प्रदेशबाट तालमेल, जिल्लामा बेमेल

सुर्खेत: स्थानीय तह निर्वाचनका लागि कर्णालीमा सत्तारुढ गठबन्धनले अन्ततः भागबन्डा मिलाएका छन् । सोमवार साँझसम्म प्रदेशका आठ जिल्लामा उम्मेदवारको तालमेल गर्ने सहमति भएको छ । गठबन्धन दलहरूको लामो रस्साकस्सीपछि अधिकांश पालिकाका उम्मेदवारको सिट बाँडफाँट मिलेको हो । गठबन्धनको प्रदेश संयन्त्रका अनुसार कर्णालीका सुर्खेत र रूकुम–पश्चिममा भने आइतवार साँझसम्म तालमेलमा भागबन्डा मिलिसकेको थिएन । छलफल भइरहेकाले राति नै बाँकी जिल्लाको पनि उम्मेदवार मिलाएर आज ‐सोमवार) मनोनयन दर्ता गर्ने तयारी रहेको गठबन्धन दलका प्रदेशस्तरीय एक नेताले बताए । उनले सुर्खेत र रूकुम–पश्चिमका पनि केही पालिकाको तालमेलमा मात्र कुरा मिल्न बाँकी रहेको जनाए । ‘त्यसका लागि केन्द्रीय नेताहरू बैठक बसिरहनु भएको छ,’ उनले भने, ‘सायद आज रातिसम्म टुँगो लाग्छ होला ।’
गठबन्धनको प्रदेश संयन्त्र स्रोतका अनुसार दैलेखका ११ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख र पाँच ठाउँमा उपप्रमुख पाएको छ । त्यस्तै, नेकपा ‐एकीकृत समाजवादी)ले तीनवटा स्थानीय तहमा प्रमुख र दुईवटामा उपप्रमुख लिएको छ । दैलेखमा नेकपा ‐माओवादी केन्द्र)को भागमा दुई वटा पालिका प्रमुख र चार वटा उपप्रमुख परेको छ । त्यस्तै, सत्तारुढ गठबन्धनमा जाजरकोटका सबै पालिकामा तालमेल मिलेको छ । त्यहाँ कांग्रेस र माओवादी केन्द्रले तीन–तीन पालिकाका प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको हो । निर्णयअनुसार एकीकृत समाजवादीले एउटा पालिकाको प्रमुख पाएको छ ।

गठबन्धनको प्रदेश संयन्त्रले निर्णय गरेपनि कतिपय जिल्लामा भने तालमेलबारे असन्तुष्टि देखिएको छ । जुम्लामा गठबन्धन दलले प्रदेशले गरेको निर्णय अस्वीकार गरेका छन् । माओवादी केन्द्रका जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले अनुसार प्रदेशले तालमेलको निर्णय गरेपनि जिल्लामा भागबन्डा नमिलेको जनाए । उनले कांग्रेस र समाजवादीले एक्लै चुनाव लड्ने भनेपछि आफूहरू पनि सोहीअनुसार अघि बढ्ने निर्णयमा पुगेको बताए ।

एमालेले टुङ्ग्यायो उम्मेदवार

नेकपा ‐एमाले)ले कर्णालीका चारबाहेक अन्य पालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुँगो लगाएको छ । डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका तथा दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकाबाहेक सबै स्थानीय तहको उम्मेदवार टुँगो लगाइएको हो । एमाले प्रदेश कमिटीका अनुसार दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा विवाद देखिएपछि सिफारिस भएका नाम पार्टी केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाइएको छ । यस्तै, एमालेले हुम्लाका सबै गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुँगो लगाइए पनि उपाध्यक्ष पदको उम्मेदवार छनोट गर्न बाँकी रहेको जनाएको छ । प्रदेशका अरु जिल्लाका स्थानीय तहमा भने आइतवार सबै उम्मेदवारको अन्तिम टुँगो लागेको हो ।

पहिलो दिन फाटफुट मनोनयन दर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आइतवारदेखि सुरु भएको छ । तर, प्रमुख दलहरूले पहिलो दिन मनोनयन नगरेका कारण धेरैजसो निर्वाचन अधिकृतका कार्यालयहरू सुनसानजस्तै थिए । उम्मेदवारी मनोनयन दर्ताको समय आज (सोमवार) सम्मका लागि तोकिएको छ । आइतवार भने केही साना दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेकपा ‐एमाले) र चुनावी तालमेल गरेको सत्तारुढ गठबन्धनले भने सोमवार मात्रै उम्मेदवारी दर्ता गर्ने बताइएको छ । एमालेले पहिलो दिन एक–दुई वटा पालिकामा मात्र उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारको अन्तिम निर्णय आउन ढिलो भएपछि धेरैजसोमा सोमवार मनोनयन दर्ता गर्ने तयारी एमालेको छ ।

त्यस्तै, गठबन्धनमा साझा उम्मेदवार तय गर्न ढिलाइ हँुदा पहिलो दिन मनोनयन दर्ता नभएको हो । कर्णाली प्रदेशका दश वटा जिल्लाका केही पालिकामा मात्र साना दलहरू र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले जिल्ला सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय र पालिका–पालिकामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरेको छ । ती कार्यालयहरूमा सम्बन्धित पालिकाका उम्मेदवारका मनोनयन दर्ता हुन्छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आइतवार ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार आचार्यले पहिलो दिन केही साना राजनीतिक दल र कतिपय स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको बताए । उनकाअनुसार वीरेन्द्रनगरमा पालिका प्रमुखमा एक जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, वडाअध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत आचार्यले वडा सदस्यमा तीन जनाको मनोनयन दर्ता भएको जनाए । ‘ठूला राजनीतिक दलहरूले आज उम्मेदवारी दर्ता गर्नुभएको छैन,’ उनले भने, ‘दुई दिन समय भएकाले भोलि दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।’

सल्यानको बागचौर नगरपालिकामा जनता समाजवादी पार्टीबाट चित्रबहादुुर डाँगीले नगरप्रमुुखमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, कालिमाटी गाउँपालिका वडा नं. १ मा एक जनाले वडाअध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको त्यहाँस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सल्यानकै छत्रेश्वरी गाउँपालिकामा राप्रपाले एक जना पालिका अध्यक्ष र वडाअध्यक्ष तथा केही सदस्यहरूको मनोनयन दर्ता गराएको छ । यी तिनवटै पालिकामा मुख्य राजनीतिक दल तथा गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता भएको छैन ।

जुुम्लामा नेपाल मजदुुर किसान पार्टीले चन्दननाथ नगरपालिकाको प्रमुुख र दश वटै वडाका वडाअध्यक्ष तथा सदस्यहरूको उम्मेदवारी दर्ता गराएको छ । मुुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले अन्य दलहरू आइतवार मनोनयन दर्ता गर्न नआएको बताए । मुुगुुको छायाँनाथ रारा नगरपालिकामा जनता समाजवादी पार्टीले नगर प्रमुुखमा उम्मेदवारी दर्ता गराएको छ । उक्त नगरपालिकाको वडा नं. १ को वडाअध्यक्षको लागि स्वतन्त्र उम्मेदवार गेहेन्द्रशमसेर मल्लले उम्मेदवारी दिएका छन् । मुुख्य निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले धेरैजसो दलहरूले सोमवार मनोनयन दर्ता गर्ने जानकारी गराएको जनाए । त्यस्तै, कालीकोटको खाडाचक्र नगरपालिकामा एमालेले नगर प्रमुुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुुसार त्यहाँ आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले वडाका कतिपय पदमा मनोनयन दर्ता गराएका छन् ।

जाजरकोटमा एउटा पालिकामा स्वतन्त्र उम्मेदवारबाहेक अरुले उम्मेदवारी दर्ता गरेका छैनन् । मुुख्य निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले कुुनै पनि पार्टीले उम्मेदवारी दर्ता नगराएको बताए । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनुपर्छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १२ बैशाख २०७९, सोमबार ०८:००