केन्द्रको निर्णय कुर्दै गठबन्धन, उम्मेदवार टुङ्ग्याउँदै एमाले

सुर्खेत: आउँदो वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटको प्रक्रियामा लागेका छन् । गठबन्धन दलमा भागबन्डाको छलफल जारी नै छ भने नेकपा ‐एमाले) मा उम्मेदवार सिफारिसको चटारो छ । वडा र पालिकाको उम्मेदवार चयनमा जुटेको एमालेले कतिपय ठाउँमा सर्वसम्मत र केहीमा आकांक्षीहरूका नामावली माथिल्ला कमिटीमा सिफारिस गरिसकेको छ । कतिपयमा उम्मेदवार छनोटका लागि बैठकहरू भइरहेका एमाले नेताहरूले बताएका छन् । एमालेले वडाबाट उम्मेदवारको नाम पठाउन स्थानीय कमिटीहरूलाई चैत मसान्तसम्मको समय दिएको छ ।

निर्वाचनका लागि तालमेल गर्ने सहमति गरेका सत्तारुढ दलहरू भने निर्वाचन नजिकिँदै जाँदा भागबन्डा कसरी मिलाउने भन्ने कसरतमै केन्द्रित छन् । उनीहरू उम्मेदवार टुङ्ग्याउनेबारे ठोस निर्णयमा अझै पुग्न नसकेका हुन् । गठबन्धनमा रहेका जिल्लास्थित पार्टीहरूले प्रदेश र केन्द्रको निर्णय कुरिरहेको जनाएका छन् । केही सैद्धान्तिक आधारहरू तय गरेर छलफल अघि बढाइएपनि कसले कुन वडा तथा पालिकाका कुन पदमा उम्मेदवारी दिने भन्नेबारे निश्चित भइ नसकेको नेताहरूले बताएका छन् ।

गठन्धनको प्रमुख घटक नेपाली कांग्रेसले वडाबाट आफ्ना उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न छलफल र बैठकहरू भइरहेको जनाएको छ । कांग्रेसले केही वडामा उम्मेदवारको सिफारिस पनि गरिसकेको छ । तर, गठबन्धनका अन्य दलहरूमा आन्तरिक छलफल र तयारी मात्र भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले केही दिनयता कर्णालीका वडा तथा पालिकामा धमाधम उम्मेदवार छनोट गरिरहेको छ । प्रदेशभर नै स्थानीय कमिटीहरू उम्मेदवार छनोटमा जुटेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताए । ‘एमाले गठबन्धनसँग एक्लै भिड्दै छ । हामीले कसैलाई कुर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘अहिले वडा र केही पालिकाका उम्मेदवार पनि सर्वसम्मत छनोट गर्ने काम भइरहेका छन् ।’ अध्यक्ष शाहका अनुसार आइतवार दिउँसोसम्म प्रदेशभरका २७ वटा वडाबाट उम्मेदवारका आकांक्षीहरू माथिल्ला कमिटीहरूमा सिफारिस भएका छन् । त्यस्तै, एउटा पालिकाको प्रमुखमा एमालेले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले सूर्यबहादुर शाहीलाई निर्विरोध उम्मेदवारका रूपमा अघि सारेको हो । नगर प्रमुखको उम्मेदवारमा सिफारिस भएका शाही एमाले दैलेखको अध्यक्षमा पराजित भएका थिए । सोही पालिकाका अन्य पद र वडाहरूको उम्मेदवारी यही चैत ३० गतेभित्र टुँगो लगाइने जनाइएको छ । त्यसका लागि आवश्यक छलफल भइरहेको नेताहरूले बताएका छन् ।

वडा तथा गाउँ–नगरको उम्मेदवार टुङ्ग्याउने कामलाई तीव्रता दिएको एमालेले स्थानीय तहमा कसैसँग तालमेल गर्ने पार्टी केन्द्रको निर्णय नरहेको जनाएको छ । प्रदेश अध्यक्ष शाहले स्थानीयस्तरमा कसैले तालमेल गर्ने प्रस्ताव गरे आवश्यकता र औचित्यअनुसार अघि बढ्न भने सकिने बताए । कसैले मिलेर जान चाहे इन्कारै गर्ने नीति नरहेको उनी बताउँछन् । ‘मूलतः एमाले निर्वाचनमा भिड्न एक्लै तयार छ । यदी मिलेर जाने सवालमा कसैले अनुरोध गरिहाले इन्कार गरिँदैन, त्यसको आवश्यकता भने पक्कै हेरिनेछ,’ उनले भने ।

२०७४ को निर्वाचनमा प्रदेशका ७९ मध्य २६ पालिका जितेको एमालेले अहिले २९ पालिकामा विजय हासिल गर्न सकिने आकलन गरेको छ । केही समय पहिले पार्टी केन्द्रलाई प्रदेश कमिटीले दिएको रिपोर्टअनुसार कर्णालीमा संगठन झनै मजबुत भएकाले थप स्थानीय तह जित्न सकिने दाबी गरिएको हो । एमालेले स्थानीयस्तरका कमिटीहरूमार्फत त्यहाँको वास्तविक अवस्था संकलन गरी केन्द्रलाई बुझाएको जनाएको छ । नेताहरू यस्तो दाबी गरिरहँदा यसपटक भने एमालेलाई विभाजनको असर पर्ने कतिपयको अड्कलबाजी छ ।

अहिले एमाले विभाजन भएपश्चात् नयाँ दल नेकपा ‐एकीकृत समाजवादी) बनेको छ । उक्त दल सत्तारुढ गठबन्धनमा सामेल छ । पार्टी विभाजनपछि केही जनप्रतिनिधिले समाजवादी रोजेका कारण पनि एमालेलाई त्यसको ठूलो असर पर्नसक्ने बताइएको छ । पछिल्लो समय पार्टीमा प्रवेशको लहर चलेकाले विभाजनको क्षतिलाई सहजै पूर्ति गर्ने एमाले नेताहरूको जिकिर छ । एमालेले उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए थोरैका नाम सम्बन्धित माथिल्ला तहमा पठाउन स्थानीय कमिटीहरूलाई निर्देशन गरेको छ । अन्य दलजस्तै एमालेमा पनि वडा तथा पालिकाको उम्मेदवारका आकांक्षी भने धेरै देखिने गरेका छन् । नेताहरूका अनुसार बहालवाला जनप्रतिनिधिले नै फेरि दोहोरिने इच्छा देखाएकाले कतिपय ठाउँमा उम्मेदवार छनोटमा कठिनाइ देखिने गरेको छ ।

गठबन्धन दलहरूमा भने वडा र पालिकामा उम्मेदवार कसको बन्ने भन्नेबारे आ–आफ्नै दाबी छन् । कर्णालीका अधिकांश जिल्लामा चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका गठबन्धन दलहरूले आफ्नो पार्टीको बलियो जनधार भएका पालिकामा नेतृत्व लिने तयारी गरिरहेका हुन् । जिल्लास्तरमा छलफल र बैठकहरू भइरहे पनि प्रदेश र केन्द्रबाट आउने निर्णयका आधारमा नै उम्मेदवारको भागबन्डा हुने बताइएको छ ।

प्रकाशित मितिः   २८ चैत्र २०७८, सोमबार ०५:०५