राजधानीमै छैनन् आधारभूत पूर्वाधार

नगरको गुरुयोजना अलपत्र, नगर बस सञ्चालन योजनामै सीमित, खानेपानीको चरम संकट, पर्यटन पूर्वाधार निर्माणमा ढिलासुस्ती

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी सहर हो । तर, यहाँ अझै विकासका न्यूनतम् पूर्वाधारसमेत तयार भइसकेका छैनन् । वीरेन्द्रनगरका अधिकांश सडक अहिले पनि जीर्ण अवस्थामा छन् । उपत्यकामा खानेपानीको चरम अभाव छ । राजधानीबासीले नै यातायातको भरपर्दो सेवा पाएका छैनन् । सार्वजनिक यातायातको व्यवस्थापन छैन भने सवारी आवागमनमा उस्तै असहजता छ । प्रदेश राजधानीको विकासमा तीनै तहका सरकारले नीतिगत रूपमा प्राथमिकता दिए पनि त्यसको कार्यान्वयनमा भने जोड दिएको पाइँदैन । राजधानीको पालिका वीरेन्द्रनगरले पूर्वाधार अभाव झेलिरहेको हो ।

संघीय, प्रदेश र स्थानीय तहले वीरेन्द्रनगरको विकासका लागि अघि बढाइएका धेरैजसो योजना अलपत्र छन् । नगरको व्यवस्थित र दीर्घकालीन विकासका लागि निर्माण थालिएको समग्र गुरुयोजनाले नै पूर्णता पाउन सकेको छैन । गुरुयोजना नै नबन्दा पूर्वाधार विकासमा उस्तै अलमल देखिन्छ । सहरउन्मुख बजार क्षेत्र दिन प्रतिदिन अव्यवस्थित बन्दै गएको छ । खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विकास भइरहँदा नगरपालिकाले त्यसको नियन्त्रण गर्न नसकेको हो । केही वर्ष अघिसम्म वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भू–भाग कृषिजन्य उत्पादनको पकेट क्षेत्र मानिन्थ्यो । उक्त ठाउँ अहिले घनाबस्तीका रूपमा रूपान्तरण भइसकेको छ । नगरको गुरुयोजना निर्माण र कार्यान्वयनमा ढिलाइ हुँदा व्यवस्थित विकासमा समस्या देखिएको हो ।

नगरको गुरुयोजना अलपत्र, नगर बस सञ्चालन योजनामै सीमित, खानेपानीको चरम संकट, पर्यटन पूर्वाधार निर्माणमा ढिलासुस्ती

विकासका आधारभूत संरचनाको अभावमा वीरेन्द्रनगर बढ्दो सहरीकरणको मारमा पर्दै आएको स्थानीयहरू बताउँछन् । ‘सामान्यतया सुविधासम्पन्न ठाउँलाई सहर भन्ने गरिन्छ । यहाँ त नगरकै लागि आधारभूत पूर्वाधार नै निर्माण गरिएका छैनन्,’ वीरेन्द्रनगर–७ का अर्जुनकुमार आचार्य भन्छन्, ‘स्थानीय सरकारले पूर्वाधार विकासका थुप्रै योजना ल्यायो, त्यसअनुसार कार्यान्वयनमा जोड दिन सकेन ।’ उनले विकास क्रमिक रूपमा हुने र कहिल्यै पूर्ण नहुने प्रक्रिया भएपनि आधारभूत पूर्वाधार तयार गर्ने सवालमै स्थानीय सरकार अलमलमा परिरहेको जनाए । राजधानी सहर भएकाले यसको विकासमा प्रदेश सरकारले पनि उत्तिकै लगानी गर्नुपर्ने आचार्यले बताए ।

वीरेन्द्रनगरमा विकासका पूर्वाधार निर्माणमा थुप्रै प्रयास गरिएपनि नागरिकका सबै अपेक्षाको सम्बोधन गर्न नसकिएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् । धेरै क्षेत्रको विकास र सुधार भएको छ,’ ढकाल भन्छिन्, ‘त्यति हुँदा हुँदै गर्नैपर्ने कतिपय काम हुन नसकेको पक्कै हो ।’ जनअपेक्षा बढी र स्रोतको सीमाका कारण पनि केही योजनामा सफल हुन नसकिएको उनी बताउँछिन् । ढकालकाअनुसार नगर बस सञ्चालन र खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने योजनालाई उच्च प्राथमिकतामा राख्दाराख्दै पनि सफल हुन नसकिएको हो । त्यस्तै, नगरको नयाँ गुरुयोजना निर्माणको कामलाई पनि पूर्णता दिन नसकिएको ढकालले बताइन् । ‘यी चाहेर पनि गर्न नसकिएका काम हुन्,’ उनले भनिन्, ‘यसका लागि अहिले पनि प्रयासहरू जारी नै छन् ।’ वीरेन्द्रनगरको खानेपानी समस्याको हल गर्न अघि बढाइएको भेरी पम्पिङ आयोजनाको प्रक्रिया अघि बढेकाले छिटै निर्माणको चरणमा जाने उनको भनाइ छ ।

भेरी पम्पिङ आयोजना निर्माणका लागि विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार निर्माणपूर्वका आवश्यक कामका लागि संघीय, प्रदेश र स्थानीय सरकारले केही दिन पहिले मात्रै त्रिपक्षीय समझदारी गरेका छन् । उपत्यकाको खानेपानी आयोजना निर्माणमा विश्व बैंकले करिब साढे ६ अर्ब बजेट लगानी गर्न लागेको छ । विश्व बैंकले नगर क्षेत्र भित्रका खानेपानी आयोजनाको सुधार–विस्तार अन्तर्गत पहिलो चरणमा वीरेन्द्रनगर उपत्यकाको खानेपानी आयोजना निर्माण गर्ने जनाएको छ । उपत्यकामा विगत केही वर्षयता खानेपानीको संकट चुलिँदो छ । हाल सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले झन्डै २० हजार घरधुरीलाई धारामार्फत खानेपानी सेवा दिइरहेको छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको तथ्याङ्क संस्थाको छ ।

समग्र नगरपालिकाको गुरुयोजना निर्माण तथा कार्यान्वयका सन्दर्भमा प्रदेश र संघीय सरकारले आवश्यक समन्वय नगरिदिँदा समस्या भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नयाँ गुरुयोजनाअनुसार कतै १० र कही आठ मिटर बाटो कायम गरिएकोमा गुरुयोजनाको रूपमा यसलाई अन्तिम रूपम दिन नसकिएको बताइएको छ । कित्ताकाट भइसकेको अवस्थामा पनि नगरपालिकाले जग्गाको मुआब्जा दिन नसक्दा समस्या आएको हो । यसमा माथिल्लो तहका सरकारबाट समन्वय नहुँदा काम रोकिएको उपप्रमुख ढकालले जनाइन् । पछि थपिएका वडासहित समेटेर नगरपालिकाले नयाँ गुरुयोजना निर्माण थालेको थियो ।

वीरेन्द्रनगरमा नगर बस सञ्चालनको योजना अघि सारेको साढे चार वर्ष भइसकेको छ । नगरकार्यपालिकाबाट नीतिगत रूपमै पास गरेर अगाडि बढाउने भनिएको यो योजना अझै सुरु हुन सकेको छैन । जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दासमेत नगर बस योजना कार्यान्वनको चरणमा नगएको हो । यातायात सेवा भरपर्दो नहुँदा वीरेन्द्रनगरका स्थानीय मात्र नभइ राजधानी आउने जो–कोहीलाई नगर क्षेत्रमा आउजाउमा कठिनाइ छ । आम नागरिकले चाहेको नगर बस सञ्चालनको योजनालाई अघि बढाउन नसकिएको नगरपालिकाले जनाएको छ । ‘आवश्यकता अथाह छन्, हामीसँग भएका स्रोतको अधिकतम् सदुपयोग गरिएकै छ,’ उपप्रमुख ढकाल भन्छिन्, ‘स्वास्थ्य र शिक्षाका पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । नगर क्षेत्रमा यातायाताको भरपर्दो सेवाका लागि निरन्तर प्रयासमा छौं । त्यसले पनि ढिलोचाडो सार्थकता पाउनेछ ।’

वीरेन्द्रनगरमा सडक, खानेपानी र यातायातको असुविधासँगै फोहोर व्यवस्थापनमा पनि उत्तिकै समस्या छ । बजार क्षेत्रको फोहोर समयमै नउठाउँदा दुर्गन्ध फैलने गरेको हो । जीर्ण र साँघुरा सडकले ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिन्छ भने सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ । यहाँका पर्यटकीय क्षेत्रको संरक्षण तथा विकासमा पनि बेवास्ता हुँदै आएको सरोकारवालाको गुनासो छ । उपत्यका र आसपासमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पूर्वाधारको निर्माण थालेको लामो समय भइसक्दा पनि अलपत्र छन् । बुलबुले, काँक्रेबिहार र चौहान पार्कजस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा ढिलासुस्ती हुँदै आएको हो ।

प्रकाशित मितिः   ७ चैत्र २०७८, सोमबार १०:५९