स्थानीय चुनावमा महिला उम्मेदवार: जनताले रुचाउँछन्, पार्टीबाट भने उपेक्षा
२०७४ को स्थानीय निर्वाचनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार बालाराम शर्मा पराजित भए । तर उपप्रमुखमा एमालेकै मोहनमाया ढकाल निर्वाचित भएकी छिन् । शर्माले १३ हजार आठ सय ९९ मत पाउँदा ढकालले भने १६ हजार ६८ मत पाएकी थिइन् । उनले पाएको मत नगर प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका देवकुमार सुवेदीको भन्दा पनि एक हजार ६ सय ६३ ले बढी हो । सुवेदीले १४ हजार चार सय पाँच मत पाएका थिए ।
यस्तै जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवालले दुई हजार आठ सय ६ मत पाएर विजयी हुँदा उपप्रमुखमा कांग्रेसकै उम्मेदवार जगतबहादुर खत्रीले एक हजार सात सय ७४ मत मात्रै पाएका थिए ।
पालिका उपप्रमुखमा भने नेकपा (माओवादी केन्द्र) बाट अप्सरादेवी न्यौपाने निर्वाचित भइन् । उनले दुई हजार १८ मत पाएकी हुन् । तर माओवादीबाट प्रमुख पदका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत पाए ।
सल्यानको बागचौर नगरपालिका प्रमुखमा माओवादीका लोकमान बुढाथोकी निर्वाचित भएका भए । उनले पाँच हजार एक सय २१ मत पाएका थिए । उपप्रमुखमा पनि माओवादीकै कल्पना पुन विजयी भइन् । उनले बुढाथोकीको भन्दा बढी मत पाएकी छिन् । पुनले पाँच हजार दुई १५ मत पाएकी थिइन् ।
दैलेखको आठबीस नगरपालिका प्रमुखमा एमालेका खड्गराज उपाध्यायले तीन हजार नौ सय २७ मत पाएका थिए । उपप्रमुखमा निर्वाचित कांग्रेसकी दिपा बोहोराले भने उपाध्यायको भन्दा दुई सय ६० मत बढी अर्थात् चार हजार एक सय ८७ पाएकी थिइन् । कांग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले तीन हजार आठ सय ८० मत मात्रै पाएका छन् ।
दैलेखकै चामुन्डा बिन्द्रासैनी नगरपालिमा होस् या सुर्खेतको चौकुने र बराहताल गाउँपालिका । कर्णाली प्रदेशका यस्ता धेरै पालिकामा पुरुष उम्मेदवारहरूले भन्दा महिला उम्मेदवारहरूले बढी मत पाएका छन् । कतिपय पालिकामा प्रमुख पदमा पुरुष उम्मेदवार पराजित हुँदा उपप्रमुखमा भने सोही पार्टीका महिला उम्मेदवारले उल्लेख्य मत पाएर निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचन परिणाम केलाउँदा उपप्रमुखमा मात्रै होइन वडा सदस्यहरूमा समेत महिला उम्मेदवारहरूले निकै लोकप्रिय मत पाएका छन् । मतदाताले महिला उम्मेदवार रूचाए पनि राजनीतिक दलहरूले भने उपेक्षा गर्ने गरेका छन् । प्रमुख पदमा महिलालाई उम्मेदवार हुनबाट वञ्चित गराउने गरिएको छ । पालिका प्रमुखमा मात्रै होइन वडाअध्यक्षमा समेत महिलालाई पाखा लगाइएको छ ।
वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार छनोटमा पनि महिलालाई उपेक्षा गरिएको छ । उम्मेदवार सिफारिसमै पुरुषको बोलवाला छ । बाध्यात्मक रूपमा निकै न्यून महिला मात्र सिफारिसमा परेका छन् ।
प्रकाशित मितिः ११ बैशाख २०७९, आईतवार ०५:०४
साझा बिसौनी ।