भागबन्डाको उल्झनमा गठबन्धन

वीरेन्द्रनगरमा एमाले र कांग्रेसका उम्मेदवार सिफारिस

सत्तारुढ दलका छलफल संयुक्त, निर्णय आ–आफ्नै

वीरेन्द्रनगरमा एमाले र कांग्रेसका उम्मेदवार सिफारिस

सुर्खेत: आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तारुढ गठबन्धन दलभित्र उम्मेदवारको भागबन्डा जटिल बन्दै गएको छ । गठबन्धनमा सिट बाँडफाँटमा शुक्रवार साँझसम्म कुरा मिलेको छैन । कसले कुन पालिका लिने भन्ने विषय टुङ्ग्याउन नेताहरूलाई सकस भएको हो ।

कर्णालीमा गठबन्धनका जिल्ला संयन्त्रले भागबन्डामा सहमति जुटाउन नसकेपछि मिलाउन भन्दै प्रदेशको जिम्मा लगाइएको छ । दुई दिनदेखि उम्मेदवारको तालमेल मिलाउने प्रत्यन गरिरहेको प्रदेश पनि यसमा सफल हुन सकेको छैन ।

सत्तारुढ दलका छलफल संयुक्त, निर्णय आ–आफ्नै

एकमुष्ट उम्मेदवार तय गर्न आफूहरू निर्णायक छलफलमा रहेकाले परिणाम छिटै आउने गठबन्धन दलको एक घटक नेकपा ‐एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा बताउँछन् । ‘छलफल सकारात्मक रूपमा अघि बढेको छ,’ उनी भन्छन्, ‘केही जिल्लामा समस्या देखिएकाले ठोस निर्णय भने भएको छैन ।’ नेताहरूले घनीभूत छलफलमा रहेको बताए पनि गठबन्धनका दलहरू भने आ–आफ्ना उम्मेदवार सिफारिस गरिरहेका छन् । नेताहरू पनि यसमा बढी केन्द्रित भएको देखिन्छ । एकीकृत समाजवादीले शुक्रवारसम्म प्रदेशका अधिकांश पालिकाका आफ्ना उम्मेदवारको नामावली माथिल्ला कमिटीमा सिफारिस गरिसकेको छ । लामो समयदेखि उम्मेदवार चयनका लागि संयुक्त बसाइँमा रहेका सत्तारुढ दलहरू मनोनयन दर्ताको एक दिन मात्र बाँकी रहुञ्जेल पनि अन्योलमै रहेका छन् । गठबन्धन दलका प्रदेशस्तरीय एक नेताले साझा सहमति बिलम्ब भएपछि आ–आफ्नो दलले उम्मेदवार सिफारिस गर्न थालेको जनाए । उनका अनुसार अहिले सिफारिसमा परेकाहरूलाई गठबन्धनको सिट बाँडफाँटसम्बन्धी एकमुष्ट निर्णय आए फिर्ता बोलाइने छ ।

सत्ता साझेदार एवम् गठबन्धनको अर्को दल नेकपा ‐माओवादी केन्द्र) ले पनि शुक्रवारसम्म धेरै पालिकामा आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । छलफल जारी रहे पनि संयुक्त उम्मेदवार चयनमा ढिलाइ हँुदा उम्मेदवारको नामावली सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको हो । निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलमा उम्मेदवार भागबन्डा थप पेचिलो बनिरहेको छ । साझा उम्मेदवार टुँगो लगाउन नसकेका गठबन्धन दलहरूले आ–आफ्ना पार्टीबाट भने धमाधम नाम सिफारिस गरिरहेका हुन् । माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसीले गठबन्धन सहमतिको अन्तिम विन्दुतर्फ उन्मुख भएको बताए । उनले भने, ‘बैठक जारी छ, सकभर निश्कर्षमा पुग्ने प्रयास भइरहेको छ । आज ‐शुक्रवार) नै सिट बाँडफाँट टुङ्गिने सम्भावना बलियो छ ।’ दश वटै जिल्लाका पालिका र वडाहरूको भागबन्डामा लगभग सहमति नजिक पुगेको उनको दाबी छ । गठबन्धनको प्रदेश संयन्त्रको बैठक शुक्रवार साँझसम्म जारी थियो ।

गठबन्धनको भागबन्डा मिलाएर साझा उम्मेदवार तयार गर्न निरन्तर छलफलमा रहेका नेताहरूले अन्तिम समयमा आएर सबै दलहरूले लचकता देखाएको जनाएका छन् । यसअघि आ–आफ्नै दाबी र अडानका कारण सिट भागबन्डामा सहमति जुटाउन नसकिएको बताउने गरिएको थियो । निर्णय गर्नुपर्ने समय घर्किनै लाग्दा दलहरू सहमति नजिक पुग्न थालेको नेताहरूको भनाइ छ । नेपाली कांग्रेसका एक नेताका अनुसार अन्य जिल्लामा सहमति भइसकेको भएपनि सुर्खेतमा कुरा नमिल्दा संयन्त्रको बैठकले निर्णय गर्न सकिएको छैन । उनले भन्छन्, ‘कुरा सुर्खेतका स्थानीय तहको भागबन्डामा अड्किएको छ, अन्य जिल्लामा मिलिसकेको अवस्था हो ।’

गठबन्धन अलमलकै अवस्थामा

भएपनि नेकपा ‐एमाले) ले भने करिब–करिब सबै पालिकाको उम्मेदवार सिफारिस भइसकेको जनाएको छ । कर्णालीमा गठबन्धन दलभन्दा एमाले उम्मेदवार सिफारिसमा अगाडि देखिएको छ । एमाले कर्णाली प्रदेश कमिटीका अनुसार ७९ मध्ये शुक्रवारसम्म ९० प्रतिशतभन्दा बढी पालिकाबाट उम्मेदवारका नाम सिफारिस भएर आइसकेका छन् । शनिवारसम्म उम्मेदवार टुङ्ग्याउने तयारी एमालेको छ । एमालेले वीरेन्द्रनगरको उम्मेदवारका लागि पनि नाम सिफारिस गरिसकेको छ । प्रदेशमै सबैभन्दा बढी महŒवका साथ हेरिएको वीरेन्द्रनगरको प्रमुखका लागि एमालेले तीन जनाको नाम प्रदेश कमिटीमा पठाएको हो । नगर प्रमुखमा एमालेका केन्द्रिय सदस्य तथा हालका उपप्रमुख मोहनमाया ढकाल, जिल्ला अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणि देवकोटाको नाम सिफारिस गरिएको छ । त्यस्तै, वीरेन्द्रनगरको उपप्रमुखमा नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल, मधुरानी ढकाल र टीका अधिकारीको नाम सिफारिस गरिएको एमाले स्रोतले जनायो ।

कांग्रेसको वीरेन्द्रनगर कमिटीले पनि नगरका उम्मेदवारका नाम सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटीले वीरेन्द्रनगरको प्रमुखमा तीन र उपप्रमुखमा तीन जनाको नाम माथिल्ला पार्टी कमिटीमा पठाएको हो । नगर प्रमुखमा जिल्ला उपसचिव हरि विष्ट, वीरेन्द्रनगर नगर सभापति उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरिएको छ । त्यस्तै, उपप्रमुखमा रामकुमारी थापा, शान्ति सिंह र यमुना सापकोटाको नाम पठाइएको छ । यद्यपि, सिफारिस भएका यी नाममा भने कतिपयले असन्तुष्टि जनाएका छन् । असन्तुष्ट पक्षले क्षेत्रीय कमिटीमा यसबारे उजुरी दिने बताएका छन् ।

प्रकाशित मितिः   १० बैशाख २०७९, शनिबार ०५:०८