पाँच दलबीच चुनावी तालमेल हुने

सुर्खेत: आगामी स्थानीय निर्वाचनको लागि सुर्खेतमा पनि पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएको छ । बिहीवार गठबन्धनका दलहरूबीच भएको छलफलबाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए । जिल्लाका नौ वटै पालिका तथा कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय भएको उनले जनाए ।

भागबन्डाको टुँगो लाग्न बाँकी

पाँच वटै दलबाट प्रतिनिधित्व हुनेगरी १० जनाको जिल्लास्तरीय संयन्त्र बनाइने भएको छ । गठबन्धनलाई व्यवस्थित रूपमा परिचालन गर्न संयन्त्र बनाउन लागिएको जनाइएको छ । उक्त संयन्त्रलाई पालिकास्तरमा पनि विस्तार गरिनेछ ।

चुनावी तालमेल गर्ने सहमति भएपनि भागवण्डाको टुँगो भने लागेको छैन । समाजवादीका अध्यक्ष बडुवालले आगामी छलफलबाट पालिका तथा वडाहरूको भागबन्डाको समेत टुँगो लाग्ने जनाए । सुर्खेतमा नौ वटा स्थानीय तह छन् । यस्तै ९० वटा वडा रहेका छन् । पालिकाको पदाधिकारीसहित वडाअध्यक्ष र सदस्यको समेत जिल्लास्तरबाटै भागबन्डा गर्ने तयारी गरिएको छ ।

गठबन्धन दलका कार्यकर्ताहरूलाई गठबन्धनको मूल मर्मअनुसार अघि बढ्न निर्देशनसमेत दिइएको छ । बैठकपछि नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, माओवादीका जिल्ला इन्चार्ज झकबहादुर मल्ल, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदी र जनता समाजवादीका टोपबहादुर टंलामीले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मितिः   २५ चैत्र २०७८, शुक्रबार ०५:०२