तालमेलको सम्भावना क्षीण
मनोनयन दर्ता आज र भोली, गठबन्धनमा भागबन्डा सकस कायमै
सुर्खेत: स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनय दर्ता आज र भोलि ‐वैशाख ११, १२) गते तोकिएको छ । तर, कर्णालीमा सत्तारुढ गठबन्धनको चुनावी तालमेल हुने÷नहुनेबारे अझै निश्चित भएको छैन । गठबन्धन दलमा चुनावी तालमेल अन्योल भएको हो । प्रदेशका १० वटै जिल्लामा गठबन्धन दलहरूबीच कुनै पनि पालिकामा साझा उम्मेदवार तय नभएका हुन् । उम्मेदवार टुङ्ग्याउन केही दिन यतादेखि निरन्तर भागबन्डाको कसरमा जुटेका नेताहरू अन्ततः निराशजस्तै बनेका छन् ।
गठबन्धन दलको एक घटक नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालले तालमेलको सम्भावना न्यून बन्दै गएको बताए । उनका अनुसार शनिवार साँझसम्म छलफलहरू भइरहे पनि परिणामउन्मुख हुन सकेका छैनन् । बडुवाल भन्छन्, ‘सायद अब दलहरूले आ–आफ्ना उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने हुन्छ होला । अहिलेसम्मको अवस्था हेर्दा त्यस्तै देखिन्छ ।’ गठबन्धनको मर्मअनुसार छलफल अघि बढ्नुपर्नेमा सबै आ–आफ्नै अडानमा भएपछि तालमेलको सम्भावना क्षीण बनेको हो । ‘भोलिसम्म यही अवस्था रहे मित्रवत प्रतिस्पर्धा गर्नुको विकल्प छैन,’ उनले भने, ‘हामीले मनोनयन दर्ताका लागि लगभग सबै तयारी अघि बढाइसकेका छौँ ।’
समाजवादीले सबै स्थानीय तहमा आफ्ना उम्मेदवार मनोनयनका लागि तयारी अवस्थामा रहेको जनाएको छ । वीरेन्द्रनगरका उम्मेदवारको मनोनयन दर्ताका लागि एकीकृत समाजवादीले निर्वाचन अधिकृतको कार्यालयसँग सोमवार दिउँसो एक बजेको समय लिइसकेको छ ।
तालमेल हुने छाँट कमै देखेका एकीकृत समाजवादीका नेताहरू सोमवार बिहानसम्म भने पर्खने रणनीतिमा देखिएका छन् । गठबन्धनभित्र कुनै पनि जिल्लाका पालिकाको भागबन्डा मिलेको छैन । सबैतिर समस्या देखिएपछि तालमेल हुने अवस्था नदेखिएको हो । गठबन्धनको प्रदेश संयन्त्र शुक्रवारदेखि निरन्तर छलफल छ । तर, ठोस उपलब्धि नभएको नेताहरूले बताएका छन् । प्रदेश संयन्त्रको शनिवारको बैठक पनि निष्कर्षविहीन भएको छ ।
सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको विषयमा कुरा नमिलेपछि उम्मेदवार मनोनयनमा समेत अन्योल देखिने भएको छ । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले आइतवार साँझसम्म उम्मेदवार टुँगो लगाउने गरी अन्तिम कसरत थालिएको कतिपय नेताको भनाइ छ । यद्यपि, समय सीमाका कारण दलहरूलाई छिटै उम्मेदवार टुङ्ग्याउनै पर्ने दबाब भने बढेको छ । गठबन्धनमा सहमति हुन नसक्दा उम्मेदवार चयन र मनोनयन दर्ता कसरी गर्ने भन्ने सकसमा दलहरू छन् । नेकपा ‐माओवादी केन्द्र)का प्रदेश उपाध्यक्ष कृष्ण जिसीले कांग्रेसले धेरै पालिकाको दाबी नछोडेपछि तालमेलमा समस्या देखिएको जनाए । उनका अनुसार कांग्रेसले सुर्खेत, दैलेख र डोल्पामा धेरै पालिका पाउनुपर्ने दाबी गर्दै आएको छ । ‘अरु जिल्लामा करिब–करिब मिलेको अवस्था थियो,’ उनले भने, ‘यी जिल्लामा कांग्रेसको अडानका कारण सहमति हुन सकेको छैन ।’ प्रयासहरू जारी रहेकाले अझै पनि गठबन्धनमा तालमेलको सम्भावना भने टरिनसकेको उनी बताउँछन् । जिसीले गठबन्धन दलका छलफल भइरहेकाले आइतवारसम्म एकमुष्ट सहमति जुट्नसक्ने विश्वास व्यक्त गरे ।
आफ्नो जनमत बलियो भएका ठाउँमा धेरै उम्मेदवार लिन खोज्दा एक अर्को दलबीच सहमति हुन नसकेको हो । ‘सबैका दाबी हामीले एक्लै जित्न सक्छौँ भन्ने छ, यसरी त तालमेल के होला र खै ?,’ गठबन्धन दलको बैठकमा सहभागी एक कांग्रेस नेताले भने । उनका अनुसार कर्णालीमा गठबन्धनबीच सैद्धान्तिक र आधारभूत विषयमै ठूलो मतभेद देखिएको छ । गठबन्धनको मर्मविपरीत नेताहरू बैठकमा प्रस्तुत हुँदा जटिल अवस्था बनेको उनको भनाइ छ ।
कांग्रेसमा किचलो
सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक किचलोले थप संकट उत्पन्न भएको छ । कर्णालीका सबैजसो जिल्लामा कांग्रेसका दुई समूहबीच उम्मेदवार भागबन्डाको विवाद देखिएको छ । मनोनयनको समय नजिकिएपछि यो विषय झन् पेचिलो बनेको हो । सुर्खेतमा संस्थापन इतर समूहले जिल्लामा आफ्ना ४० प्रतिशत उम्मेदवार नपरे आपत्ति रहने बताइसकेको छ । वीरेन्द्रनगरको प्रमुखमा सिफारिस भएका कांग्रेस शेखर कोइराला समूहका उम्मेदवारले वडादेखि नै आफूहरूको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने अडान लिएका छन् । वीरेन्द्रनगरको प्रमुखमा सिफारिस भएका नारायण कोइराला र भूपेन्द्र खत्रीले संस्थापन पक्षले वडादेखि नै उम्मेदवार सिफारिसमा सन्तुलन नमिलाएको भन्दै यसमा सुधार नगरिए आफूहरूको उम्मेदवारी दाबी पनि नरहने बताएका हुन् । कोइराला र खत्रीले शुक्रवार विज्ञप्तीमार्फत नगरमा आफूहरूको विचार समूहबाट एकल उम्मेदवारी दिनुको औचित्य नरहेको बताउँदै सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् । कांग्रेसको वीरेन्द्रनगर नगर कमिटीले शुक्रवार उम्मेदवारका नाम सिफारिस गरेको थियो । नगरबाट सिफारिसमा छुटाइएका केहीले प्रदेश कमिटीमा निवेदन दिएका थिए । नगरले गरेको एकलौटी निर्णयको छानबिन गरी छलफल र संवादबाट समस्या हल गर्न पनि उक्त समूहले अनुरोध गरेको छ । सुर्खेत कांग्रेसमा यही कलहले उम्मेदवार छनोटमा चुनौति देखिएको छ ।
गठबन्धन अन्योलमै रहेका बेला नेकपा ‐एमाले)ले भने करिब–करिब सबैजसो पालिकाका उम्मेदवार टुङ्ग्याइसकेको छ । एमाले स्रोतका अनुसार सुर्खेत र दैलेखका केही पालिकाको अन्तिम टुँगो लगाउन भने बाँकी नै छ । शनिवार रातिसम्म ती पालिकाका उम्मेदवार चयन गरिसक्ने गरी तयारी छ । प्रदेश कमिटीका अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुँगो लगाइएको छ । वीरेन्द्रनगरको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, चौकुने गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद अधिकारी र उपाध्यक्षमा निर्मला राना मगरको नाममा निर्णय भएको छ । पञ्चपुरी नगरपालिकाको प्रमुखमा धनबहादुर थापा उम्मेदवार बन्ने भएका छन् भने उपप्रमुखको टुँगो लाग्न बाँकी छ । एमाले प्रदेश कमिटीका अनुसार बराहताल गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवारमा घनश्याम पाण्डे र उपाध्यक्षमा दुर्गा विष्टको नाम अनुमोदन भएको छ । स्थानीय तहका कमिटी, जिल्ला कमिटी हुँदै आएका निर्णय र सिफारिसका आधारमा एमाले प्रदेश कमिटीले उम्मेदवारहरुको अन्तिम टुँगो लगाएको हो । यद्यपि, उम्मेदवारबारे आइतवार बिहान मात्रै अन्तिम निर्णय हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
प्रकाशित मितिः ११ बैशाख २०७९, आईतवार ०९:५०
साझा बिसौनी ।