सल्यानमा गठबन्धन टुट्यो, एक्ला–एक्लै चुनावमा जाने सहमति

सल्यान : सत्तारुढ गठबन्धनका दलहरुबीच सल्यानमा चुनावी तालमेल नहुने भएको छ । आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनबीच सहमति हुन नसकेको हो ।

दलहरूबीच पालिकास्तरको भागबन्डामा सहमति नजुट्दा गठबन्धन नहुने भएको छ । अब दलहरु आ–आफ्नै तरिकाले चुनावमा जाने भएका छन् । नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतवार गठबन्धन संयन्त्रको बैठक बसेको थियो । बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय गरिएको विष्टले जानकारी दिए ।

सल्यानमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)बीच प्रतिस्पर्धात्मक अवस्था छ । २०७४ को स्थानीय निर्वाचनमा माओवादीले जिल्लाका तीन पालिका प्रमुख, चार उपप्रमुखसहित ३२ वडाअध्यक्ष जितेको थियो । त्यसैगरी कांग्रेसले तीन प्रमुख, तीन उपप्रमुख र २३ वडा अध्यक्ष जितेको छ । एमालेबाट टुक्रिएर गठन भएको नेकपा(एकीकृत समाजवादी)ले पनि एमालेले जितेका जति पालिकामा भाग खोजेको छ । एमालेले अघिल्लो निर्वाचनमा चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडाअध्यक्ष जितेको थियो ।

प्रकाशित मितिः   ४ बैशाख २०७९, आईतवार १८:१७