कर्णालीका २९ पालिका जित्ने एमालेको दाबी

सुर्खेत: नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशका २९ वटा पालिका जित्ने दाबी गरेको छ । बुधवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष विनोदकुमार शाहले यस्तो दाबी पेस गरेका हुन् ।

अहिलेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल नभएको अवस्थामा प्रदेशका ७९ मध्ये २९ स्थानीय तह जित्ने शाहको भनाइ थियो । उनले सत्ता गठबन्धन एकातिर र एमाले एक्लै अर्कोतिर हुँदा १५ स्थानीय तहमात्र जित्न सकिने बताएका छन् ।

एमाले २०७४ को स्थानीय चुनावमा कर्णालीका २६ स्थानीय तहको प्रमुख जितेको थियो । यसपटक गठबन्धन नहुँदा तीन वटा स्थानीय तह थप्न सकिने एमालेको आँकलन् छ । शाहले हुम्लामा तीन, डोल्पामा चार, मुगुमा दुई, जुम्लामा एक, कालीकोटमा तीन र दैलेखमा पाँच तथा सुर्खेतमा ६ स्थानीय तह जित्न सकिने रिपोर्टिङ गरेका छन् । उनले रूकुम–पश्चिम र सल्यानको रिपोर्ट नआएको बताए ।

गठबन्धन नभएको खण्डमा कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबीच चुनावी प्रतिस्पर्धा हुनेछ भने एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले पहिलो पटक आफूलाई परीक्षण गर्दैछ ।

प्रकाशित मितिः   १० चैत्र २०७८, बिहीबार ०५:०१