दंगलले तीन दिनै कमायो १०० करोड

गत शक्रबार रिलीज भएको बलिउड फिल्म ‘दंगल’ ले तीन दिनमै भारु १०० करोडभन्दा बढी कमाएको छ। बलिउड ‘पर्फेक्सनिस्ट’ भनेर चिनिएका आमिर खानद्वारा अभिनित यो फिल्मले रिलीज भएको तीन दिनमै बक्सअफिसमा १०६ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो।

कुस्तीवाज महावीर सिहं फोगट र उनका दुई छोरी गीता र बबिता फोगटको जीवनमा आधारित फिल्ममा आमिरका अलावा फतिमा साना शैख, सान्या मल्होत्रा र साक्षी तनवारको मुख्य भूमिका रहेको छ।

दंगलले रिलीज भएको पहिलो दिन शुक्रबार २९ करोड ७८ लाख कमाएको थियो। त्यस्तै दोस्रो दिन शनिबार ३४ करोड ८२ लाख र तेस्रो दिन आइतबार ४२ करोड ३५ लाख भारु कमाएको हो।

यसरी दंगलले भारतमा मात्र तीन दिनमा १०६ करोड ९५ लाख भारु कमाइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि दंगलको राम्रो प्रदर्शन भइरहेको छ। तरण आदर्शका अनुसार अन्तर्राष्ट्रिय स्तरमा दंगलले ४५ करोड भारु कमाइसकेको छ।

यसअघि १०० करोड क्लबमा आमिर खानको गजनी, थ्री इडियट्स, धुम थ्री र पीके समावेश थिए।

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १४:५७