पारिश्रमिकबाट अक्षयकोष स्थापना
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पाँच वर्षे कार्यकालको पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित सुवेदीले यो अवधिमा राज्यबाट प्राप्त गरेको तलव र भत्ता वापतको रकम विपन्न समुदायका लागि खर्च गर्ने भएका हुन् । सोही उद्देश्यले अक्षयकोष खोलिएको उनले जनाए । पारिश्रमिक वापतको १३ लाख ५० हजार रूपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरूलाई सहयोग गर्ने बताइएको छ ।
गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडीएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम एवम् प्राविधिक शिक्षा प्रदान गर्ने ध्येयका साथ रविजगत फाउन्डेसको स्थापना गरिएको सुवेदीले बताए । उक्त फाउण्डेसनले सामाजिक क्षेत्रमा समेत काम गर्ने बताइएको छ । ‘फाउन्डेसनले प्रचलित कानुनको अधिनमा रही सम्बन्धित निकायबाट अनुमति र इजाजत प्राप्त गरी उद्देश्य कार्यान्वयनका लागि काम गर्नेछ,’ सुवेदीले भने । फाउण्डेसन गैर राजनीतिक र मुनाफारहित हुने उनको भनाइ छ ।
प्रकाशित मितिः १० बैशाख २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।