एमाले सुर्खेतको ग्राउण्ड रिपोर्टः ६ पालिका जित्ने, तीनमा चुनौती
सुर्खेतः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले सुर्खेतका नौमध्ये ६ वटा पालिका जित्ने दाबी गरेको छ । शनिवार सम्पन्न जिल्ला कमिटी बैठकमा स्थानीय तहका अध्यक्षहरुले आफ्नो क्षेत्रको पार्टीको अवस्थाबारे प्रतिवेदन पेश गरेका हुन् । स्थानीय तहका पार्टी अध्यक्षहरुको रिपोर्टअनुसार एक्ला–एक्लै चुनाव लडे एमालेले ६ वटा पालिका सहजै जित्नेछ । तीन वटा पालिकामा भने अवस्था कमजोर रहेको औल्याइएको छ ।
एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले वीरेन्द्रनगर, भेरीगंङ्गा र लेकवेशी नगरपालिका तथा सिम्ता, चौकुने र बराहताल गाउँपालिकामा एमालेले जित्ने ग्राउण्ड रिपोर्ट आएको जनाए । ‘तीन वटा पालिकामा कडा प्रतिष्पर्धा हुने देखिएको छ,’ उनले भने, ‘जिल्लामा एमालेको मुख्य प्रतिष्पर्धी दल कांग्रेस नै हो ।’ जिल्ला कमिटी बैठकले पनि चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिकामा प्रतिस्पर्धात्मक अवस्था रहने निष्कर्ष निकालेको उनले बताए ।
यस्तै, स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे वडा र पालिका कमिटीहरुले वडा अध्यक्ष र सदस्यहरुको सुझाव चैत २५ गतेसम्म पालिका कमिटीमा पठाउने तथा उक्त सुझावसहित स्थानीय कमिटीले उम्मेदवार सिफारिस गर्ने जिल्ला कमिटी बैठकले निर्णय गरेको छ । स्थानीय तहका कमिटीले पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा चैत ३० गते भित्र जिल्लामा सुझाव पेश गर्ने छन् । यसरी उम्मेदवारीको सिफारिस गर्दा सर्वसम्मतको प्रयास गर्नुपर्ने निर्णय भएको छ । त्यस्तै, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च र जिल्ला कमिटी सदस्यमा मनोनित र विभागहरुको विस्तार सचिवालयले गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मितिः १३ चैत्र २०७८, आईतवार १२:२४
साझा बिसौनी ।