उम्मेदवारी दर्ता उत्साहजनक

प्रदेशभर मनोनयन, गठन्धनभित्रै मिलेन तालमेल

सुर्खेत: स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । आइतवार र सोमवार दुई दिन लाएर कर्णाली प्रदेशका दश वटै जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको हो । स्थानीय सरकारको दोस्रो कार्यकालका लागि विभिन्न राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आइतवार नै उम्मेदवारी दिए पनि प्रमुख राजनीतिक दलहरूले भने सोमवार मात्रै मनोनयन दर्ता गराएका हुन् । दलहरूले प्रदेशका ७९ वटै पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमा तामझामका साथ उम्मेदवारको मनोनयन दर्ता गरे ।

नेकपा (एमाले) ले आइतवार नै प्रदेशका सबै पालिकाका लागि उम्मेदवारको टुँगो लगाउँदा सत्तारुढ गठबन्धनलाई भने चुनावी तालमेलको सहमति जुटाउनै निकै सकस भएको थियो । मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमवार बिहानसम्म सहमतिका लागि प्रयास गरिए पनि प्रदेशका सबै जिल्लामा तालमेल हुन सकेन । अन्ततः आठ जिल्लामा सहमति जुटाउँदै सुर्खेत र रूकुम–पश्चिममा प्रतिस्पर्धा गर्नेगरी गठबन्धनको छलफल टुङ्गिएको थियो । जसअनुसार दुई जिल्लामा गठबन्धनका दलहरूले आ–आफ्नै उम्मेदवार उठाएका छन् । तालमेलका लागि सोमवार दिउँसोसम्म कसरत गरिए पनि सफल नभएको हो । चुनावी तालमेल हुन नसकेका जिल्लामा आ–आफ्नै तरिकाले मनोनयन दर्ता गर्ने र पछि उम्मेदवारी फिर्ता लिने दिनसम्म सहमति जुटाउने प्रयास भने जारी रहने गठबन्धन प्रदेश संयन्त्रले निर्णय गरेको छ ।

सहमति भएका आठ जिल्लामा भने पाँच दलीय गबन्धनले साझा उम्मेदवार उठाएका छन् । गठबन्धनको साझा उम्मेदवारका विरुद्धमा गए पार्टी अनुशासनको कारबाही गरिनेसमेत सचेत गराइएको छ । तालमेल भएका जिल्लामा पनि जनता समाजवादी पार्टी ‐जसपा) र राष्ट्रिय जनमोर्चालाई भने वडामा मात्रै भाग परेको छ । त्यो पनि मतभारको अवस्था हेरेर सिट दिइएको जनाइएको छ । प्रदेश संयन्त्रमार्फत चुनावी तालमेलको सहमति गरिए पनि केही स्थानीय तहमा भने उक्त सहमतिविपरित स्वतन्त्र उम्मेदवारी परेको छ ।

मनोनयनका क्रममा देखिएको उत्साहले निर्वाचनका लागि निकै सकारात्मक वातावरण बनेको सम्बन्धित पालिकामा खटिएका निर्वाचन अधिकृतहरूले बताएका छन् । सुुर्खेतका मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुुमार आचार्यले जिल्लाभर शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाए ।

मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिनसक्ने कार्यतालिका बनाएको छ । यस्तै वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । यी सबै कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । दर्ता भएको मनोनयनमाथि रुजु गर्ने काम जारी रहेको आयोगले जारी गरेको विज्ञप्तिमा छ । साथै निर्वाचन आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको पनि जनाएको छ । वैशाख ३० गते देशभर एकसाथ निर्वाचन हुँदैछ ।

यी हुन् वीरेन्द्रनगरका प्रमुख/उपप्रमुखका उम्मेदवार

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको उम्मेदवारीलाई महŒवका साथ हेरिएको थियो । यहाँ नेकपा‐एमाले) ले मोहनमाया ढकाललाई प्रमुख र निलकण्ठ खनाललाई उपप्रमुखमा उठाएको छ । ढकाल यसअघिकी उपप्रमुख र खनाल वडा नं. ४ का अध्यक्ष हुन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट नगर प्रमुखमा उपेन्द्र खड्काले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट वीरेन्द्रनगरको उपप्रमुखमा रामकुमारी थापाको मनोनयन दर्ता भएको छ । कांग्रेसले उम्मेदवार बनाएका खड्का नगर कमिटी सभापति हुन् ।

माओवादी केन्द्रबाट वीरेन्द्रनगरको प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालको उम्मेदवारी परेको छ । त्यस्तै, एकीकृत समाजवादीले वीरबहादुर रावतलाई नगर प्रमुख र धना शाहीलाई उप्रमुखको उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा)बाट नगर प्रमुखमा मुकुन्दश्याम गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा लक्ष्मीकुमारी विकको मनोनयन दर्ता भएको हो । कतिपय साना दल र केही स्वतन्त्र उम्मेदवारले आइतवार नै मनोनयन दर्ता गरेका थिए । केहीले सोमवार पनि मनोनयन दर्ता गरेका हुन् ।

प्रकाशित मितिः   १३ बैशाख २०७९, मंगलवार ११:१०