‘विमानस्थलको विषयमा सरकार गैरजिम्मेवार’

सुर्खेत: कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विमानस्थल समस्याको विषय संसद्मा उठाएको छ । सोमवार बसेको नवौं अधिवेशनको १७औं बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विकल्पका सन्दर्भमा सरकार गैरजिम्मेवार देखिएको बताएका हुन् । विमानस्थल विस्तारको सवालमा धारणा राख्दै उनले अनुहार फेरिएपिच्छे विषय बदलिने भए विकास पनि सम्भव नहुने बताए । प्रदेश सरकारको हवाला दिँदै हवाई सम्पर्क विच्छेद गर्नेगरी कतिपय विषय बाहिर आइरहेको भन्दै उनले विकल्पको टुँगो नलाग्दै जथाभावी निर्णय गर्नु उचित नहुने जनाए । ‘अहिले दीर्घकालीन प्रभाव पार्नेगरी कतिपय कुरा बाहिर आएका छन्,’ उनले भने, ‘यसअघि प्रदेश र संघीय सरकारकाबीचमा हतारोमा विमानस्थल विस्तारको सम्झौता गरिएको थियो, त्यो काम अघि नबढाउने भनेको सुनिएको छ ।’

नेता कँडेलले विमानस्थल विस्तारको सम्झौता भंग गर्दा कुनै प्रक्रिया अपाउनुपर्छ कि पर्दैन भन्दै सरकारलाई प्रश्न गरे । कर्णालीबासीले सहज रूपमा हवाई सेवा पाउन नसकेकोप्रति सरकार गम्भीर नदेखिएको जिकिर गरेका उनले विमानस्थल विस्तारकै विषयमा सम्भावना भएको बाटो बन्द गर्ने र अर्को विकल्प पनि भन्न नसक्नु ठूलो कमजोरी भएको बताए । ‘सरकार यसरी अगाडी बढ्नु जिम्मेवारीयुक्त काम होइन,’ उनले भने, ‘हाम्रो प्रदेश हवाई सम्बन्धले पीडित प्रदेश हो, यहाँका नागरिक चर्को भाडा तिर्न बाध्य छन् ।’

सुर्खेत–काठमाडौं हवाई सेवामा सिण्डिकेट रहेको उल्लेख गर्दै कँडेलले हवाइ माफियासँग सरकारका मान्छेको मिलेमतो भएको हुनसक्ने समेत आशंंका व्यक्त गरे । ‘अनुमति पाएकाले पनि उडान भर्न नदिने गरी वातावरण बनाइएको भन्ने चर्चा सुनिन्छ,’ कँडेलले भने, ‘हवाई माफियासँग कोही संलग्न भएका त छैनन्, यस्तो कहिलेसम्म हुने हो ? यसको जिम्मेवारी कसले लिने हो ?’ विकासलाई राजनीतिको विषयवस्तु नबनाउन समेत उनले आग्रह गरे । आफूमाथि यसै क्षेत्रको जनप्रतिनिधि भएकाले विमानस्थल विस्तार गर्न नचाहेको आरोप लगाइएको बताउँदै उनले स्थानीयलाई विकासमा अवरोध नगर्न भन्दै आएको दाबी गरे । प्रभावित क्षेत्रका बासिन्दाका लागि उचित मुआब्जा दिइनुपर्नेमा भने आफूले जोड दिएको उनको भनाइ थियो ।

सुर्खेत विमानस्थल विस्तारको प्रक्रिया अघि बढेका बेला स्थानीयको अवरोध देखिएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले केही दिन पहिले विमानस्थलको विकल्प अन्यत्रै खोजिने बताएका थिए । सरकारले अहिलेसम्म विमानस्थल विस्तारको विकल्प दिन नसकेपछि एमालेले संसद्मा यसबारे आफ्नो पार्टीको धारणा राखेको हो ।

प्रकाशित मितिः   २२ चैत्र २०७८, मंगलवार ०९:४५