क्षयरोगको घट्दो तथ्याङ्क
सुर्खेत: कर्णाली प्रदेशमा क्षयरोग अर्थात टिबीका बिरामी घट्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशभर क्षयरोगीको संख्या घट्दोक्रममा देखिएको हो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७४/०७५ मा क्षयरोगका बिरामीको संख्या एक हजार ६ सय ३२ थियो । चालु आर्थिक वर्ष २०७८/०८९ को यो अवधिमा बिरामीको संख्या घटेर सात सय ३९ रहेको छ । जिल्लागत तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षयरोगका बिरामी सुर्खेतमा छन् । तीन वर्षमा सुर्खेतमा एक हजार एक सय ३३ क्षयरोगी भेटिएका हुन् ।
यस्तै, क्षयरोगका सबैभन्दा कम बिरामी हुम्लामा रहेका छन् । त्यहाँ आर्थिक वर्ष २०७६/०७७ मा २२ जना, २०७७/०७८ मा २४ जना बिरामी रहेकोमा चालु आर्थिक वर्षको ६ महिनासम्म चार जनामा क्षयरोग देखिएको छ । डोल्पामा पनि क्षयरोगीको संख्या कम रहेको निर्देशनालयले जनाएको छ । डोल्पामा गएका दुई आर्थिक वर्षमा ४३ जनामा क्षयरोग पुष्टि भएको छ भने चालु आर्थिक वर्षको ६ महिनामा २९ जनामा रोग देखिएको छ । यो वर्ष त्यहाँ क्षयरोगीको संख्या केही बढेको निर्देशनालयले जनाएको छ । हुम्ला र डोल्पामा परीक्षण नै न्यून भएकाले पनि क्षयरोगीको संख्या कम देखिने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अहिले कमैले मात्र क्षयरोगको जाँच गर्ने भएका कारण यो संख्या बढ्न सक्ने आकलन निर्देशनालयको छ । यी दुई जिल्लामा अझै पनि क्षयरोग परीक्षण केन्द्र (जीन विशेषज्ञ केन्द्र) स्थापना भएको छैन ।
निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार जुम्लामा आर्थिक वर्ष २०७६/०७७ मा ८८ जना, २०७७/०७८ मा ७९ जना र चालु आर्थिक वर्षको ६ महिनामा ४३ जनामा क्षयरोग भेटिएको छ । त्यस्तै, कालीकोटमा आर्थिक वर्ष २०७६/०७७ मा ७२, २०७७/०७८ मा ६२ र चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना क्षयरोगका सक्रिय बिरामी छन् । दैलेखमा आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ४२, २०७७/०७८ मा उक्त संख्या घटेर एक सय २८ तथा चालु आर्थिक वर्षको ६ महिनामा ७९ जनामा क्षयरोग देखिएको छ ।
रूकुम–पश्चिम र सल्यानमा पनि क्षयरोगीको संख्या घट्दोक्रममा छ । केही वर्षयता क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दाबी छ । सूचना अधिकारी केसीले गएको आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगको उपचारमा ९४ प्रतिशत सफलता मिलेको बताए । हाल कर्णालीमा क्षयरोग निवारणका लागि तीन सय आठ वटा क्षयरोग हेरचाह केन्द्र, दुई वटा एमडीआर उपचार केन्द्र तथा आठ वटा जीन विशेषज्ञ केन्द्र रहेका छन् ।
प्रकाशित मितिः १० चैत्र २०७८, बिहीबार ०५:०३
साझा बिसौनी ।