निर्वाचनमा केन्द्रीत हुन निर्देशन

सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले प्रदेश नम्बर ६ का कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनमा केन्द्रति हुन निर्देशन दिएका छन् । सोमवार वीरेन्द्रनगरमा पार्टी निकट ट्रेड युनियन कांग्रेसको प्रदेश नम्बर ६ स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थानीले छिटै स्थानीय निर्वाचन हुने भएकाले युद्धस्तरमा खटिन निर्देशन दिए । ‘स्थानीय निर्वाचनका विषयमा प्रमुख दलहरुबीच सहमति जुट्दैछ । केही दिनभित्र मिति घोषणा हुन्छ’ उनले भने, स्थानीय निर्वाचनमा कांग्रेसले पराजय भोगेको त्यसको असर प्रदेशको चुनावमा पनि पर्नसक्छ । केन्द्रको निर्देशनबमोजिम जनवर्गीय संगठनहरु अहिलेदेखि चुनावमा लाग्न जरुरी छ ।’

यस्तै सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गरेपनि कांग्रेसकै हालिमुहाली रहेको उनले बताएका छन् । कांग्रेसले नेतृत्व नगरेपनि हालीमुहाली कांग्रेसकै भएको उनले बताएका छन् । ‘प्रधानमन्त्री हाम्रो पार्टीको नभएपनि सरकारमा बसेका कांग्रेसका मन्त्रीहरुले जनताको पक्षमा काम गर्न सकिने अवस्था छ । थुपै्र काम गर्न सक्छौं । गरिरहेका पनि छौं,’ कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले भने, ‘सरकारको नेतृत्व माओवादीले गरेपनि काम गर्नसक्ने अवस्था हाम्रो पनि छ ।’
पार्टी निकट ट्रेड युनियन र शिक्षकका समस्या समाधान गर्न आफूले सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गर्ने बताए । भेलामा बोल्ने अधिकांश वक्ताले निजामति, सैनिक, प्रहरीको अस्पताल भएपनि मजदुरको बेग्लै अस्पतालको नभएको भन्दै पार्टीले यसका लागि पहल गर्न अनुरोध गरेका थिए ।

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १९:४२