सुर्खेतमा सिमेन्ट उद्योग: दुई वर्षभित्रै उत्पादन सुरु
सुर्खेत: सुर्खेतमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । सुर्यतारा सिमेन्ट उद्योग स्थापनाका लागि प्रक्रिया अघि बढेको हो । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी थालेको हो ।
बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी उत्खनन् गरिने छ । लखरपाटामा करिव ९० वर्षका लागि पुग्ने चुनढुंगा रहेको अनुमान गरिएको छ । उद्योग भने चौकुने गाउँपालिमा रहनेछ । राष्ट्रिय राजमार्ग (महेन्द्र राजमार्ग) को पहुँच नजिकै भएकाले चौकुनेमा उद्योग स्थापना गर्न लागिएको बताए । उद्योगका लागि २२ मेगावाट विद्युत आवश्यक पर्छ । नेपाल विद्युत प्राधिकरणले कैलालीको चिसापानी हुँदै सुर्खेतको चौकुनेसम्म विद्युत विस्तारको काम गरिरहेको छ ।
उद्योगका लागि चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुँग्याएको छ । सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको प्रक्रियामा रहेको जानकारी दिए ।
करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने जनाइएको छ । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरिएको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गने उनले जनाए ।
उद्योगका प्रतिनिधिहरूले सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर आवश्यक सहयोग तथा सहजीकरण गरिदिन अनुरोध गरेका छन् । मुख्यमन्त्री शाहीले कर्णालीमा बाह्य लगानी भिœयाउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने जवाफ दिएका छन् । उनले खानी र उद्योगसम्म सडक तथा पानी पु¥याउन प्रदेश सरकारले तत्काल काम थालनी गर्ने समेत बताए । साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने बताए ।
प्रकाशित मितिः ६ बैशाख २०७९, मंगलवार ०५:०२
साझा बिसौनी ।