निर्वाचन आचारसंहिता लागू

सुर्खेत: स्थानीय तहको निर्वाचनका लागि आचारसंहित लागू भएको छ । निर्वाचन आयोगले शुक्रवार रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, राजनीतिक दल, उम्मेदवार, मतदातालगायत सरकोकारवालाहरूले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

आयोगले सम्बन्धित सबै पक्षलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रहसमेत गरेको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सही ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचारसंहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेका छन् । आयोगले झण्डा, टिसर्ट, आमसभा, भेलालगायतका आचारसंहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको बिक्री वितरण र सेवनमा पूर्णनिषेध गर्न भनेको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरित नैतिक बन्धनको रूपमा रहेको कानुनी बन्धन भएको भन्दै राजनीतिक दल र सरोकारवालाले पूर्ण पालना हुने विश्वास गरेको छ । आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ ।

आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवार र दलहरू बाहेक सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्न नपाउने नियम बनाएको छ । आचारसंहितामा झोला, टिसर्ट, ब्याग छाप्न र वितरण गर्न समेत रोक लगाएको छ । राजनीतिक दल वा उम्मेदवारहरूले प्रचार–प्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म दलको झण्डा र सोही नापको चुनाव चिन्ह, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएकोले दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम गर्दा निर्वाचन अधिकृतको अनुमित लिई सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।

प्रकाशित मितिः   २६ चैत्र २०७८, शनिबार ०५:०१