कर्णालीका चार सय मतदान केन्द्र संवेदनशील

सुर्खेत: स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशका चार सयभन्दा बढी मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संवेदनशीलतालाई वर्गीकरण गरेहो छ ।

आयोगका अनुसार सुरक्षाका दृष्टिले कर्णालीमा चार सय चार वटा मतदान केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ । त्यसैगरी अति संवेदनशील मतदान स्थल दुई सय ९४ वटा छन् । अन्य दुई सय आठ वटालाई सामान्यको सूचीमा राखिएको छ ।

वर्गीकरणअनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र छन् । मधेस प्रदेशमा एक हजार ६५ वटा मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । मधेसमा संवेदनशील मतदान केन्द्र आड सय ८९ र सामान्य मतदान केन्द्र दुई सय नौ वटा छन् । सीके राउत नेतृत्वको जनमत पार्टीको उच्छृङ्खल गतिविधि र खुला सिमानाबाट हतियार ओसार–पसार हुँदा आउने सुरक्षा चुनौतीका कारण मधेसका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

प्रदेश–१ मा तीन सय २१ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् । प्रदेश–१ मा आठ सय ४८ वटा मतदान स्थललाई संवेदनशील र सात सय नौ वटालाई सामान्य वर्गीकरण गरिएको छ । वाग्मती प्रदेशमा तीन सय १० मतदान स्थल अति संवेदनशील सूचीमा छन् । वाग्मतीमा ६ सय ७१ वटा संवेदनशील र आठ सय ११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ । गण्डकी प्रदेशमा अति संवेदनशील मतदान स्थल सबैभन्दा थोरै छन् । गण्डकीमा अति संवेदनशीलको सूचीमा दुई सय ८५ वटा मतदान स्थल छन् । त्यहाँ पाँच सय ४६ वटा संवेदनशील, चार सय २२ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ । लुम्बिनी प्रदेशमा तीन सय ४४ वटा अति संवेदनशील, ६ सय ५५ वटा संवेदनशील र ६ सय ३० वटा सामान्य मतदान केन्द्रको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशमा तीन सय २७ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सुदूरपश्चिममा चार सय १० वटा संवेदनशील र तीन सय ९८ वटा सामान्य मतदान स्थल छन् ।

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा तीन जना प्रहरी र आठ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप एक प्रहरी र दुई जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । सामान्य मतदान स्थलमा तीन प्रहरी र पाँच म्यादी, संवेदनशील मतदान स्थलमा तीन प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७९, शनिबार ०५:०१