अवैध काठ बरामद

सुर्खेत: लेकवेशीबाट अवैध काठ बरामद गरिएको छ । प्रहरीले शनिवार राती लेकवेशी नगरपालिका–८, गन्नेपानीमा ७८ दशमलव नौ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो । विशेष सूचनाको आधारमा वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ ख २७७९ नं. को मिनि ट्रकमा ल्याएको उक्त काठ बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ । ट्रक चेकजाँच गर्नेक्रममा भुसको बोरामूनि लुकाएर राखिएको काठसहित ट्रक पनि नियन्त्रणमा लिइएको छ ।

काठ ओसारपसारमा संलग्न दैलेखको नारायण नगरपालिकाका यामबहादुर तारामी, बाजुराको बडिमालिका गाउँपालिका–६ का डम्मर बडुवाल र लेकवेशी नगरपालिका–८ का श्याम चपाईं पक्राउ परेका छन् । अनुसन्धानका लागि काठ जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७८, सोमबार ०५:०२