स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा-हुम्ला

[हुम्ला] माओवादी र कांग्रेस बलिया, एमाले कमजोर

यतिबेला देशभर चुनावी माहोल छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको चर्चा र सम्भावित नतिजाका विषयमा चर्चा–परिचर्चा हुन थालेका छन् । वर्तमान राजनीतिक परिस्थिति र विगतको परिणामलाई आधार मानेर आगामी निर्वाचनको नतिजाको आकलन गर्ने गरिएको छ । यसै सन्दर्भमा हामीले २०७४ सालमा भएको स्थानीय निर्वाचनको मतपरिणामलाई फर्केर हेर्ने प्रयास गरेका छौं ।

कर्णाली प्रदेशका दश वटै जिल्लाको अघिल्लो निर्वाचनको मतपरिणाम र आगामी निर्वाचनको सम्भावित अवस्थाको विश्लेषण गर्ने कोसिस गर्नेछौं । यो श्रृंखलाको सुरुवात गर्दैछौं, हिमाली जिल्ला हुम्लाबाट ।

भौगोलिक हिसाबले नेपालको दोस्रो ठूलो जिल्ला हो, हुम्ला । पाँच हजार ६ सय ५५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको हुम्ला कर्णाली प्रदेशको सबैभन्दा माथिल्लो भू–भाग हो ।

हुम्लालाई सात वटा स्थानीय तहमा विभाजन गरिएको छ । सात गाउँपालिकामा ४४ वडा छन् । २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदा जिल्लामा कूल मतदाता संख्या २४ हजार पाँच सय ६२ थियो । त्यसमध्ये २० हजार आठ सय ५५ अर्थात् ८४.९१ प्रतिशत मत खसेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

जिल्लामा खास गरेर प्रमुख तीन दलबीच नै चुनावी प्रतिस्पर्धा देखिन्छ । २०७४ को नतिजाअनुसार हुम्लामा नेकपा (माओवादी केन्द्र) बलियो छ । त्यसपछि नेपाली कांग्रेस छ भने नेकपा (एमाले) कमजोर अवस्थामा छ ।

माओवादी केन्द्रले जिल्लाका सातमध्ये चार वटा पालिकामा प्रमुख, एउटामा उपप्रमुखसहित १९ वटा वडाअध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले दुई वटा पालिकाका प्रमुख, एउटाको उपप्रमुख र १० वडाअध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको देखिन्छ भने एमालेले एउटा पालिकाको प्रमुख जित्दा तीन वटामा उपप्रमुखसहित १० वडाअध्यक्ष जितेको छ ।

जिल्लामा स्वतन्त्र उम्मेदवार हुनेहरूको संख्या पनि ठूलो छ । कतिसम्म भने दुई वटा पालिकाको उपप्रमुख र चार वडाअध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जिल्लाका सात वटा पालिकामध्ये नेकपा (एमाले) ले जितेको एक मात्र स्थानीय तह हो, अदानचुली गाउँपालिका । पालिका अध्यक्षमा एमालेका दल फडेराले एक हजार एक सय ८५ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका दलु फडेरा नौ सय ८७ मतसहित दोस्रो र कांग्रेसका लोकेन्द्र भण्डारी सात सय ८४ मत ल्याएर तेस्रो भएका थिए ।

उपाध्यक्षमा पनि एमालेका सौमति रावल एक हजार दुई सय २१ मतसहित विजयी भएकी हुन् । ६ वटा वडा रहेको अदानचुलीमा तीन वटामा माओवादी केन्द्र र तीन वटामा एमाले विजयी भएको थियो ।

खार्पुनाथ गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कर्णबहादुर रावल एक हजार एक सय १० मत ल्याएर विजयी हुँदा उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गणेश रावलले त्यसको आधा अर्थात् पाँच सय ३३ मत पाएका थिए भने एमालेका प्रेमबहादुर बुढाले पाँच सय १० मत पाएका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसकै सिन्धु हमाल एक हजार १८ मतसहित विजयी भएकी थिइन् । पालिकाका पाँच वटा वडामध्ये चार वटामा कांग्रेस र एउटामा एमाले विजयी भएका थिए ।

जिल्लाको अर्को गाउँपालिका हो, चंखेली । चंखेलीमा माओवादी केन्द्र र कांग्रेसबीच प्रतिस्पर्धा थियो । माओवादीका उम्मेदवार धनलाल चौलागाईं एक हजार दुई सय २४ मतसहित अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका प्यारीलाल शाहीले भने एक हजार ५५ मत पाए ।

यो पालिकामा एमाले भने निकै कमजोर देखिएको छ । एमलोका खड्ग ऐरीले जम्मा १९ मत पाएका थिए । तर उपाध्यक्षमा भने एमालेकै विमला कुमारी शाहीले एक हजार २३ मत ल्याएर निर्वाचित भएकी हुन् । वडाअध्यक्षमा एमाले शून्य भएको छ भने पाँच वटामा माओवादी र एउटामा कांग्रेस विजयी भएका छन् ।

चार वटा वडासहित ताँजाकोट गाउँपालिकाको नेतृत्वमा पनि माओवादी केन्द्रले बाजी मारेको थियो । अध्यक्षमा बाग्दल छत्याल र उपाध्यक्षमा मञ्जु बुढा निर्वाचित भएका हुन् । पाँच वटा वडामध्ये एउटामा मात्र एमालेले जितेको थियो ।

नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका विष्णुबहादुर लामा विजयी हुँदा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमा तामाङ निर्वाचित भइन् । लामामाले आठ सय ३३ मत पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरीङ पाल्जोर लामाले सात सय ७९ र तेस्रो स्थानमा रहेका एमालेका नुरजङ तामाङले दुई सय तीन मत पाए ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार तामाले सात सय चार मत पाएकी थिइन् । पालिकाका सात वडामध्ये तीन वटामा कांग्रेस, एउटामा एमाले, एउटामा माओवादी र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सर्केगाड गाउँपालिकामा पनि माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । जसमा एक हजार नौ सय २० मतसहित माओवादीका कृष्ण रोकायाले बाजी पारे । कांग्रेसका मंगलबहादुर शाहीले एक हजार सात सय ७५ मत पाएका थिए ।

एमाले कमजोर रहेको पालिका उपाध्यक्षमा भने एमालेकै जोशी धामीले एक हजार आठ सय ५४ मत ल्याएर विजयी भएकी थिइन् । आठ वडामध्ये तीनमा माओवादी, दुईमा कांग्रेस, एकमा एमाले र एकमा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

सिमकोट गाउँपालिकामा कांग्रेसका पदमबहादुर लामा विजयी भएका थिए । उनले एक हजार तीन सय ६५ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले एक हजार दुई सय ४१ र एमालेका नरबहादुर रोकायाले आठ सय ९१ मत पाएका थिए ।

उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार बनेकी बली रावत एक हजार तीन सय ७५ मतसहित विजयी भएका थिए । आठ वडामध्ये तीनमा माओवादी, दुईमा कांग्रेस, दुई वटामा स्वतन्त्र र एउटामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यो त भयो अघिल्लो पटक भएको निर्वाचनको परिणाम । निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिदैछ । आगामी वैशाख ३० गते पुनः स्थानीय तहको निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट नयाँ जनप्रतिनिधि छानिनेछन् ।

यसपटकको निर्वाचन परिणाम अघिल्लो पटकको भन्दा फरक हुने देखिएको छ । सत्तारुढ गठबन्धनका पाँच दलबीच चुनावी तालमेल हुने भएको छ । हुम्लामा विगतदेखि नै कमजोर रहेको एमालेलाई गठबन्धनको तालमेलले थप समस्यामा पार्नसक्छ ।

जिल्लामा दुई बलिया दल माओवादी र कांग्रेस एक ठाउँमा हुनेछन् । त्यसमा एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ । त्यसैले हुम्लामा एमालेका लागि अघिल्लो निर्वाचनको नतिजा जोगाउन सकस पर्ने देखिन्छ । यद्यपि गठबन्धन दलहरूबीचको भागवण्डा पनि सजिलो छैन । भागबन्डाले उत्पन्न हुने आन्तरिक असन्तुष्टि साम्य पार्न सजिलो पक्कै हुने छैन ।

सत्तारुढ गठबन्धन भर्सेज प्रतिपक्षी दल नेकपा (एमाले) बीचको प्रतिस्पर्धामा कसले बाजी मार्छ त्यो भने निर्वाचनको मतपरिणामबाटै थाहा हुनेछ ।

प्रकाशित मितिः   २२ चैत्र २०७८, मंगलवार ११:५०