उम्मेदवार टुङ्ग्याउन ढिलाइ

सुर्खेत: स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । मनोनयन गर्न अब दुई दिन मात्र बाँकी छ । चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा भने अझै उम्मेदवारको भागबन्डा मिलेको छैन । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण गठबन्धन संयन्त्र ठोस निर्णयमा पुग्न नसकेको हो । उम्मेदवारको सिट बाँडफाँटमा ढिलाइ भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा ‐एकीकृत समाजवादी)ले आकांक्षीका नाम आ–आफ्ना पार्टीका माथिल्ला कमिटीमा सिफारिस गर्न थालेका छन् ।

एकमुष्ट उम्मेदवारी टुङ्ग्याउन मुस्किल देखेको कांग्रेस सुर्खेतले जिल्लाका सबै स्थानीय तहका कमिटीलाई वडा र पालिकाका उम्मेदवारका नाम पठाउन निर्देशन गरेको छ । तर, कहिलेसम्म सिफारिस गरिसक्ने भन्नेबारे केही खुलाइएको छैन । कांग्रेस सुर्खेतले जारी गरेको सूचनामा त्यसरी सिफारिस भइ आएका उम्मेदवारलाई गठबन्धन दलहरूबीच सिट बाँडफाँट भए फिर्ता बोलाउन सक्ने बताइएको छ । कांग्रेसले कर्णालीका सबैजसो जिल्लामा पार्टीले आन्तरिक रूपमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइएको जनाएको छ । यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आफ्ना उम्मेदवार सिफारिस गर्ने कामलाई तीव्रता दिएका छन् । गठबन्धनमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेपनि भागबन्डाको विषय नमिलेको हो । चुनावी तालमेल गरेका दलहरूले एकमुष्ट सिट बाँड्ने भनिएपनि त्यसको कार्यान्वयनमा जटिलता देखिएको छ । कर्णालीका केही जिल्लामा सत्तारुढ गठबन्धन दलहरूले तालमेल नै नगर्ने निर्णय गरिसकेका छन् । बाँकी रहेका जिल्लामा पनि मतभेद र अन्योल कायमै छ । गठबन्धनमा सहमति जुटाउन गाह्रो भएपछि दलहरू आन्तरिक उम्मेदवार सिफारिसमा लागेका हुन् ।

माओवादी केन्द्रले कर्णालीमा ९० प्रतिशत उम्मेदवार सिफारिसको काम टुङ्गाएको जनाएको छ । माओवादी केन्द्रले धेरै पालिकामा सर्वसम्मत उम्मेदवार सिफारिस भएर आएको बताएको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीका स्थानीय कमिटीहरूले उम्मेदवारको नाम सिफारिसलाई तीव्रता दिइरहेको बताइन् । ‘उम्मेदवारको नाम सिफारिसको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन् । गठबन्धनमा सिट मिलाउन भने सकस भइरहेको उनको भनाइ छ ।

एकीकृत समाजवादीले पनि अधिकांश पालिकाबाट उम्मेदवारका नाम सिफारिस भएर आइसकेको जनाएको छ । सिट बाँडफाँटका लागि गठबन्धनको निर्णयको पर्खाइमा रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । वडा र पालिकाका उम्मेदवारको सिट बाँड्न नियमितजसो बसिरहेका जिल्ला गठबन्धनका बैठकले निर्णय गर्न नसकेपछि बुधवारदेखि प्रदेश संयन्त्र क्रियाशील बनेको छ । बुधवार बसेको गठबन्धनको प्रदेश संयन्त्रले पनि यसबारे कुनै निर्णय गर्न भने सकेन । केन्द्रको निर्णयलाई आत्मसात् गर्दै ढिलोचाडो सहमतिमा जानुको विकल्प नरहेको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा बताउँछन् । ‘आन्तरिक रूपमा गठबन्धन दलहरूले उम्मेदवार सिफारिस गरिसकेका छन्,’ उनले भने, ‘एकमुष्ट भागबन्डा गरेर साझा उम्मेदवार बनाउने गरी हामी घनीभूत छलफलमा छौँ ।’

पर्ख र हेरको रणनीतिमा एमाले

अधिकांश स्थानीय तहबाट सिफारिस आइसकेको नेकपा ‐एमाले) ले पनि उम्मेदवारका नाममा निर्णय गर्न ढिलाइ गरिरहेको छ । पछिल्ला दिनमा एमाले गठबन्धनको निर्णय हेरेर आफ्ना उम्मेदवार टुङ्ग्याउने रणनीतिमा देखिन्छ । एमाले नेताहरूका अनुसार गठबन्धका दलले चुनावमा उठाउने व्यक्तिको ‘प्रोफाइल’ हेरर आफ्ना उम्मेदवार टुङ्ग्याउने योजनामा छ । सत्तारुढ गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिन लागेको एमालेलाई केही साना दलहरूले पनि समर्थन गरेका छन् । तर, कर्णालीमा ती दलको जनमत भने न्यून छ । एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले प्रदेशस्तरमा एमालेले कुनै दलसँग तालमेल गर्ने निर्णय नगरेको जनाए । उनका अनुसार एमालेका जिल्ला कमिटीहरूबाट प्रदेशमा उम्मेदवारको सिफारिस आउनेक्रम जारी छ । बुधवारसम्म प्रदेशका पाँच वटा जिल्लाले उम्मेदवारको सिफारिस नामावली पठाएका छन् । मुगु, जाजरकोट, रूकुम–पश्चिम र दैलेखका सबै स्थानीय तहबाट एमालेले उम्मेदवार सिफारिस गरेको हो । ‘सबै जिल्लाको नामावली आएको खण्डमा बिहीवारदेखि नै प्रदेशले सिफारिस नामका विषयमा निर्णय गर्नेछ,’ शाहले भने, ‘हामीले १० गते अघि नै प्रदेशमा उम्मेदवारको नाम सिफारिस गरिसक्न जिल्लालाई निर्देशन गरेका छौँ ।’ ढिलोमा शुक्रवारसम्म दशवटै जिल्लाका स्थानीय तहबाट उम्मेदवारहरूको नामावली आइसक्नेछ उनले बताए । एमालेका स्थानीय कमिटीहरूले केहीमा मतदान र कतिपयमा सर्वसम्मत् रूपमा उम्मेदवारका नामावली सिफारिस गरेका हुन् ।

भनसुन गर्नेको भिड

एमालेमा वडाको टुँगो जिल्ला कमिटी र पालिकाका उम्मेदवारको अन्तिम निर्णय प्रदेश र पार्टी केन्द्रले लगाउने बताइएको छ । स्थानीय तहको उम्मेदवारमा सिफारिस भएकाहरू टिकट निश्चित गर्नका लागि भनसुनमा लागेका छन् । उनीहरू एमाले प्रदेश कार्यालयमा भिड थालेका हुन् । बुधवार दिउँसो नेताहरूलाई भेट्नेको प्रदेश कार्यालयमा बाक्लो उपस्थिति देखिन्थ्यो । उम्मेदवार सिफारिसमा परेकाहरू प्रदेशस्तरका नेतालाई भेटेर आफ्नो नाममा ‘लविङ्’ गरिरहेका छन् । पालिका अध्यक्षको सिफारिसमा परेका दैलेखका एक जना उम्मेदवारका आंकाक्षीले नेताहरूलाई आफ्ना कुरा राख्न सुर्खेत झरेको सुनाए । उनी भन्छन्, ‘स्थानीय कमिटीले सिफारिस त गरेको छ, सोहीअनुसार जिल्लाले पनि प्रदेशमा नामावली पठायो । अब यहाँबाट के हुने हो थाहा छैन ।’ उनले आफूसहित तीन जनाको नाम पालिकाका प्रमुखका लागि सिफारिस भएकाले भनसुन गर्नुपर्ने बाध्यता रहेको जनाए । अहिले वडाका लागि सिफारिस भएकाहरू जिल्ला र पालिकाको सिफारिसमा परेकाहरू प्रदेश कमिटीमा धाउन थालेका छन् । सर्वसम्मत भएर आएका ठाउँमा टुङ्ग्याउन सहज भएपनि दुई भन्दा बढी नाम पठाइएका स्थानको उम्मेदवार चयनमा सकस हुने देखिएको नेताहरूको भनाइ छ ।

प्रकाशित मितिः   ९ बैशाख २०७९, शुक्रबार ०५:०५