा नं. ९ र २१ गते वडा नं. १ मा एमालेको घरदैलो अभियान हुनेछ । २२ गते विहान वडा नं.५ र सोही दिन दिउँसो १४ नं. वडामा घरदैलो गर्ने कार्यतालिका छ । एमाले वीरेन्द्रनगर नगर कमिटीका अनुसार २३ गते बिहान वडा नं. ४ र दिउँसो वडा नं. १५, २४ गते बिहान वडा नं. ६ र दिउँसो वडा नं. १६, २५ गते बिहान वडा नं.१२ र दिउँसो १३ तथा २६ गते वडा नं. ३ मा घरदैलो हुनेछ । घरदैलो कार्यक्रममा चुनावी प्रतिबद्धता र संकल्पसहित उम्मेदवारहरुले मतदातालाई घर–घरमा पुगेर भेट्ने योजना बनाएको एमालेले जनाएको छ ।

नगर कमिटीको सचिवालय बैठकमा प्रदेश इञ्चार्ज कँडेलले जुनसुकै कमिटीमा आवद्ध भएपनि चुनावी कार्यक्रमहरुमा नेताहरुलाई आफ्नो वडामा केन्द्रित भएर लाग्न निर्देशन दिएका छन् । चुनावी अभियानलाई व्यवस्थि गर्न जिल्ला र स्थानीय तहस्तरीय विभिन्न समितिहरु समेत बनाइएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार जिल्लामा एउटा चुनावी सचिवालय रहनेछ भने स्थानीय तहहरुमा आर्थिक व्यवस्थापन, युवा परिचालन, प्रचार प्रसारलगायतका समितिहरु रहनेछन् । प्रचार सामग्रीमा सबै वडाको एकरुपता हुनुपर्ने एमालेले निर्देशन गरेको छ । एमालेका उम्मेदवारले एक्ला एक्लै नभइ पालिका प्रमुख/उपप्रमुख,अध्यक्ष/उपाध्यक्ष र वडाका उम्मेदवारहरुको एउटै प्रचार सामग्री बनाउनुपर्ने निर्देशन गरेको हो । उम्मेदवारहरुलाई व्यक्तिलाई भन्दा चुनाव चिन्हलाई प्रचारमा बढी प्राथमिकता दिन भनिएको छ ।

प्रकाशित मितिः   १३ बैशाख २०७९, मंगलवार १५:०१