माओवादी केन्द्रका नेता बिष्ट एमालेमा प्रवेश

सुर्खेत: नेकपा (माओवादी केन्द्र) का नेता ठम्मरबहादुर बिष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् । कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बिष्टले केही दिन पहिले उक्त पदबाट राजीनामा दिएका थिए । नेकपा एमालेले आइतवार वीरेन्द्रनगरस्थित सुर्खेत सभाहलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बिष्टले पार्टी प्रवेश गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कर्णाली प्रदेश इञ्चार्ज यामलाल कंडेलले उनलाई स्वागत गरेका हुन् । बिष्टसहित माओवादी केन्द्रका केही जिल्ला तहका नेता र अन्य पार्टीबाट पनि एमालेमा प्रवेश गरेका छन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोख्रेलले एमाले सरकार बाहिर हुँदा पनि जनाताको मनमनमा रहेको बताए । ‘एमाले सरकारबाट मात्र गएको हो,’ उनले भने, ‘जनताको मनबाट गएको छैन । हामी जनतासँगै छौं, उहाँहरूको मनमनमा एमाले छ ।’ नेता पोख्रेलले आगामी निर्वाचनमा एमाले थप शक्तिशाली भएर आउने दाबी गरे । एमालेको पक्षमा जनमत बढ्दै गएको बताउँदै उनले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प अरु दलहरू हुनै नसक्ने ठोकुवा गरे । २०७४ सालको निर्वाचनभन्दा एमालेको जनमत अझै बलियो भएको उनको भनाइ थियो । नेता पोख्रेलले अहिलेको गठबन्धन सरकारले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाएको ससमेहत आरोप लगाए ।

यस्तै, एमाले कर्णाली प्रदेश इञ्जार्ज यामलाल कंडेलले स्थानीय निर्वाचन नजिकिएका बेला एमालेको जित सुनिश्चित बन्दै गएको दाबी गरे । उनले एमालेप्रति बढ्दो आकर्षले त्यसको पुष्टि गरिसकेको जनाए । नवप्रवेशीहरूलाई पार्टीले उचित भूमिका र जिम्मेवारी दिइने भन्दै उनले एमालेमा आइसकेपछि कोही बेवारिसे हुनु नपर्ने बताए ।

प्रकाशित मितिः   ७ चैत्र २०७८, सोमबार १०:५७