विपद् प्रतिकार्यमा उदासीन

सुर्खेतका ६ पालिकामा छैनन् दमकल

सुर्खेत: हावाहुरीको याम सुरु भएसँगै आगलागीको जोखिम बढेको छ । कतिपय ठाउँमा आगलागीका घटना हुन थालेका छन् । आगलागीलगायतका विपद् व्यवस्थापनमा भने स्थानीय सरकारले कमै चासो दिएको देखिन्छ । विपद्पूर्वका तयारी र क्षति न्यूनीकरणमा अधिकांश पालिकाहरू उदासीन भएका हुन् । सुर्खेतमा गर्मीयाममा बर्सेनि आगलागीका घटना हुँदा जनधनको क्षति हुँदै आएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये तीन वटामा मात्रै अग्नि नियन्त्रक ‐दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । अन्य ६ पालिकामा भने दमकल छैनन् । ती पालिकाका बस्तीहरूमा आगलागी हुँदा क्षति बढी हुने गरेको हो ।

दमकल नभएका पालिकाले बस्तीका सबै ठाउँमा सडक नपुगेका कारण प्राथमिकतामा पर्न नसकेको जनाएका छन् । सडक सञ्जाल पुगेका र बजार क्षेत्रका बस्तीमा भने दमकलको महसुस गरिए पनि खरिद गरिएका छैनन् । वीरेन्द्रनगर, भेरीगंंगा र गुर्भाकोट नगरपालिकाले आवश्यकताका आधारमा दमकल व्यवस्थापन गरिएको जनाएका छन् । लेकवेशी र पञ्चपुरी नगरपालिका तथा सिम्ता, गुर्भाकोट, चिङ्गाड र चौकुने गाउँपालिकामा दमकल छैन । यी स्थानीय तहले दमकल खरिदको योजनासमेत नबनाएका हुन् । लेकवेशी र पञ्चपुरी नगर क्षेत्रभित्र थुप्रै बाक्ला बस्तीहरू छन्् । त्यहाँ आगलागीको जोखिम रहेका बजारहरू छन् । हरेक वर्ष आगलागीजन्य घटना पनि भइरहन्छन् । नगरपालिकामा नै दमकल नहुँदा आगलागीबाट क्षति बढी हुने गरेको स्थानीयले बताएका छन् । सिम्ता, गुर्भाकोट, चिङ्गाड र चौकुने गाउँपालिकाका धेरैजसो बस्तीमा सडक पुगेको छ । ती स्थानीय तहका बस्तीहरू आगलागीको उस्तै जोखिममा छन् । तर, सबै स्थानमा सडक नभएकै कारण दमकलको महसुस नगरिएको जनप्रतिनिधिहरूको जिकिर छ ।

वीरेन्द्रनगर नगरपालिकाले झन्डै तीन वर्ष अघिदेखि दमकल सञ्चालन गरिरहेको छ । बढ्दो सहरीकरणको अवस्थालाई ध्यानमा राखी हुनसक्ने जोखिम न्यूनीकरण गर्न दमकल सञ्चालन गरिएको नगर उपप्रमुुख मोहनमाया ढकालले बताइन् । ‘प्रदेशको राजधानीसमेत रहेको नगरपालिका भएकाले पनि यो विषयलाई प्राथमिकतामा राखिएको हो,’ उनले भनिन्, ‘अहिले नगर क्षेत्रमा आगलागी हुनासाथ दमकल तत्कालै पुग्छ । यसले क्षति कम गर्न ठूलो मद्दत भइरहेको छ ।’ दमकल सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकामा पाँच जना तालिमप्राप्त जनशक्तिको व्यवस्था गरिएको छ । नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुुख प्रकाश पौडेलका अनुसार १०१ मा फोन आएलगतै घटनास्थलमा दमकल लिएर अग्नि नियन्त्रण गर्ने टोलि पुुग्छ । उनले महिनामा नगरभित्र चार÷पाँच वटा आगलागीका घटना भइरहेको जनाए । वीरेन्द्रनगरमा सञ्चालनमा रहेको दमकलको क्षमता भने कम छ । अग्लो घरहरूमा सेवा दिन कठिनाइ भइरहेको बताइएको छ । पानीको समस्याका कारण पनि दमकल सेवा दिन चुनौति हुने गरेको पौडेल बताउँछन् । पानीको समस्या हुन थालेपछि नगरले अब पाँच हजार लिटर पानी स्टक राख्ने गरी योजना बनाएको छ ।

भेरीगंगा नगरपालिकाले पनि झन्डै तीन वर्षदेखि दमकल सेवा दिँदै आएको छ । दमकल सञ्चालनमा आएपछि आगलागीजन्य घटनाबाट हुने क्षति कम गर्न सहज भएको नगर उपप्रमुख रेणुु आचार्यले जनाइन् । उनका अनुसार दमकल सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन समेत गरिएको छ । भेरीगंगामा सञ्चालित दमकल आसपासका पालिकाहरूमा पनि आगो नियन्त्रणका लागि पठाउने गरिएको छ । गुर्भाकोट नगरपालिकाले एक महिना अघिमात्र दमकल खरिद गरी ल्याएको छ । चालु आर्थिक वर्षमा विनियोजित ६० लाख बजेटबाट दमकल खरिद गरिएको नगर प्रमुख हस्त पुनले बताए । नगरमा अतिआवश्यक ठानेर दमकल ल्याइएको उनले जनाए । ‘मानवीय जीवनसँग जोडिएको सवाल भएकाले दमकल सेवा सुरु गरेका हौँ,’ उनी भन्छन्, ‘अब आगलागीबाट हुने नोक्सानीमा कमी आउने छ ।’ गुर्भाकोटमा दमकल सञ्चालनका लागि नगरपालिकाबाटै कर्मचारी परिचालन गर्ने गरिएको छ । नगरले दमकल सेवाको कार्यविधि नै पास गरेर सोहीअनुसार सेवा दिने तयारी गरेको छ ।

चौकुुनेमा भौगोलिक कारणले पनि दमकल प्राथमिकतामा नरहेको गाउँपालिकाका अध्यक्ष धिरबहादुुर शाही बताउँछन् । ‘सबै बस्तीमा दमकल पुुग्ने अवस्था छैन, पालिकाका आधारभूत आवश्यता नै नपुुगेका बेला दमकल प्रमुुख ठानेनौँ,’ उनले भने । बराहताल, सिम्ता र चिङ्गाडले पनि दमकलको आवश्यकता ठानेका छैनन् । भूूगोलका हिसाबले दमकल प्राथमिकतामा नपरेको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुुर बस्नेतले बताए । उनले भने, ‘दमकल खरिदका लागि अहिले नै योजना बनाएका छैनौँ, अब आउने जनप्रतिनिधिले खरिद गर्ने योजना बनाए राम्रै होला ।’ पञ्चपुुरी नगरपालिकामा दमकलको आवश्यकता महसुुुुस भएपनि खरिद गर्न नसकिएको नगरप्रमुुख उपेन्द्रबहादुुर थापाले बताए । ‘यो कार्यकालमा पूरा गर्न सकिएन, अब आउने जनप्रतिनिधिले योजनामा राख्नुपर्ने देखिन्छ,’ उनले भने । लेकवेशी नगरपालिका पनि दमकलविहीन छ । आवश्यक देखिए पनि आर्थिक समस्याका कारण यो विषय प्राथकितामा पर्न नसकेको बताइएको छ ।

प्रहरीकाअनुसार खासगरी सुख्यायाममा आगलागीका घटना धेरै बढ्ने गरेका छन् । हरेक गर्मीयाममा वन तथा बस्तीमा आगलागीजन्य घटना हुने गरेका हुन् । आगलागीबाट ठूलो नोक्सानी भइरहे पनि स्थानीय सरकार भने यसप्रति गम्भीर बनेका छैनन् । आगलागीजस्ता विपद्को प्रतिकार्य योजनामा स्थानीय सरकारले बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित मितिः   ५ बैशाख २०७९, सोमबार ११:४८