आगलागीबाट चार जनाको मृत्यु

जुम्ला: आगलागीबाट चार जना बालबालिकाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्की रहेका छन् । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रवार राति ११ बजेर २० मिनेटमा आलगागी भएको थियो । मृत्यु हुनेहरूमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् ।

चार दिनअघि उनी मामाको घरमा आएकी थिइन् । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

आगलागीले तीनतले घरको दुई तला पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कंदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ११ बैशाख २०७९, आईतवार ०५:०१