बिजुक्छेले भने, ‘भारतको सेवा गर्नु प्रचण्डको मुख्य धर्म हो’

भक्तपुरस् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनयुद्धको बेला पुष्पकमल दाहाल प्रचण्डको भारत बसाइको मुल्य अहिले नेपाल र नेपाली जनताले चुकाउनुपरेको बताएका छन्।
पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको छैठौं भक्तपुर जिल्ला सम्मेलनको आइतबार दत्तात्रयमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले प्रचण्डहरुकै कारण नेपालको सार्वभौमिकता र स्वतन्त्रता खतरामा परेको बताएका हुन्।
देश एक–एक पाइला गरेर भारतको चंगुलमा पर्दै उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्म नै भारतको सेवा गर्ने रहेको बताए।
‘प्रधानमन्त्री प्रचण्ड हेर्दा नेपालका नेता हुन्’, अध्यक्ष बिजुक्छेले भने, ‘तर उनको मुख्य धर्म भारतको सेवा गर्नु हो।’ उनले संयुक्त राष्ट्रसंघीय मिसनमा जाने नेपाली सेनालाई आफ्नो सेना मातहत परिचालन गर्ने भारतको प्रस्ताव नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको बताए।
नेमकिपा संसदीय दलका नेतासमेत रहेका अध्यक्ष बिजुक्छेले ठूला तीन दलले भारतको उक्त प्रस्तावको विरोध नगरेकोमा आपत्तिसमेत जनाए। उनले भारतको उक्त प्रस्तावको विरोध नगरेर ठूला दलले भारतीय विस्तारवादको दलाली गरेको हो कि भनी प्रश्नसमेत गरे।
‘नेपाली सेनालाई भारतीय सेना मातहत राख्ने प्रस्तावको ठूला दलहरुले विरोध गरेका छैनन्’, अध्यक्ष बिजुक्छेले भने, ‘कतै माओवादीजस्तै कांग्रेस र एमाले पनि भारतीय विस्तारवादका दलाल पार्टी त होइनन् रु’
बिजुक्छेले नेपाली सेनामा हस्तक्षेपपछि धर्म, भाषा र जातीयताको नारा दिएर भारतीय विस्तारवादले नेपाल कब्जाको नीति अघि सार्ने जिकिर गरे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू धर्मको आडमा नेपाललाई भारतको अधिनमा राख्न खोजिरहेको उनको आरोप थियो ।

प्रकाशित मितिः   १० पुष २०७३, आईतवार १८:५०