मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

पाँच सय १९ विद्यार्थी दीक्षित हुने

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले मंगलवार दोस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । समारोहमा पाँच संकायका पाँच सय १९ विद्यार्थी दीक्षित हुने भएका छन् । विद्यार्थीलाई कुलपति, उपकुलपति र सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गर्न लागिएको हो । विश्वविद्यालयका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा समारोह हुनेछ । साथै, सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुने जनाइएको छ । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उपस्थिति रहनेछ ।

दीक्षान्त समारोह अघि विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्ने कार्यतालिका छ । दीक्षान्त समारोह प्रचार–प्रसार उपसमितिका संयोजक डा. लिलाधर तिवारीका अनुसार मानविकी तथा समाजशास्त्र संकायका एक सय ५२, व्यवस्थापनका एक सय २२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५, इन्जिनियरिङका एक सय ४५ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्न लागेको हो ।

प्रकाशित मितिः   ५ बैशाख २०७९, सोमबार ११:४६