स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, दैलेख

कांग्रेस–एमाले टक्कर, माओवादी कमजोर

२०७४ को स्थानीय निर्वाचनको परिणामअनुसार दैलेखमा सबैभन्दा बलियो पार्टी नेकपा (एमाले) हो । एमालेले जिल्लाका ११ स्थानीय तहमध्ये सात वटामा प्रमुख र उपप्रमुख जितेको छ । सबैभन्दा धेरै ५२ वडाअध्यक्ष समेत एमालेले जितेको छ ।

एमालेसँग प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसले चार प्रमुख, चार उपप्रमुखसहित ३३ वडाअध्यक्ष जितेको छ । नेकपा (माओवादी) केन्द्र भने दैलेखमा निकै कमजोर छ । उसले कुनै पनि पालिकाको प्रमुख, उपप्रमुख जितेको छैन । पालिका प्रमुख र उपप्रमुख मात्रै होइन एउटा वडाअध्यक्ष समेत माओवादीले जित्न सकेन । जिल्लाभर केवल एक वडासदस्यमा सीमित भएको छ ।

दैलेखमा माओवादीभन्दा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बलिया छन् । मजदुर किसान पार्टीले तीन वडाअध्यक्ष जितेको छ भने राप्रपाले एक वडाअध्यक्ष जितेको छ ।

जिल्लाको आठबीस नगरपालिकाको प्रमुखमा एमालेका खड्गराज उपाध्याय निर्वाचित हुँदा उपप्रमुखमा भने नेपाली कांग्रेसकी दिपा बोहोरा विजयी भएकी छिन् । उपाध्यायले तीन हजार नौ सय २७ मत पाएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमप्रकाश शाहीले तीन हजार आठ सय ८० र तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसान पार्टीका तर्कबहादुर बडुवालले दुई हजार एक सय चार मत पाए । उपप्रमुख बोहोराले भने सबैभन्दा धेरै चार हजार एक सय ८७ मत पाएक थिइन् । पालिकाका नौ वडामध्ये एमाले र कांग्रेसले चार÷चार र नेमकिपाले एक वडाअध्यक्ष जितेका छन् ।

यस्तै गुराँस गाउँपालिका भने कांग्रेसले जितेको छ । अध्यक्षमा खेमराज वलीले चार हाजार एक सय ६४ मत पाएर निर्वाचित भएका थिए । एमालेका प्रेमबहादुर खड्काले तीन हजार चर सय २३ र माओवादीका कृष्णप्रसाद पाण्डेले चार सय ९९ मत पाउँदा नेमकिपाका उदयजंग शाहीले तीन सय ६ र राप्रपाका रतिमान खड्काले दुई सय २२ मत पाएका छन् ।

गुराँसको उपाध्यक्षमा कांग्रेसकै दिपाकुमारी बिसी विजयी भएकी छिन् । यस पालिकाको वडामा पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । दुवै दलले समान चार÷चार वडाअध्यक्ष जितेका छन् ।

चामुन्डाविन्द्रासैनी नगरपालिकाको प्रमुखमा एमालेका सूर्यबहादुर शाही छन् । उनले दुई हजार सात सय ७३ मत पाउँदा कांग्रेसका गणेशकुमार शाहीले दुई हजार ६ सय ७० र माओवादीका रणबहादुर खड्काले आठ सय १३ मत मात्र पाए ।

उपप्रमुखमा एमालेकै ताराकुमारी खत्री दुई हजार नौ सय ५४ मत पाएर निर्वाचित भइन् । ६ वडाअध्यक्ष एमालेले जित्दा दुई नेपाल मजदुर किसान पार्टी र एउटा कांग्रेसले जितेका छन् ।

ठाँटीकाँध गाउँपालिका पनि एमालेले जितेको छ । एक हजार नौ सय २४ मत पाएर धीरबहादुर शाही अध्यक्ष भए । कांग्रेसका रक्षबहादुर शाहले एक हजार पाँच सय ६२, माओवादीका योगेन्द्र विक्रम थापाले एक हजार तीन सय ६ र नेपाल मजदुर किसान पार्टीका जयबहादुर थापाले आठ सय ५८ मत पाए । उपाध्यक्षमा एमालेका सुस्मिता सिंह निर्वाचित भइन् । पाँच वडाअध्यक्ष एमाले र एउटा कांग्रेसले जितेको छ ।

डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर मल्ल निर्वाचित भएका छन् । उनले दुई हजार सात सय ८७ मत पाएका छन् । एमालेका मानबहादुर विष्टले दुई हजार चार सय ६९ र माओवादीका खगेन्द्रबहादुर पुन मगरले चार सय २३ मात्रै पाएका छन् । उपाध्यक्षमा कांग्रेसकाः सीता ज्ञवाली छिन् । डुङ्गेश्वरका चार वडाअध्यक्ष कांग्रेस र दुई एमालेका छन् ।

दुल्लू नगरपालिकाका धेरै वडा जितेर पनि पालिका प्रमुख भने एमालेले हारेको छ । प्रमुखमा कांग्रेसका घनश्याम भण्डारी विजयी भए । उनले ६ हजार तीन सय ४९ मत पाएका छन् । एमालेका बरुनाथ योगीले ६ हजार दुई सय ८० पाएका थिए भने माओवादीका ढकेन्द्रबहादुर शाहीले एक हजार नौ सय २३ पाएका छन् ।

उपप्रमुखमा भने एमालेका विष्णु थापा निर्वाचि भइन् । उनले ६ हजार चार सय ७८ मत पाएकी थिइन् । पालिकाका आठ वडाअध्यक्ष एमालेले जित्दा कांग्रेसले पाँचमा जितेको छ ।

आठ वडाअध्यक्षसहित नारायण नगरपालिकाको प्रमुख र उपप्रमुख पनि एमालेले जितेको थियो । प्रमुखमा रत्नबहादुर खड्काले चार हजार सात सय २५ मत पाएका थिए । कांग्रेसका मणिराम रेग्मीले चार हजार चार सय ५१ र माओवादीका दानबहादुर महताराले तीन सय ९९ मत मात्रै पाउँदा राप्रपाका गंगाराम बस्नेत ६ सय ११ मत पाएका थिए ।

उपप्रमुखमा पनि एमालेका सावित्री मल्ल निर्वाचित भएकी हुन् । कांग्रेसले पालिकाका तीन वडाअध्यक्ष मात्रै जितेको छ ।

नौमुल गाउँपालिका अध्यक्षमा तीन हजार एक सय ५२ मत पाएर कांग्रेसका भदे बुढा मगर निर्वाचि भए । एमालेका लिलबहादुर राम्जालीले दुई हजार ६ सय ४४ र माओवादीका छविराम सुवेदीले एक हजार ६ सय २८ मत पाए । उपाध्यक्षमा कांग्रेसका अमृता सिंह छिन् । पाँच वडाअध्यक्ष कांग्रेसले जित्दा तीन एमालेले जितेको छ ।

भगवतीमाई गाउँपालिका एमालेले जितेको छ । अध्यक्षमा निर्वाचित दानबहादुर थापाले दुई हजार तीन सय २९ मत पाउँदा कांग्रेसका दशरथ खड्काले एक हजार आठ सय ८९, माओवादीका गणेशबहादुर थापाले एक हजार ६ सय ७२ र राप्रपाका कमलबहादुर शाहीले ६ सय ५६ मत पाए । उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा रेग्मी निर्वाचित भइन् । चार वडाअध्यक्ष एमालेले जित्दा कांग्रेस र राप्रपाले एक÷एक वडा जितेका छन् । एउटामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित भएका छन् । एमाले उम्मेदवार बुढाले तीन हजार पाँच सय ८४ मत पाए । कांग्रेसका जनार्दन ज्ञवालीले तीन हजार ७७ र माओवादीका मणिराम विष्टले तीन सय एक मत पाए । उपाध्यक्षमा एमालेका पदमकुमारी विष्ट निर्वाचित भइन् । सात वडामध्ये चारमा एमाले र तीनमा कांग्रेसले जितेको छ ।

महावु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन् । उनले ती हजार पाँच सय २२ मत पाए । कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार नौ सय तथा माओवादीका जंगबहादुर बरालले सात सय ३३ मत पाएका छन् । उपाध्यक्षमा एमालेका प्रेमकुमारी बुढा निर्वाचित भएकी हुन् । महावुका चार वडाअध्यक्ष एमाले र दुई कांग्रेसले जितेको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७९, सोमबार ०५:०४