सुर्खेतमा माओवादी र समाजवादीबीच तालमेलको प्रयास हुँदै

सुर्खेत : सुर्खेतमा सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)बीच भने तालमेलका लागि प्रयास भइरहेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले नेपाली कांग्रेसका कारण गठबन्धनबीच सहमति हुन नसकेको जनाए । ‘कांग्रेसको असहिष्णु व्यवहार र आन्तरिक कलहले तालमेलको सहमति हुन सकेन, त्यो सम्भावना अब सकिएको छ’ उनले भने ‘समाजवादीसँग भने माओवादीले तालमेल गर्ने सम्भावना रहेको छ । त्यसका लागि प्रयास हुन्छ ।’ उनले तालमेल नभए माओवादी एक्लै सबै पालिकामा चुनाव लड्ने  गरी मनोनयन दर्ताको तयारीमा रहेको समेत जानकारी दिए ।

एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले पनि कांग्रेसहितको गठबन्धनको सम्भावना टरेको जानकारी दिए । साथै उनले माओवादीसहित अन्य दलहरुसँग पनि स्थानीय तहमा तालमेल हुनसक्ने बताए । ‘अब छलफलका लागि हामीसँग समय छैन, सबै पालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्ने तयारीमा छौँ’ अध्यक्ष बडुवालले भने, ‘पालिकाहरुमै कसैसँग तालमेल हुनसक्ने सम्भावना भए त्यसका लागि बाटो खुला नै राखेका छौँ ।’

प्रकाशित मितिः   १२ बैशाख २०७९, सोमबार ११:४५