संघको निर्वाचन निर्धारित मितिमै

सुर्खेत: निजी क्षेत्रको छाता संस्था सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन यही चैत २६ गते हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि संघले यसअघि तोकेकै मितिमा निर्वाचन गर्न लागेको हो । व्यवसायीहरूबीच सदस्यता नवीकरणको विषयलाई लिएर भइरहेको विवादले निर्वाचनको मिति प्रभावित हुने ठानिएको थियो । मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर संघले सोही मितिमै निर्वाचन हुने जनाएको हो ।

आगामी नेतृत्व छनोटका लागि चैत २६ गते निर्वाचन गर्ने निश्चित भएको संघका अध्यक्ष धनबहादुर रावतले बताए । ‘संघमा लागेको ताला नखोलिएपनि निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ’ उनले भने । संघको नेतृत्वप्रति असन्तुुष्ट व्यवसायीले केही समययता तालाबन्दी गरिरहेका छन् । छुटेका व्यवसायीहरूको सदस्यता नवीकरण गरेर निर्वाचनको नयाँ मिति तोक्नुपर्ने उनीहरूको माग छ । विशेष अधिवेशन बोलाएर भएपनि छुटेका सदस्यलाई समेटेर जानुपर्ने असन्तुष्ट व्यवसायीले बताएका छन् । विधानविपरीत नेतृत्व अघि बढ्न नसक्ने अडानमा संघका पदाधिकारी छन् । लगातार दुई वर्षसम्म नवीकरण नभएका फर्म नवीकरण नहुने व्यवस्था संघको विधानमा रहेको बताइएको छ । हाल सुर्खेत उद्योग वाणिज्य संघमा दुई हजार ६४ जनाको सदस्यता नवीकरण भएको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७८, बुधबार ०५:०१