सम्झनाको आधा यात्रा

यात्राहरू कहिले सुखद् हुन्छन्, कहिलेकाहीँ साह्रै दुखदायी पनि हुन्छन् । जस्तासुकै भए पनि ती सम्झना भविष्यमा त साह्रै रमाइला पो हुन्छन् ।

कुनै दिन चितवन नारायणघाट पुल्चोकबाट निर्धारित समयभन्दा एक घण्टा ढिलो छुट्यो सुर्खेतको यात्रा । बाह्र–चौध जना यात्री बोकेर बेलुका सात बजेतिर गैंडाकोटको महेन्द्र राजमार्गमा धुलो उडाउँदै पश्चिमी दिशा दौडिरहेको थियो हाम्रो बस । मेरो सिटको झ्यालतिर बसेका भलाद्मीले मुखमा दुईवटा मास्क खप्टाएर लगाएका थिए । कोलिया उतापट्टि पल्लो सिटमा मोटा जुँगा भएका र मोटै चस्मा लगाएका अर्का एक भलाद्मी थिए ।

‘मु त दङ प¥याँ लिखितमा नाम आइजाला भनी सोचेकै नाइँ त । कहरी (कसरी) नाम आइगोहोला ! इन्टरभिउमा त ढुक्क थियाँ, अब जागिर भैगो भन्यार कस्तो खुसी भैथ्याँ । पोछी त क्या बोर लाइगो भन्या ! आ, दिक्क हुन्यारछ त यो लोकसेवा…।’

हाम्रोबाट पछाडिको सिटमा बसेका महिला पुरुषले निरन्तर लोकसेवाको भजन गाइरहेका थिए ।

धुलो छेक्न हातले नाक छोपेको देखेर सिट पार्टनरले मलाई एउटा मास्क दिए ।

‘मास्क ? भो पर्दैन । मेरो झोलामा छ म झिकेर लगाउँछु ।’

‘मसँग छँदैछ झोलाबाट किन झिक्नुप¥यो, यो लिनुस न ।’

उनको आग्रहलाई टार्न सकिनँ । मलाई लागेको थियोे यिनले अब कोरोनाको प्रसंग उठाउँछन् । प्रसंग उठेमा मजाले बात मार्ने विचार थियोे । उनले त्यस्तो केही कुरा उठाएनन्, बरु मेरो परिचय मागे । हाम्रो सौहार्द चिनजानपछि उनले भने, ‘हामी त एउटै प्रदेशका पो रहेछौं ।’

‘हो त । देशभरी प्रदेश सरकार स्थापना भएपछि हेर्नुस् त हामीलाई कति सुविस्ता भएको छ । बाटोघाटो, बिजुलीबत्ति, पानी, मोबाइल फोन, ईन्टरनेट…।’

‘हा.हा.हा. ! भ्रष्टाचारले थला परेर देश उठ्नै नसक्ने भैसक्यो । आफ्ना कार्यकर्तालाई जागिर दिन, पाल्न र भाग पु¥याउनका लागि मात्र पो रहेछ यो प्रदेशको अवधारणा । छ्याः भ्रष्टाचारको अखडा ।’ उनले त्यसो भनेपछि झर्लक्क सम्झेँ, मैले सुर्खेत विमानस्थल विस्तारको मसान । तब मनमा कुरा पनि खेल्ने नै भए । सुर्खेतको मदानेचौरमा बर्सेनि मनग्ये पैसा खन्याएर ठूलो विमानस्थल निर्माणका लागि पटकपटक सर्वेक्षण गरी उचित ठह¥याइएकोमा, पछिल्ला दिनमा हुस्सु लाग्ने फगत कारण देखाई त्यताको निर्माण योजना रद्द गरी वीरेन्द्रनगर नेवारेतिर चारसय साठी मिटर थप विस्तार गरिने, भन्ने हल्ला हाम्रो घर घरमा पस्यो । हल्लाले निन्द्रा खोसिदियो । आखिरमा यो दीर्घकालीनरूपमा समाधान पनि त रहेनछ । विकासका नाममा विनास गरेर छोडिदिने, बजेट पूरापूर कागजमा खर्च गर्ने, बचाएको आधा भुँडीमा भर्ने । हामीले यो कालो संविधान र जनघाती भ्रष्ट संघीयतालाई किन मान्ने ? उनको र मेरो यो विषयमा मत मिल्यो । मैले जस्तै उनले पनि संघीयतालाई धिक्कारेँ, खुब सरापे ।

दाउन्नेको उकालो चढ्दै गर्दा हाम्रो गाडी जाममा प¥यो । पल्लो साइटमा रेलको झल्को दिनेगरी बस र ट्रकको लामै लत्को थियो । ‘उवाँ…उवाँ…’ बिलौना गर्दै चिच्याउँदै नजिकै एम्बुलेन्स रोइरह्यो । अगाडि बढ्ने उपाए कतै छैन । ठूलै चोट नपर्दासम्म कोही किन रुन्छ र ! तर जिन्दगीमा रोएर मात्र पनि पार पाइँदोरहेनछ ! हाम्रो अगाडि उभिएको ट्रक हिँड्यो, जाम खुल्यो । तत्काल हाम्रो गाडी स्टार्ट भैदिएन, फलस्वरूप आठ–दसवटा ट्रक बसले उछिने । गरुँगो भारी बोकेका, कुद्ने गति बढाउन नसक्ने दुईवटा बुढा ट्रकहरू हाम्रो अगाडि परे । अघिल्लो ट्रकको अगाडि लामै टाढासम्म सडक खाली खाली देखिन्छ, उछिन्ने र उछिन्न दिने सानो ठाउँ छैन । उकालो र ओरालोभरी रुग्ण ट्रकलाई पछ्याउँदै गुड्नु रहर होइन, धैर्यता बाहेक अर्को विकल्प थिएन । कार्य सफलता सबैलाई प्यारो लाग्छ, तर त्यसका लगि जिन्दगीमा धैर्यता पनि त चाहिँदो रहेछ ।

ओरालो सकिएपछि खुसी हुँदै उछिन्यो हाम्रो बसले ती सुस्त गतिका ट्रकलाई र जाँगर झिकेर एकछिन हुईंकियो । पेट्रोल पम्प नजिकै रहेकोे होटल अगाडि रोकियो जहाँ दुईवटा बस पहिल्यै रोकिएका थिए । होटलमा साँगुरा ढोका, कोचाकोच यात्रीहरू । लाइनमा लागेर पहिला कुपन किन्नुपर्ने, थाल समाएर भातका लागि फेरि लाइन लाग्नुपर्ने । यस्तो जात्रामा भात ! फर्केर आएँ, झोलामा छोरीले राखिदिएको जुस छँदै थियो, त्यही जुस जिन्दावाद ।

जुस खाँदै पेट्रोल पम्प अगाडितिर टहली रहेको थिएँ, मास्क फुकालेर ती डबल मास्कवाला नजिकै आएर भने, ‘सर मैले त उ त्यहाँ बाहिर चाउचाउ र अण्डा खाएँ ।’

‘ठीक गर्नुभयो, त्यत्रो हुलमुलमा कतिसम्म पालो कुरेर खानु खाना’ मैले भनेँ । मोटो चस्मावाला उता फर्केर चुरोट तानिरहेका थिए । यता फर्किए ठुटो उतै मिल्काए हामीतिर खिचिए र कुरा पनि मिसाए । ‘यिनिहरू विकल्प नभएको ठाउँमा ल्याएर गाडी रोक्छन् । वरिपरि अरु होटल छ त ? छैन नि ।’

‘होटलसँग यिनिहरूको कन्ट्याक्ट हुन्छ । हामीलाई होटलमा हुले बापत दुई हजार–पच्चीस सय भत्ता बुझ्छन् । पाँच जनासम्मलाई खाना फ्री हुन्छ’ डबल मास्कले भने ।

‘हाम्रो जीवनमा यिनिहरूले खेलवाड गर्न नपाउनु पर्ने हो’ मोटो चस्माको त्यो कुरा सुन्दा मलाई भित्रबाट हाँसो लाग्यो । थुकको घुट्को निलेर हाँसो मैले भित्रै थुनें । गाडी जाममा परेको आक्रोशमा बाटाभरी पनि यिनले घरीघरी जीवनै जीवन जोडिरहेका थिए ।

कन्डक्टरको आदेशपछि हामी सबै बसमा चढ्यौं । गाडी गुड्यो आफ्नो गन्तव्यमा सररर । ‘हामीलाई कौना मु…ले के चोड्याउँछ ! हेँ !’ पछाडी बसेर सन्नाएका दुईजना काँचा अल्लारे केटाहरूले खाना खाने ठाँउमा पनि थपेछन् मदिरा, तब त आँफूलाई हिटलरका नाति ठानिरहेका थिए । ‘ए साले मुख सम्हालेर बोल । दिदीबहिनीहरू देख्दैनस् ? तेरो बाउको गाडी हो ? झ्यालबाट उछिट्याइदिउँला विचार गर गधाहरू’ नजिकैका एकजना यात्रीले थर्काए । हेर्दामा यात्री नेपाली सेनाको रासनपानी खाने व्यक्ति जस्ता देखिन्थे । हिटलरका नातिहरू चुपचाप भए कतै तातो वाफ फाल्न सकेनन्, मेरो रीस पनि ह्वात्तै तल झ¥यो, किन कि कुचोले बढार्ने कसिंगर हावाले उडाई दिएको थियो । मेरो पाकेटमा मोबाइल फोन थर्थरायो । कि चितवन भरतपुरबाट छोरीको माया आयो, कि त सुर्खेत नेवारेबाट घरिनाको सम्झना आयो ।

‘…खाना खाएँ । …सजिलो छ ।…जाडो छैन । …जाति नै छ । …ठीक छ, हुन्छ ।…हुन्छ, हुन्छ ।’ यात्रा अवधिभर आफ्नो स्थिति र अवस्थाका बारेमा भरतपुर र नेवारेलाई प्रतिवेदन दिइरहनु पर्छ मैले । यताका डबल मास्क अडेसमा टाउको अड्याएर उत्तानो निदाएका थिए । उता जीवन जुँगा मतिर पारेर सुस्त सुस्त घुरिरहेका थिए । मधुरो उज्यालोमा यात्री सबै निदाए पनि लोकसेवाहरू भने निरन्तर आफ्नो कोणसभामा फतफताईरहेका थिए । तातो न छारो ।

चन्द्रोटाको समथर मैदानी सडक नापेर बस उकालो चढ्न जंगलभित्र छिरिरहेको थियोे । गति घट्दै–घट्दै सडक छेउमा रोकियो बस घचक्क । खलासीसमेत कार्यभार सम्हालेका कन्डक्टर कराउँदै ओर्लिए, ‘लौहै पिसाप–सिसाप फेर्नुस पाँच मिनेटभन्दा रोकिन्न गाडी ।’

झर्नै पर्नेहरू झरे । ‘जेन्सहरू अगाडी आउनुस् है, लेडिजहरू जानुस् पछाडि ।’ कन्डक्टर कराएपछि ठूलै अपराध गरे झैँ पछाडि गएका दुईजना पुरुषहरू फरक्क फर्केर हामीसँग मिसिन आए । दुईजना महिला बाटा मुनी झरे, टाढा नगैदिए हुन्थ्यो भनेको ढिकबाट ओझेल परे । काम सकेर हामीहरू चढ्यौं । बस स्टार्ट भयो तर हिँडेन, न्वारानको बल झिकी चालकले दुवै हात लगाएर दबाए पनि गियर दब्न मानेन बरु स्टार्ट बन्द भयो । मोबाइल फोनको बत्ती बालेर गियर बक्स खोलियो, इन्जिन खोतलियो, गाडीमुनि छिरेर के फुकालियो कसियो नानानौखण्ड भ्याउँदा पनि गाडी स्टार्ट नभएपछि ड्राइभरले परको एकान्त बुकुरो पसलबाट लुगा धुने डिटर्जेन्ट पाउडर किनेर ल्याए, पानीमा मिसाएर गाडीलाई पिलाए । ‘यस्तो जात्रा मैले जीवनमा काँही देखेको थिएन । लुगा धुने शर्फले गाडी चल्नेभए किन चाहिन्छ पेट्रोल र डिजल ? गाडीमा बत्ती छैन, हर्न छैन । यस्तो विजोक, थुक्क !’ उता जीवनले आफ्नो आक्रोश पोखिरहेका थिए ।

‘गाडी स्टार्ट भएन ल ल धकेलौं । एकछिन झर्नुस त सबै ।’ कन्डक्टरले भनेपछि हामी आदेश पालक भएर पछाडिबाट धकेल्यौं बलजोर लगाएर, ‘हे बल गर भाइ हो, हैंसा !’ गाडी स्टार्ट भएपछि त घोडा जस्तै पो उफ्रनु थाल्यो । त्यो दृश्यले मलाई अचम्म हँसायो किन कि त्यसरी बस उफ्रेको कहिल्यै देखेकै थिएन । हामी चढ्दा नचढ्दै फेरि स्टार्ट बन्द भयो । अवस्था कस्तो सिर्जना भयो भने, इन्जिन स्टार्ट भएर गाडी गुडेपछि ब्रेकले रोक्नै नहुने समस्या आयो । हामीलाई कन्डक्टरले फेरि अर्को तालिम दिए, ‘गाडी स्टार्ट भएपछि रोक्न मिल्नेछैन । चल्दाचल्दैको गाडीमा सबैजना दौडेर चढ्नु होला ।’ हामी झर्‍यौं धकेल्यौं त्यसै गरेर चढ्यौं । भार बोकेको पावर टिलर झैं एक नम्बरको गियरमा पूरापूर आफ्नो साइड च्यापेर उकालो चढ्यो हाम्रो अभागी यात्राको बस सुस्त सुस्त ।

माथि धानखोलाको पुलभन्दा अलि तल अर्को पुलनेर साँघुरो सडकको ओल्लो पल्लो छेउमा उता जाने र यता आउने दुईवटा ट्रकहरू रोकिएका थिए । हाम्रो ड्राइभरलाई बडो संकट पर्दै आयो । गाडी रोक्दा यदि स्टार्ट बन्द भएमा उकालोमुखी धकेल्न कतै सम्भव हुने छैन । नरोकी सरासर जाँदा ठोकिएर झन् ठूलो संकट पर्न सक्ने सम्भावना पनि झनि बलियो थियोे ।

‘नरोक्नु है नरोक्नु, छिराइदिनु छिर्छ छिर्छ’ सँगै रहेका कन्डक्टरले यसो भन्दै थिए ।

‘कहाँ छिर्छ ? कसरी छिर्छ ? फेरि अर्को लफडा आइप¥यो भने ?’ यसो भन्दाभन्दै ड्राइभरले घच्याक्क ब्रेक हानिहाले झ्याप्पै इन्जिन बन्द भयो । ठण्डाराम !

‘गाडी कन्डिसनमा हुनुपर्छ नि ।’

‘कन्डिसनमा छ छैन हेर्नू पर्दैन ?’

‘फुल कन्डिसनमा छ, सुर्खेत गएर भोलि नै फर्कने भनेको होइन ? खोइ त खोइ कन्डिसन ? कसरी थाह पाउने मैले ? बेकार !’

ड्राइभर–कन्डक्टर आपसमा सुस्त सुस्त बाझ्न थाले । उनीहरूको बाझाबाझबाट थाहा लाग्यो कि ती व्यक्ति यो बसका नियमित चालक होइन रहेछन् सट्टामा आएका रहेछन् । ड्राइभर तल उत्रेर आउने जाने गाडीका ड्राइभरसँग कुन्नि के सोध्छन् उनीहरू छैन भन्ने संकेतमा टाउको हल्लाउँदै अगाडि बढ्छन् । त्यसो गर्दागर्दै पूर्व जाने एउटा गाडीमा चढेर उनी गएपछि केही यात्रीले कन्डक्टरसँग बाँकी यात्राको पैसा फिर्ता माग्न थाले ।

‘गाडीमा तेल हालियो, तपाईंहरूको पैसा कसरी फिर्ता दिनु मैले ? सामान किन्न मिस्री लिन ड्राइभर चन्द्रौटा गएका छन् । अहिले तीन बज्यो, एक घण्टामा आउँछन् गाडी बन्छ जाउँला’ कन्डक्टरको त्यो जवाफमा असन्तुष्टहरूले किन पो चित्त बुझाउँछन् ! मेरो सिट पाट्नर, लोकसेवाहरू र पछाडिको एकजोडी दम्पती पाँच जना पैसा नपाएको बदलामा पालै पालो भट्टेसराप गर्दै अर्को गाडी चढेर गए । मलाई पनि उनीहरूले आफ्नो बिद्रोही समूहमा आह्वान गरे, म संलग्न भइन, किन कि मैले कतै तारीख थाम्नु थिएन र कुनै परीक्षा दिनु पनि थिएन । घर पुग्नु हो ढिलै भए पनि अवश्य पुगिने छ भन्ने विश्वासमा दृढ थिएँ ।

पुस महिनाको पहिलो हप्ता, जाडोले निन्द्रा खोसिदिएको थियोे । मोबाइलले टावर नटिपेका कारण सबै फोन सम्पर्क विच्छेदमा थिए । ड्राइभर फर्की आउने प्रतिक्षामा पटकपटक गाडीबाट झर्दै र चढ्दै समय नाश पारिरहेका थियौं विखलबन्दमा परेका हामीहरूले । न मिस्री आयो न सामान ल्याए, ६ बजे ड्राइभर रित्तै फर्की आए । उपाए र विकल्प नभएपछि लाचार हामीले बसलाई अगाडिबाट उँधो ठेलेर समथरमा पु¥यायौं । समथरबाट अगाडि धकेल्यौं, गाडी स्टार्ट भयो गुडिहाल्यो । हामीहरू उसरी नै उछिनापाछिन गरेर चढ्दा चढ्दै कसैले मेरो जुत्ता कुल्चदा फुक्लियो । जसोतसो खुट्टा मै अल्झाएर चढेँ । ओहो, जुत्ता यदि बाहिर खसेको भए के हुन्थ्यो ? गाडी रोक्न त पटक्कै मिल्दैन । एउटा मात्र जुत्ता लगाएर घर जानू ? कि अर्को पनि मच्चाएर खाली खुट्टै जानू ? मलाई पछिसम्म सम्झी सम्झी गहिरो हाँसो लाग्यो । हाम्रो दुखारी यात्रा राप्तीको पुल तरेर पारी भालुवाङ पुग्दा ट्राफिक प्रहरीले सिट्ठी बजाएर साइडतिर अड्याउन संकेत गरे । ड्राइभरले हात नचाउँदै रोक्न त मिल्दैन भन्ने जवाफ दिए । अटेर र अनादर गरेको भन्ठानेर बेन्चमा बसेका अरु दुई तीनजना ट्राफिक जराकजुरुक उठेर सिट्ठी फुक्दै आए तथापि बस रोकिएन निस्फिक्री चल्दै गयो । मानौ कोही–कसैको आदेशमा नरोकिने एक्सप्रेस रेल हो ।

गति र अवस्थाले गाडी बिरामी रहेछ भनेर सायद ट्राफिकले बुझे होलान् तब त आएनन् मोटरसाइकल चढेर बाटो छेक्न । केही पर पुगेपछि सडकबाट झरेर दायाँ मोडिदै वर्कशपको ग्यारेजमा रोकियो बस । मोबिल र ग्रिजको कालोले काती परेका लुगा लगाएका एकजना मिस्री हातमा औजार लिएर आए । गाडी उपचारका लागि काती पोसाकधारी दुईजना अरु पनि जुटे । ‘अब पन्ध्र मिनेटमा त जस्ताको तस्तै हुन्छ गाडी’ अन्दाजी चालीस–बयालिस वर्षका, हेर्दामा सरल र अन्तरमुखी स्वभावका देखिने, अनुहारमा ठुटे दारीजुँगा पालेका ती ड्राइभरले हामीलाई मिठो भरोसा दिँदै भने ।

ड्राइभरको अनुमतिमा हामी अगाडिको एउटा होटलमा गयौं । तीनवटा कोठा चर्पी, धारामा साबुन पानी, होटलमा तयारी खाजा सेल चना, पुडि तरकारी, आलु परौंठा, जेरि समोसा चिया कफि रोजिविनी । आँगनमा दुईवटा टेबुल र वरिपरि प्रशस्तै प्लास्टिकका कुर्सी । जाडोलाई अनिवार्य पराजित गर्न आँगनभरी झलमल्ल घाम । मानौ हामी बिहेका जन्ती हौं, तब हाम्रोलागि उचित प्रबन्ध गरिएको छ । हामी यात्रीले आपसमा चिनजान ग¥यौं, रातभर सहेको दुःख कष्ट हाँसेर चिया र कफिमा उडायौं । त्यतिखेरै मेरो मोबाइलमा फोन बज्यो ।

‘हजुर !’

‘किन हो के फोन नउठाउनी ? नौ बज्न लाग्यो, किन ढिलो कहाँ आइपुनुभो ?’ घरबाट घरिनाले सोधिन् ।

‘भालुवाङतिर आइपुग्यौं…।’

‘भालुवाङ ? ए राम ! किन के भयो र ?’

‘के भयो भयो, पछि भनौला यो रामकहाँनी…।’

विगतका दिनहरूमा यो यात्राले मलाई आठ बज्नु अगावै घर पु¥याउँथ्यो । जिन्दगी सधैँ एकैनास हुँदो रहेनछ । मिस्रीहरू गाडी सपार्नु खटि परेको पनि लगभग एक घण्टा पो पुग्न लागिसक्यो । ड्राइभर पनि आफ्नो सिटमा बसेर गियरबक्समा धुनिमुनी गर्दैथिए । अर्को पटकको आफ्नो चिया हातमा बोक्दै ड्राइभरको ढोकाछेउ पुगेर मैले सोधेँ, ‘पन्ध्र मिनेटमा त अलि भ्याइदैन कि हँ गुरुजी !’ उनले मलाई पुलुक्क हेरे मुसुक्क हाँसे, केही बोलेनन् फेरि आफ्नै धन्दामा लागे ।

‘के गर्नु त, भने जस्तो हुँदोरनछ जिन्दगीमा ।

हजुरहरूलाई रातभर जाडोमा कष्ट दिनु मेरो धर्म हुँदै होइन । मेरो पनि आफ्नै दुःख छ, सामानको लागि रातिराती चन्द्रौटाको बन्द बजारमा भौंतारिएँ । सानो जुगाड्को पनि कतै उपाय नलागे पछि मेरो कर्तव्यबोधले फेरि यतै फर्कायो…।’ उनका आँखाले मेरा आँखासँग त्यसरी बात मारे त्यो एक नजरमा ।

‘गाडीको अवस्था त्यति नाजुक होला भन्ने पहिला थाहै भएन । आधा बाटामा यसरी धोका दिन्छ भन्ने पनि कतै सोचिएन । दशा लागेपछि दस थोक हुने, गाडी घोडा यस्तै हुँदोरहेछ जिन्दगीमा…।’

क्षणभरको त्यही हेराइमा उनका आँखाले त्यसो पनि भन्न भ्याए । अन्तमा उनको मुस्कानले मसँग यसो पो भन्यो, ‘जानेर नजानेर मेरै कारणबाट हजुरहरूलाई दुःख भयो, मलाई माफ गर्नुस न है ?’

आहा, मौनताले पनि कति धेरै कुरा बोल्छन् ! कति गहिरा भाव राख्छन् ! कति धेरै अर्थ दिन्छन् ।

‘ल ल बसौं बसौं गाडी तयार भयो’ कन्डक्टरले उर्दी जारी गरे । मनमा ताजा उत्साह भर्दै बसमा चढेर त्यहाँबाट ठीक नौ बजे रमाना भयौं हामी । गन्तव्यमा पुग्नु बराबर आधा यात्रा बाँकी थियो ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २६ चैत्र २०७८, शनिबार ०५:०३